हिजोका ती व्यवस्थाभन्दा आजको अवस्था ठीक लाग्छ । राजाका पालामा त्यति धेरै हाँस्न–बोल्न पाइन्नथ्यो । आफू जवान हुँदा यो सल्लेरी गाउँमा एकाध घर मात्रै थिए, अहिले बडा–बडा घर बनेका छन्, कालो चिल्लो बाटो छ ।
चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन
What you should know
काठमाडौँ — – डोमे दोर्जी तामाङ (९८ वर्ष) सोलुखुम्बु
भन्नचाहिँ मलाई काइते कान्छा भन्छन्, तर लामाले राख्दिएको नाम डोमे दोर्जी तामाङ हो । ९८ वर्षको भएँ, कति वर्षको उमेरदेखि भोट हाल्न थालें, ठ्याक्कै थाहा छैन । सायद ४५ वर्षको थिएँ होला । यो पटक भोट हाल्दा ९ पटक हुन्छ । भोट हाल्ने बेलामा छोराले लैजान्छ । १० वर्ष भयो होला घरबाट बाहिर नगएको, हिँड्नै समस्या छ ।
पञ्चायतकाल, राजतन्त्र सबै भोगियो । हिजोका ती व्यवस्थाभन्दा आजको अवस्था ठीक लाग्छ । राजाका पालामा त्यति धेरै हाँस्न–बोल्न पाइन्नथ्यो । आफू जवान हुँदा यो सल्लेरी गाउँमा एकाध घर मात्रै थिए, अहिले बडा–बडा घर बनेका छन्, कालो चिल्लो बाटो छ । प्रगति भएको छ, नभएको चाहिँ हैन । तर जनताले चाहेको जस्तो अझै गर्न सकेनन् भन्ने कहिलेकाहीं मोबाइलमा सुन्छु ।
अहिले फेरि चुनाव हुँदै छ भन्ने सुनेको छु, फागुनको खै एकबिसतिर भन्छन्, भोट माग्नचाहिँ आउँछन् । कसलाई दिनु ? म त बूढो भएँ, युवाले भोट हालेर परिवर्तन गर्नुपर्छ । बूढी र मैले पनि भोट त हाल्छौं, फेरि हाल्न पाइन्छ कि पाइँदैन । किन खेर फाल्नु ? बल्ल–बल्ल चुनाव आउँछ, हाल्दिने हो जसले जित्छ जित्छ । त्यही एउटा भोटले गर्दा जित्ने पनि हुन्छ, त्यही एउटाले गर्दा हार्ने पनि हुन्छ । अनि नहालेर भो त ? अब कसलाई हाल्ने भनेरचाहिँ नसोध्नु । मैले भन्न मिल्दैन ।
अब राजा, राणा फालेर यहाँसम्म आएको, भनेजस्तो घर बनाउन पाइएको छ, आनन्दले बस्न पाइएको छ । यसका लागि पनि हाल्न पर्यो । म ऊ फेराबाट भागेर यहाँ बस्न आएको, ऊबेला कति समस्या थियो । अहिले त छोरो व्यापार गर्छ रे, के गर्छ कुन्नि ? तर गर्न त पाको छ । उहिलेदेखि जित्दै आएकाले केही गर्न खाजेकै हुन् । अब यो पटकको चुनावमा मैले यसलाई जिताउँ भनेर हुँदैन । चुनावमा यसले गर्छ भनेर सुरुमा कहाँ भन्न सकिन्छ र ? जितेर गएपछि मात्रै थाहा हुन्छ, कसले गर्छ । भन्न त मैले पनि भन्छु नि यो गर्छु भनेर तर आबो बूढो भएँ, सक्छु त ?
(सोलुखुम्बुमा भानुभक्त निरौलासँगको कुराकानीमा आधारित)
