मेलापात र पँधेरोतिर उबेला महिलाहरू भन्थे– चुनावमा भोट दिनुपर्छ, मतदान गर्नु दान दिएसरह धर्मकर्मको कुरा हो । उबेला ‘कसलाई मतदान दिने’ भन्ने कुरा घरको मूली श्रीमान्ले तय गर्नुहुन्थ्यो । उहाँले ‘जसलाइ दिनु’ भन्नुहुन्थ्यो, उसैलाइ हामी भोट दिन्थ्यौं ।
चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन
What you should know
काठमाडौँ — – दुर्गादेवी बोगटी (९३ वर्ष) खलंगा, डडेलधुरा
त्यो बेलाको जमानै अर्कै थियो । ११ वर्षकै उमेरमा मेरो बिहे भएको हो । हाम्रो पुर्ख्यौली थातथलो डडेलधुरा सदरमुकाम खलंगा हो । माइतीघर खलंगा नजिकै डोटी सोल्परी गाउँमा हो । मेरो जन्म १९८९ मा भएको हो– महिना, गते र बार सम्झना छैन ।
पहिलो पटक २०१५ मा भएको चुनावको मलाई राम्रै सम्झना छ । हाम्रो परिवारको त्यतिबेला डडेलधुरा बजारमा होटल व्यवसाय थियो । घरमा आउने पाहुना र होटलमा ग्राहकहरूको भीडभाड हुन्थ्यो । मैले घरपरिवारका ठूलाबडाले भनेअनुसारै भोट त दिएकी हुँ । तर पार्टी कुन हो ? उम्मेदवार को थिए ? जित–हार कसको भयो ? त्यो केही पनि सम्झना छैन । भोट माग्न आउँथे, हामी महिलाहरूभन्दा पनि घरका पुरुषसँग कुराकानी गरेर फर्कन्थे । चुनावका बखत केही महिना निकै चहलपहल थियो डडेलधुरामा ।
पहिलो चुनाव भएको त्यतिबेला हामी पढेलेखेको नभएका कारण चुनाव के हो भनेर बुझेकै थिएनौं । मेलापात र पँधेरोतिर महिलाहरू चुनावमा भोट दिनुपर्छ, भोट दिनुलाई मतदान भन्छन्, मतदान गर्नु दान दिएसरह धर्मकर्मको कुरा पनि हो भनेर चर्चा हुने गर्थ्यो । त्यतिबेला अहिलेजस्तो स्कुल थिएनन् । पुरुषहरू टाढा–टाढा पुगेर पढ्ने भए पनि हामी महिला भने प्रायः सबै अनपढ र निरक्षर थियौं । चुनावमा पनि मतपत्र लिँदा ल्याप्चे लगाएको सम्झना छ ।
मेरा श्रीमान् वीरबहादुर बोगटी र मेरो उमेरमा १० वर्ष जतिको फरक थियो । उहाँ २०५८ मा बित्नुभयो । हाम्रो ठूलो परिवार थियो । श्रीमान्का ४ भाइ र २ बहिनी सबै बितिसके । मेरो माइतीमा २ भाइ र ४ बहिनी हौं । २ बहिनी र १ भाइ जीवितै छौं । मेरा ३ छोरा र २ छोरी हुन् । जेठो छोरा बितिसक्यो । माइलो र अर्को १ छोरा घरमै छन् । उनीहरूका छोराछोरी, ५ पनाति र २ पनातिनी हाम्रो परिवारका लालाबालासमेत काजपर्वमा भेला हुँदा घर–आँगन भरिन्छ । सबै आ–आफ्नो कामधन्दा र पढाइमा लागेको देख्दा मन प्रसन्न हुन्छ ।
त्यो २०१५ को पहिलो चुनावपछि लामो समय चुनाव नै भएन । केही वर्षपछि हामी पनि पहाडबाट तराईको कञ्चनपुर झर्यौं । २०२०/२२ तिरको कुरा होला, हिउँदमा तराईतिर आउने गर्मी सुरु हुँदा फागुनमा उतै पहाड फर्कने चलन थियो । दसैं–तिहारसँगै मेलापर्व सकिएपछि तराई पुग्ने गरिन्थ्यो । उतिबेला पहाड–तराई पैदल आउजाउ हुन्थ्यो । बिस्तारै यतै कञ्चनपुरमै बसोबास भयो ।
मेरा श्रीमान् र उहाँका दाजुभाइ, आफन्त सबै यतै बाह्रै महिना बस्न थाले । त्यतिबेला जग्गाजमिन सस्तो थियो, किन्यौं र केही ऐलानी जग्गा पनि विस्तार गरी खेतीकिसानी गरेर बसोबास सुरु भयो । माइलो छोरा ३/४ वर्षको हुँदा हामी तराईतिर झरेका हौं । त्यतिबेला तराईमा जताततै जंगल थियो, सडक थिएन, बिजुली बत्ती थिएन । जता जानुपरे पनि हिँडेरै र बयलगाडामा जानुपर्थ्यो । तर, पहाडको भन्दा सबै कुरा सस्तो थियो ।
हामी बसोबास गर्ने ठाउँ कञ्चनपुर सदरमुकाम नजिक हालको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाममा पर्छ । डडेलधुराबाट कञ्चनपुरमा बसाइँ सरेपछि मैले सबैजसो निर्वाचनमा सधैं मतदान गरेकी छु । त्यतिबेला धेरै वर्षसम्म पञ्चायतको चुनाव हुने गरेको हो । अहिलको जस्तो ठूलो चनाव हुँदैनथ्यो । वडा सदस्य, अध्यक्ष, उपप्रधानपञ्च र प्रधानपञ्चको चुनाव हुन्थ्यो । दिउँसो भीडभाड हुन्छ भनेर बिहानै तयार भएर मतदान केन्द्र पुगिन्थ्यो । त्यतिबेला पैदल हिँडेर गाउँ नजिकैको मतदान केन्द्रमा पुगेर लाइनमा खडा हुने अनि एक महिला, एक पुरुष पालैपालो भोट हाल्न जाने व्यवस्था गरिएको हुन्थ्यो ।
त्यतिबेला कसलाई मतदान दिने भन्ने विषयमा घरको मूली श्रीमान्ले ‘जसलाई दिनु’ भन्नुहुन्थ्यो, उसैलाई हामी भोट दिन्थ्यौं । हाम्रै बोगटी परिवारका नातेदारहरू पनि वडा र प्रधानपञ्चका उम्मेदवार भए । मतगणना भएपछि चुनाव जितेर आउँदा घरमा निकै रमाइलो हुन्थ्यो । हामी महिला अनपढ भए पनि हाम्रा देवर, जेठाजुहरू राजनीतिमा निकै सचेत हुनुहुन्थ्यो ।
पञ्चायतपछिका चुनावहरूमा पहिलेको भन्दा मतदाताहरू बढ्न थालेका हुन् । घरभन्दा नजिकै गाउँकै स्कुलमा भोट हाल्न जाने व्यवस्था थियो । हालका वर्षमा महिला र पुरुषका लाइन बेग्लाबेग्लै व्यवस्थित हुने गरेको छ । मतदाताको परिचयपत्र पनि छोरा–नातिले बनाइदिएका थिए । छोरा–नातिहरूसँग मोटरसाइकल चढेर पनि भोट हाल्न जाने गरेको थिएँ । बितेका चुनावहरू सबै सम्झँदा रमाइलो लाग्छ । चुनाव हुन थाल्यो भने सुनसान हुने गाउँघरमा निकै चहलपहल हुन्छ । पहिले जस्तो कहाँ छ र ? भोट माग्न हिँडेर जानु पर्दैन । गाडी, मोटरसाइकलमा पार्टीका झन्डा फहराउँदै हुइँकिएर आइपुग्छन् अहिले त । माइकमा गीत बजाउँदै बिहानैदेखि अबेर साँझसम्म ओहोरदोहोर गरिरहन्छन् ।
उहिले चुनावमा महिलाहरू धेरै कम उम्मेदवार हुने गरेका थिए । हाल वर्षैपिच्छे महिलाहरू पनि बढेका छन् । कहाँ उहिलेको जस्तो हुनु ! बहुदल आएपछि त चुनाव नै फरक भयो । भोट माग्न आउने पुरुषहरू त निकै चलाख थिए नै, अहिले महिलाहरूले पनि राजनीतिबारे निकै बुझेका छन् । धेरै राम्रा कुरा गर्छन् । सबैले विकासकै कुरा गर्छन् । विकास पनि भएको छ । जता हेर्यो– बाटोघाटो, स्कुल स्वास्थ्य संस्था बनेका छन् । अझ बढी त हात–हातमा मोबाइल छ । म आफू चलाउन नजान्ने भए पनि नातिनातिना फोनमा कुरा गराइदिन्छन् । क्या गजब जमाना आएजस्तो लाग्छ पुराना दिन सम्झँदा ।
यति लामो उमेर बाँचेर धेरै कुरा देख्न पाएकामा सन्तोष लाग्छ । चुनावमा भोट हाल्न मन त लाग्छ । अब राम्रोसँग आँखा देख्न सक्तिनँ । अघिल्लो चुनावमा पनि छोराले छाप लगाइदिएको हो । हिँड्न सक्तिनँ, गोडा दुख्छन् । हेरौं यसपाला भोट हाल्न जान सकिँदैन कि जस्तो लागेको छ । तर, भोट दिनु भनेको दान दिनुसरह भएकाले सकभर अन्तिम पटक भए पनि मतदानस्थल पुग्नुपर्ला भन्ने लाग्छ ।
(कञ्चनपुर महेन्द्रनगरमा चित्रांग थापासँग कुराकानीमा आधारित)
