उहिले मत खसाल्न अहिलेको जस्तो बाकस र मतपत्र थिएन, न मत माग्ने शैली नै आजको जस्तो थियो
चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन
What you should know
काठमाडौँ — टीकाबहादुर जीसी (९६ वर्ष) लिवाङ, रोल्पा
म रोल्पा नगरपालिका–४ लिवाङमा बस्छु । मेरो जन्म विक्रम संवत् १९८६ मा भएको हो । मैले पहिलो पटक २०१५ सालमा मतदान गरेको थिएँ । त्यसबेला मेरो उमेर २९ वर्षको थियो । २००७ सालमा प्रजातन्त्र प्राप्त भएपछि त्यो चुनाव पहिलो थियो । त्यसबेला मतदाता नामावलीको व्यवस्था थिएन । सबैलाई नजिकैको खुला चौरमा बोलाएर मत हाल्न लगाइन्थ्यो । एकातिर पुरुषहरूको र अर्कोतिर महिलाहरूको लाइन लाइन्थ्यो । अनि कागजको टुक्रा दिइएको थियो र बाकस जस्तो बनाइएको भाँडोमा खसाल्न लगाइएको याद छ । त्यो चुनावमा कांग्रेसले जितेको सूचना सुनाइएको थियो ।
हालको रोल्पा त्यसबेला आधा प्यूठान र आधा सल्यान जिल्लामा पर्थ्यो । २०१८ सालमा प्यूठान, दाङ, सल्यान र रुकुमका केही भूगोल मिसाएर रोल्पा जिल्ला बनाइएको हो । २०१५ सालको निर्वाचनमा रोल्पा–प्यूठान क्षेत्रलाई दिइएको निर्वाचन क्षेत्र नम्बर ८२ र ८३ थियो । त्यसबेला जिल्लाभन्दा पनि क्षेत्र नम्बरको प्रयोग भएको थियो । त्यसैले २०१५ सालको निर्वाचन हुँदा रोल्पा र प्यूठान एउटै प्रशासनिक क्षेत्रअन्तर्गत थिए (क्षेत्र नं. ८२ र ८३) । पछि वि.सं. २०१८ सालमा रोल्पा छुट्टै जिल्लाका रूपमा स्थापना भयो । २०१५ सालको चुनावमा ८२ नम्बरबाट अनिरुद्र शर्मा र ८३ बाट षडानन्द सुवेदीले जितेका थिए । दुवै सांसद कांग्रेस पार्टीका थिए ।
२०१५ सालमा एकातिर कांग्रेस र अर्कोतिर कम्युनिस्ट पार्टीले चुनावमा भाग लिएका थिए । साथै राणाको सहयोगमा प्रजा परिषद् भन्ने पार्टीको गतिविधि पनि थियो । त्यसबेला मत माग्ने तरिका भने अहिलेको जस्तो सहज र तामझामपूर्ण थिएन । उम्मेदवार नदेखेरै मत हाल्ने काम हुन्थ्यो । मत खसाल्नुअघि भने कसको क्षमता कति होला भनेर दाँज्ने र निर्क्योल गर्ने चलन थियो । काम गर्न सक्नेलाई सांसद बनाउने सानोतिनो चर्चा सुनिन्थ्यो ।
मलाई अहिले लाग्छ, एउटा मतदाता वा उसको मतको महत्त्व निकै हुनेरहेछ । मत पाएर सांसद हुनेहरूलाई पनि त्यसको महत्त्व नै हुन्छ । त्यसैले हरेकले जनताको प्रतिनिधि भन्ने दाबी गरेको सुन्न सकिन्छ । तर, उहिले र अहिले पनि मत पाएर जितेका नेताहरूले मतदाताले चाहे जस्तो वा जनचाहनाअनुसार काम गरेको जस्तो लाग्दैन । योबीचमा केहीले राम्रो काम गरेका पनि छन् । तर, अधिकांशले आफ्नै लागि मात्रै काम गरेका छन् । पद र पैसामै ध्यानकेन्द्रित गरेका छन् ।
मतदान गर्नुको कारण उहिले र अहिले फरक छ । उतिबेला राजनीतिक व्यवस्थाका लागि निर्वाचन हुन्थ्यो भने अहिले विकास निर्माण र शान्तिका लागि । पञ्चायत व्यवस्थादेखि हालसम्मको अवस्थालाई नियाल्दा निकै उतारचढाव बुझ्न सकिन्छ । अहिलेको कुरा गर्दा शान्ति र विकास मात्रै नभई राष्ट्र र राष्ट्रियताको रक्षाका लागि निर्वाचनको महत्त्व छुट्टै छ ।
२०१५ देखि २०८२ सम्म आइपुग्दा म आफैंले कम्तीमा २० पटकभन्दा बढी मतदान गरेको छु । पञ्चायतमा समेत र बहुदलीय व्यवस्थापछिका निर्वाचनका क्रममा खुबै मत दिइयो । २०१५ सालमा प्रजातान्त्रिक व्यवस्थाका लागि मतदान गरियो भने २०४८ मा पहिलो पटक बहुदलीय व्यवस्थामा मतदान गरियो । अझ २०६४ मा पहिलो पटक संविधानसभाको निर्वाचनमा मतदान गर्दा अलि बेग्लै अनुभव भयो । त्यसपछिका मतदानका क्रममा कहिलेकाहीं मत खसाल्दा आवश्यकताअनुसार फरक विचारमा पनि मत खसालियो । धेरैमा भने एउटै पार्टीमा मत हालेको छु ।
हरेक पटक मत खसाल्दा उत्साह हुन्छ । कस्तो र कुन नेतालाई जिताउने भन्ने उत्साह हुन्छ । माहोल नै त्यस्तै बनेको हुन्छ । यसरी मतदान गर्दा आफ्नो अधिकारको प्राथमिकता हुन्छ । आफूले मत दिएको सांसदले यस्तो काम गरे, मन्त्री भए भन्ने सुन्दा आनन्द लाग्छ । तर, पछिल्लो पटक मतको असर परेको छैन । किनभने आफूले मत दिएको नेताको जित भएको छैन । तैपनि मतदान गर्न छाड्न भएन ।
मैले आफ्नै जीवनकालमा निर्वाचन प्रक्रिया, मत माग्ने तरिका र नेतृत्व छान्ने शैलीमा भिन्नता देखें । जस्तो कि उहिले मत खसाल्न अहिलेको जस्तो बाकस, मतपत्र थिएन । न त मत माग्ने शैली आजको जस्तो हुन्थ्यो । अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत पनि उम्मेदवार देख्न सकिन्छ । उनीहरूका विचार, योजना र धारणा बुझ्न सकिन्छ । अनि मत बनाउन सकिन्छ । उमेर धेरै भए पनि मतदान गर्ने जाँगर घटेको छैन । म घरबाहिर जान र सजिलै कुराकानी गर्न सक्छु । त्यसैले निर्वाचन कहिले आउला र मत खसाल्न पाइएला भनेर दिन गनेर पर्खेको छु ।
आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसार निकै भएको छ । माइकिङ, पर्चा र रेडियो टेलिभिजनमा छ्याप्छ्याप्ती जानकारी आएका छन् । साथै पार्टीका कार्यकर्ता र उम्मेदवार पनि घरमा आउने गरेका छन् । उम्मेदवारहरू घर–गाउँमा मत माग्न हिँडिरहेका छन् । त्यसैले मतदान गर्न मन आत्तिएको छ । अहिलेको निर्वाचनमा जसले देश र समाजको पक्षमा काम गर्न सक्छ, मत उसैलाई दिने सोच छ । जीवनको यस अवस्थामा आइपुग्दा लाग्छ– नेताहरूले देशको माया गरून् । मिलेर बसेको समाजलाई सुरक्षित गरून् ।
(लिवाङमा काशीराम डाँगीसँगको कुराकानीमा आधारित)
