हरेक निर्वाचन हो महोत्सव

जब–जब निर्वाचनको लहर चल्न थाल्छ, तब–तब कोही न कोही व्यक्ति चर्चित नेताका रूपमा उदाउँछ । र, ती नेताका रोचक किस्साहरू कालान्तरमा मिथक र इतिहासका रूपमा टंकण हुन्छन् । कति नेताचाहिँ पटक–पटक आफ्नै चुनावी–खरानीबाट पुनर्जीवित हुन्छन् । 

पुस ५, २०८२

दीपक सापकोटा

Every election is a festival

What you should know

काठमाडौँ — राजनीति कतिका लागि घृणाको विषय बनिदिन्छ, केहीका लागि सत्ताको भर्‍याङ । तर, खासमा राजनीति यी दुवै होइन र हुनुहुँदैन । राजनीतिलाई जतिसुकै बेवास्ता गरिए पनि आवधिक निर्वाचनमा सहभागी हुनुको अर्को विकल्प जनतासँग हुँदैन । सामान्यजनका सपना सत्तादीर्घासम्म निर्वाचनले नै पुर्‍याउँछ । ‘मास फ्रस्ट्रेसन’ मा बाँचिरहेका र जीवनमूल्य खण्डित भएका जनताका लागि निर्वाचन हो— जीवनवादी सपनाहरूको विशिष्ट अस्त्र । 

जब–जब चुनावको लहर चल्न थाल्छ, तब–तब कोही न कोही व्यक्ति चर्चित नेताका रूपमा उदाउँछ । र, ती नेताका रोचक किस्साहरू कालान्तरमा मिथक र इतिहासका रूपमा टंकण हुन्छन् । कति नेता चाहिँ पटक–पटक आफ्नै चुनावी–खरानीबाट पुनर्जिउँदा हुन्छन् । 

चुनावका तीन स्तम्भ— ‘मताधिकार’, ‘उम्मेदवारी दिने अधिकार’ र ‘मतदानको निष्पक्षता’— ले समानता, विधिको शासन र समावेशितामाथि पैरवी गर्छन् । मानवअधिकारको विश्वव्यापी घोषणापत्र– १९४८ मा भनिएको छ— सत्ताको आधार नै जनताको इच्छा हो । र, जनताको ‘इच्छा’ मा निर्वाचनमार्फत केही नेताले सानदार इतिहास रच्छन् । लोकतन्त्रको फोक्सो चुनाव हो भने सास विधिको शासन । किनभने, विधिअनुसारै चले मात्रै चुनावको गरिमा रहन्छ । र, जनताको सपना कुल्चिन नदिन चुनाव अपरिहार्य हुन्छ । 

निर्वाचनको सुन्दर परिभाषाले मानवअधिकारमाथि विमर्श गर्छ । ‘वाचन’ शब्दमा ‘निर्’ उपसर्ग लागेपछि बन्ने यस शब्दको अर्थ हुन्छ– नबोल्नु । नबोलीकनै वा संकेतबाटै मनपरेको मानिस छान्ने क्रिया हो– निर्वाचन । 

र, ‘आम’ अर्थात् धेरै मानिसले चुप लागेरै कसैलाई चुन्ने कामको नाम हो– आम निर्वाचन, जुन मानव सभ्यताको सबैभन्दा प्रगतिशील पद्धति मानिन्छ । यसले सत्ता र शक्तिको शान्तिपूर्ण हस्तान्तरण गर्छ ।

चुनावमा कोही–कोही उम्मेदवार जनताका लागि संयोगैले यस्ता ‘सितारा’ बन्छन्, जसको आकर्षक र अदाकारी व्यक्तित्वले मतदाता तानिन्छन् । राजनीतिमा होमिएका केही नेता जनताबाट अनुमोदित हुन्छन् । जस्तो– नेपाली राजनीतिमा हेमबहादुर मल्ल, शारदा मल्ल थिए, जसले प्राप्त गरेको मत दशकौंदेखि नेपाली राजनीतिमा अभेद्य किल्ला बनेको छ । एक थिइन्— नानीमैयाँ दाहाल, जो जहिल्यै नेपाली राजनीतिको चर्चामा रहिरहिन् ।

पद्मरत्न तुलाधर, गोविन्दनाथ उप्रेती, रूपचन्द्र विष्ट, भीमबहादुर श्रेष्ठ, जागृतप्रसाद भेटवाल, सन्त नेताको छवि बनाएका कृष्णप्रसाद भट्टराईलाई चुनावमा परास्त गर्ने मदन भण्डारी, माधवकुमार नेपाललाई चुनावमा परास्त गर्ने झक्कुप्रसाद सुवेदी, रवि लामिछाने, बालेन्द्र (बालेन) शाह, हर्क साम्पाङ । यसरी मतदाताको ‘हिरो’ बन्ने नेताहरूको सूची लामै बन्न सक्छ । यी केही राजनीतिज्ञ हुन्, जसले पाएको भोट राजनीतिक केन्द्रको विमर्शमा रहिरहेको छ र नेपाली राजनीतिक संस्कारले यिनलाई ‘नेता’ को फ्रेममा कैद गरिराख्छ । हरेक पटकको चुनावमा मतदाताले नयाँ पात्रलाई किन ‘आइकन’ बनाउँछन् ? यी नेताप्रति देखिएको मतको प्रवृत्तिले के संकेत गर्छ ?

यी विषयमाथि विमर्श गर्नुअघि केही ख्यातनामा नेताका राजनीतिक इतिहासलाई फर्किहेरौं ।

Every election is a festival

हरेक निर्वाचनमा कोही एक ‘म्यान अफ दि इलेक्सन’ बन्छ, तर इतिहास बनिरहन सक्दैन । २०४८ को आम निर्वाचनमा एमाले महासचिव मदन भण्डारीले बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा पराजित गरेका थिए । भण्डारीले २७ हजार ३ सय ७२ भोट ल्याएका थिए भने भट्टराईको मत थियो– २६ हजार ६ सय २१ । त्यतिबेला भनिथ्यो– त्यसमा भूमिगत राजनीतिबाट भर्खरै खुल्ला राजनीतिमा होमिएका मदन भण्डारीको ‘क्रेज’ले काम गरेको थियो । 

 Every election is a festival

२०४३ को आम निर्वाचनमा (राष्ट्रिय पञ्चायत सदस्य) एक ‘हिरो’ थिए– धनुषाबाट निर्वाचित हेमबहादुर मल्ल, जसको ‘भोट–रेकर्ड’ तोड्ने अर्को नेता नेपालमा उदाएको छैन । मल्लले ९३ हजार १ सय ४९ मत पाएर राष्ट्रिय पञ्चायत (पञ्चायतकालीन संसद्) सदस्य जितेका थिए । उनले श्रीमती शारदा मल्ललाई पनि जिताएर राष्ट्रिय पञ्चायतमा आफूसँगै पुर्‍याए । ‘डुंगा’ चुनावचिह्न लिएर उठेकी शारदाले ५३ हजार ९ सय ९६ मत प्राप्त गरेकी थिइन् ।

हेमबहादुरको चुनावचिह्न थियो– ‘हात्ती’ । तर, उनी त राजनीतिका सुप्रसिद्ध ‘शेरे’ थिए । अर्थात् ‘शेरे धनुषा’ । कसरी उनी ‘शेरे धनुषा’ भए ? २०३८ चुनावबाटै उनको नाम–काम फेरियो र ‘सिंह’ को अर्थ दिने ‘शेरे’ शब्द उनको पर्याय बन्यो ।

राजनीति स्थिर हुँदैन । हेमबहादुरले चुनाव जितेपछि नेपालमा ६ पटक ‘संसद्’ (संविधानसभासमेत) र ४ पटक ‘स्थानीय’ निर्वाचन भइसक्यो, मतदाताको संख्या बढे भन्नै परेन । तर, सर्वाधिक मत पाएर इतिहासको पानामा मुस्कुराइरहेका छन् उनै हेमबहादुर मल्ल । 

२०४३ मा ‘शेरे धनुषा’ ले अत्यधिक मत प्राप्त गर्दा काठमाडौंका ‘शेर’ थिए– जनपक्षीय उम्मेदार पद्मरत्न तुलाधर, जसले हेमबहादुरपछि दोस्रो अत्यधिक भोट पाए र काठमाडौंबाट चुनाव जिते । तुलाधरले पाएको मत थियो– ८६ हजार १ सय ५५ । पद्मरत्न २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनावमा रापंस उम्मेदवार उठेका थिए । पञ्चायतकालमा सबै उम्मेदवार स्वतन्त्र उठ्ने गर्थे । पद्मरत्न थिए– बहुदलीय व्यवस्था माग गर्दै भूमिगत गतिविधि चलाइरहेका राजनीतिक पार्टीहरूको साझा उम्मेदवार । पार्टीहरू ‘खुल्ला’ नभए पनि समाजमा तिनीहरूको असाध्यै बलियो पकड थियो । त्यसमाथि राजधानी काठमाडौं ‘बहुदलवादी’ कै बाहुल्यता भएको क्षेत्र थियो । 

जब २०३७ मा जनमत संग्रह भयो, संविधान संशोधनपछि वालिग मताधिकारकै आधारमा राष्ट्रिय पञ्चायतको चुनाव हुने भयो । पञ्चायतकालको त्यो अँध्यारोमा ‘वालिग मताधिकार’ मार्फत पहिलो आम निर्वाचन भयो– २०३८ मा । त्यसमा पनि सर्वाधिक मत पाउने उनै मल्ल थिए । धनुषामा थिए– २ लाख २७ हजार १३ मतदाता । मल्लले पाए– ७६ हजार २ सय ७० मत । यसरी पञ्चायतका जनताको ‘इच्छा’ थिए– मल्ल । 

२०१९ सालमा जारी संविधानको तेस्रो संशोधनपछि ‘राष्ट्रिय पञ्चायत’ मा राजाले २८ जना मनोनयन गर्थे, ७५ जिल्लाबाट निर्वाचित हुन्थे– १ सय १२ जना । यसरी राष्ट्रिय पञ्चायतमा १ सय ४० सदस्य रहन्थे । ३८ जिल्लामा एक र ३७ जिल्लामा दुई निर्वाचन क्षेत्र तय गरिएको थियो । दुई निर्वाचन क्षेत्र भएका जिल्लामा सबैभन्दा बढी मत ल्याउने दुवै उम्मेदवारले चुनाव जित्थे । 

राजा वीरेन्द्रले २०३७ सालमा जनमत संग्रह गराउँदा देशभरिबाट पञ्चायतले जिते पनि काठमाडौंमा बहुदलवादीले बहुमत ल्याएका थिए । त्यसैले पञ्चायतभित्र गएर पञ्चायती व्यवस्थाकै विरोध गर्ने रणनीतिका साथ तुलाधरलाई भूमिगत दलहरूले समर्थन गरेका थिए । 

नेवार समुदायमा तुलाधर सम्पादक रहेको ‘नेपाल भाषा’ पत्रिका असाध्यै लोकप्रिय थियो । तुलाधर कुनै बेला थिए– साप्ताहिकद्वय ‘राजमति’ का सम्पादक र ‘रातो युगधारा’ का वरिष्ठ सम्पादक । नेवाःहरूको भाषा–संस्कृति जोगाउने संस्था ‘नेपाल भाषा मंका खल’ का संस्थापक अध्यक्ष पनि थिए तुलाधर । ‘उनैको नेतृत्वमा मंका खलले २०३६ देखि नेपाल संवत्लाई मान्यता प्रदान गर्ने अभियान–आन्दोलन पनि थालेको थियो,’ संस्कृतिकर्मी सुरेश किरण भन्छन् । त्यसैले तुलाधर थिए प्रसिद्ध नेता । 

त्यतिबेला काठमाडौं नगर पञ्चायतको चुनाव हुँदा कांग्रेसले हरिबोल भट्टराई र तीर्थराम डंगोललाई प्रधानपञ्च र उपप्रधानपञ्चमा उठाएको थियो । त्यही क्रमको एक भाषणमा गणेशमान सिंहले ‘काठमाडौं प्रजातन्त्रवादीको कब्जामा छ, यहाँ हामीले एउटा लट्ठी मात्रै उठाए पनि जित्छौं’ भनेर भाषण गरेका थिए, जुन अत्यन्तै चर्चित भएको थियो । तुलाधरको चुनावचिह्न थियो– ‘सूर्य’ । त्यो चिह्न यति लोकप्रिय भयो कि २०४८ को चुनावमा एमालेको रोजाइ पनि ‘सूर्य’ बन्यो । 

‘काठमाडौंमा बहुदलवादीहरूको बलियो पकड थियो,’ पद्मरत्नमाथि किताबै लेखेका सुरेश किरण भन्छन्, ‘पद्मरत्न तीनै बहुदलवादीका बलिया उम्मेदवार थिए ।’ पद्मरत्नले कबुल गरेका थिए— आफू जितेर गए राष्ट्रिय पञ्चायतभित्र राष्ट्रिय पञ्चायतकै विरोध गर्छु । त्यसैले सम्पूर्ण बहुदलवादी उनका समर्थक थिए । त्यतिबेला तुलाधरका साथै विभिन्न जिल्लाबाट चुनाव उठेका थिए– रूपचन्द्र विष्ट, सोमनाथ प्यासी, जागृतप्रसाद भेटवाल आदि, जो ‘जनपक्षीय उम्मेदवार’ कै भन्ने ट्याग भिरेर चुनावमा होमिएका थिए । तीमध्ये सायद पद्मरत्न राजधानीको उम्मेदवार भएकाले उनको प्रचार देशव्यापी भयो । 

पद्मरत्नको चुनाव प्रचार सम्झिन्छन् सुरेश, ‘उनको चुनाव प्रचारमा कतिसम्म लहर उठेको थियो भन्दा टोलटोलमा चुनाव प्रचार कमिटी थिए । मानिसहरू आफैंले थानका थान कपडा किनेर ब्यानर लेख्ने ठाउँ खोज्थे । त्यो चुनावमा पद्मरत्नले आफ्नो गोजीबाट एक सुको खर्च गर्नुपरेको थिएन, सबै खर्च चन्दाबाटै भएको थियो ।’ 

त्यो केवल पद्मरत्न जिताउने चुनावी अभियान थिएन, पञ्चायती व्यवस्थाविरुद्ध सञ्चालित राजनीतिक गतिविधि पनि थियो । 

अब राजनीतिकी सदाबहार पात्र नानीमैयाँ दाहालको सम्झना गरौं । उनको कथाबिना नेपालको राजनीतिक इतिहास अपूरो–अधुरो हुनेछ, जो दलहरू प्रतिबन्धित त्यो पञ्चायत प्रणालीको राष्ट्रिय व्यवस्थापिका अर्थात् ‘राष्ट्रिय पञ्चायत’ की ‘सुप्रसिद्ध’ नेता थिइन् । 

२०३७ को जनमतसंग्रहपश्चात् २०३८ वैशाख २७ मा सम्पन्न भएको राष्ट्रिय पञ्चायत चुनावमा काठमाडौंकी उम्मेदवार थिइन्– नानीमैयाँ दाहाल । उनको चुनावचिह्न थियो– घडी । दाहालसँगै अर्का उम्मेदवार थिए– मन्त्री जोगमेहर श्रेष्ठ, जसको चुनावचिह्न थियो– साइकल । 

Every election is a festival

त्यो चुनावमा दाहालले प्राप्त गरेको भोट थियो– ६५ हजार ७ सय ७७ । श्रेष्ठले ल्याएका थिए– २९ हजार ७ सय ४१ भोट । यसरी यी दुई उम्मेदवारले राष्ट्रिय पञ्चायत सदस्य जितेका थिए । नानीमैयाँले बहालवाला मन्त्रीलाई दोब्बरभन्दा बढी भोटले उछिनेकी थिइन् । 

निर्वाचन परिणाममा दाहालको जितको ‘स्टोरी’ सधैं चर्चामै रहन्छ । कारण काठमाडौंका मतदाताको फरक र व्यंग्यात्मक छनोट । काठमाडौंबारे बेलाबेला भनिन्छ पनि– ‘नानीमैयाँलाई त जिताउने सहर !’

जनमत संग्रहमा पञ्चायतकै जित भएपछि बहुदलवादीले हक्की र लडाकु स्वभावकी ‘गैरराजनीतिक पात्र’ (गाउँ पञ्चायतको उपप्रधान भइसकेकी) नानीमैयाँलाई जिताएर रिस फेरेको व्याख्या–विश्लेषण राजनीतिमा गरिन्छ– शान्तिपूर्ण ढंगले व्यक्त गरिएको रिस । र, यसरी पञ्चायतविरोधीले नानीमैयाँलाई अभियानमार्फतै जिताए, प्रतिबन्धित दलहरूकै सहयोगमा । नानीमैयाँको त्यो जितबारे लेखक–विश्लेषक सीके लालले ‘कान्तिपुर’ सँग भनेका थिए, ‘जो पूर्णरूपमा आउटसाइडर हो । जो त्यतिबेलाको सोपानतन्त्रमा कतै पनि छैन । त्यतिबेला विद्यार्थी रहेका र दाहाललाई समेत सघाएका– उनको छविका कारण यस्तै व्यक्तिलाई राष्ट्रिय पञ्चायतमा पठाउनुपर्छ, यस्तै व्यक्तिले बरु ‘जहाजमा प्वाल’ पार्छन् भन्ने किसिमको सोचले काम गर्‍यो ।’

नानीमैयाँले जित्नुमा ‘पञ्चायतको उदारवादी र अनुदारवादी खेमाको संघर्षले काम गरेको’ राजनीतिक विश्लेषहरू बताउँछन् । सीके लालले भनेका छन्, ‘उदारवादी पञ्चलाई यिनैले ठीक पार्छिन् भन्ने सोच अनुदारवादीमा थियो । व्यवस्थालाई नै उल्ट्याउने पात्र पनि हुन सक्छिन् भन्ने सोच बहुदलवादीमा थियो । दुवैको सहयोग उनलाई प्राप्त भयो ।’ (नानीमैयाँ दाहालको ‘घडी’, माघ २९, २०८१) । 

पञ्चायतमा झन्डै ५०० जना माननीय भए । तीमध्ये बालाराम घर्ती र नवराज सुवेदीले मात्रै लगातार २५ वर्ष प्रतिनिधित्व गरेका थिए । 

Every election is a festival

प्रत्येक निर्वाचनमा मतदाताले अघिल्लो चुनावभन्दा फरक र पूरै अनौठो निर्णय लिन्छन् । यस्तो कथा काठमाडौं वा सहरी क्षेत्रमा बढी पुनरावृत्त हुन्छ । जस्तो काठमाडौंका मेयर बालेन एक यस्तो पात्र हुन्, जो गैरराजनीति ‘र्‍याप’ बाट उदाए सानदार मत ल्याएर जिते । २०७९ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ६१ हजार ७ सय ६७ मत ल्याएर काठमाडौं महानगरको मेयरमा निर्वाचित भए । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत ल्याएका थिए । 

२०७९ को प्रतिनिधिसभा चुनावमा ८३ हजार ९ सय ५६ जनाले मतदान गरेको चितवन–२ मा रवि लामिछानेले ४९ हजार २ सय ६४ मत प्राप्त गरेका थिए । चितवनको उपनिर्वाचनमा पनि रविले ५४ हजार १ सय ७६ मत पाएका थिए ।

यस्तो किन हुन्छ ? सीके लालले भनेका छन्, ‘सहरी क्षेत्रमा स्वतन्त्र आय भएका व्यक्तिहरू हुन्छन् । सानोतिनो काम गर्ने, व्यवसाय गर्ने, विद्यार्थीलाई सत्ताको खेलसँग धेरै मतलब हुँदैन । उनीले आफ्नो रिस विद्रोही र ‘र्‍याडिकल’ जस्तो लाग्ने उम्मेदवारमार्फत प्रकट गर्छन् । त्यस्ता उम्मेदवारले खासै केही गर्दैनन् भन्ने चाहिँ थाहा हुन्छ । तर, यथास्थितिलाई एक पटक हल्लाउँछ भनेर आत्मरति लिने सोच हुन्छ ।’

यसरी हरेक पटकको चुनावमा मतदाताले नयाँ पात्रलाई किन ‘आइकन’ बनाउँछन् ? यी नेताको भोटिङ ट्रेन्ड अर्थात् मतको लहर शक्तिले के संकेत गर्छ ? एक पटक जितेको दलले अर्को पटक लगत्तै किन जित्दैन ? ‘सबै समस्या एकै पटक सल्ट्याउँछु’ भन्ने थोरै ‘करिस्म्याटिक’, थोरै ‘रहस्यीमय’ देखिने व्यक्तिलाई जनहरूले किन असाध्यै पत्याउँछन् ? के यस्तो हुनुमा मतदाता शिक्षाको पनि भूमिका छ ? 

‘दलीय द्वन्द्व’ किताबका लेखक, पत्रकार तथा संसदीय व्यवस्थाका जानकार हरिबहादुर थापाको विचारमा एकैखाले पात्र, चरित्र वा दलले राजनीतिमा कब्जा जमाए वा तिनले खराब काम गरे भने जनताहरू बदला लिने दाउमा हुन्छन् । ‘यस्तो बेला उट्पट्याङ वा व्यवस्थालाई उदाङ्गो पार्न सक्ने पात्र जनताले खोज्छन् र नेपाली समाजले दखिरहेको वा भोगिरहेको भन्दा फरक पात्र राजनीतिमा पठाउँछन्’, उनी भन्छन्, ‘र, जनताले तिनीहरूमार्फत राजनीति र व्यवस्था दुवैलाई भ्वाङ पार्छन् । यो प्रवृत्ति भनेको मतदाताले व्यवस्था र सत्तासीनसँग बदला लिएको अर्थमा बुझ्नुपर्छ ।’ 

संसारैभरका गरिब समाजमा एउटा व्यग्रता हुन्छ— सबै विषय एकैचोटि सुध्रियोस् । नेपाल जस्तो मुलुकमा सुधार्नुपर्ने हजारौं विषय हुन्छन् । त्यस्तोमा समाजले सबै चीज एकै पटक बनोस् भन्ने चाहना राख्छ । यस्तैबेला जनताले अनौठो निर्णय गर्ने विचार छ– राजनीतिक विश्लेषक, लेखक विष्णु सापकोटाको । 

‘जोसुकै चुनिएर आए पनि एकैचोटि चमत्कार हुने त होइन, तर पनि चुनावी लहर कसको पक्षमा जान्छ भने जसले सबै कुरा एक्लै एकैचोटि ठीक गरिदिन्छु भन्छ । उसले कस्ता नीति ल्याएर कसरी लागू गर्ने होला भनेर बुझ्ने, विश्लेषण गर्ने र त्यसको आधारमा भोट हाल्ने ठाउँमा नेपाली समाज पुगेकै छैन । जनताको सबै चीज एकैचोटि राम्रो होस् भन्ने व्यग्रता स्वयमलाई नाजायज भन्न त मिलेन, तर यो कमजोर लोकतन्त्र र कमसल सामाजिक चेत भएको विशेषता पक्कै हो,’ विष्णु भन्छन् ।

एउटै दलले फेरि नजित्नुको कारण ? विष्णुको बुझाइमा त्यो हो– जनताको अधैर्य । ‘नीति हेरेर, उसले ल्याएका कार्यक्रम बुझेर मत दिइने भए पो ! त्यसमाथि नेपालका दलका घोषणापत्रमा लेखेको नीति लागू हुन्छ भन्ने त्यो लेख्नेहरूलाई नै विश्वास हुँदैन ।’ त्यसैले, समग्रमा रवि लामिछाने, बालेन शाह वा कुलमान घिसिङ जस्ता व्यक्तिप्रति देखिने अल्पकालीन क्रेज एउटा रोचक उदाहरण हो नेपाली समाजको । 

गम्भीर अर्थमा नेपालमा मतदाता शिक्षा छैन । नेपालमा बढी ‘लिगेसी भोटर’ को जमात छ । जस्तो बुबा–काका कम्युनिस्ट भएकाले आफूले जीवनैभर कम्युनिस्ट पार्टीलाई नै भोट हाल्ने । ‘तिनीहरू कुनै हिसाबमा पनि कम्युनिस्ट होइनन्, न कुनै कम्युनिस्ट सिद्धान्तप्रति उनीहरूको सहमति छ, तर भोट एमालेलाई हाल्ने अचेत समुदाय ठूलो छ । कांग्रेसतिर पनि भएको त्यही हो,’ विष्णु भन्छन्, ‘उनीहरूले लोकतन्त्रको मर्म बुझेर, खुला अर्थनीति यसकारण राम्रो छ भनेर होइन, आफू त्यस्तै लिगेसी परिवारको भएकाले मात्रै हो ।’ 

मतदाता दिग्भ्रमित हुनुको कारण चामत्कारिक देखिने कुनै एक व्यक्तिले ‘केही गर्ने हो कि’ भन्ने ती ठान्छन् । ‘र, विगतका वर्षहरूमा देखिएको एउटा मुख्य फ्याक्टर– विदेशमा काम गर्न गएका छोराछोरीले ‘फलानोलाई हाल्नु’ भनेकाले हालिने भोट । युवा र विदेशमा बस्नेहरू पुराना दलप्रति निकै रिसाएका देखिन्छन् । आगामी निर्वाचनमा पनि यसको प्रभाव पक्कै देखिन्छ होला,’ विष्णु भन्छन् ।

कोही एक नेता मात्रै ‘म्यान अफ् द इलेक्सन’ हुनुमा मतदाता शिक्षाले असर गर्दैन भन्ने बुझाइ छ– राजनीतिक विश्लेषक झलक सुवेदीको । उनलाई लाग्छ, सामाजिक मनोविज्ञान र प्रवृत्तिले मतदाताको निर्णयलाई प्रभावित गर्छ । जस्तो उनको विचारमा हर्क, बालेन, रविले जित्नु ‘अन्डरकरेन्ट’ भोट हो र ०६४ को चुनावमा भूमिगत माओवादीले जसरी भोट ल्यायो, त्यो पनि ‘अन्डरकरेन्ट’ भोट हो, झक्कु सुवेदीले माधव नेपाल हराउने विषय पनि ‘अन्डरकरेन्ट’ नै हो अर्थात् संस्थापन वा मतमार्फत व्यक्त गरेको मौन विद्रोह ।

‘त्यो ‘अन्डरकरेन्ट’ भनेको जनसाधारणले देशैभरि एउटै मत निर्माण गर्न सक्छन् । तर, त्यो मत एलिटबाहेकको हुन्छ । नानीमैयाँ दाहालले व्यापक मत ल्याउनुको कारण चाहिँ एलिटको मत हो– त्यो जित काठमान्डुको सचेत र शिक्षित समूहले गरेको राज्यसत्तामाथिको व्यंग्य हो । खाडीमा गएका, पढेलेखेका वा बेरोजगार, जसलाई राजनीतिक दलको पावर एलिटले बेवास्ता गरेका हुन्, तिनैको मौन विद्रोह यस्तो हुन्छ ।’

झलकको विचारमा पद्मरत्नको जित चाहिँ मालेको संगठित प्रयास र पपुलर मत हो र हेमबहादुरले समाजको सामन्ती संगठनको फाइदा लिए, प्रशासन र सत्ता उनको नजिक थियो । 

कांग्रेस र एमालेले ०४८ को चुनावदेखि ०६४ बाहेक उस्तै–उस्तै मत ल्याएका छन् । झलकलाई लाग्छ– मध्यमवर्ग र क्यापिटलिस्ट क्लासले सिस्टमप्रति विश्वास गरेर स्थिरता खोजेको हो वा ‘बा–बाजेले भोट दिएको, म पनि छोड्दिन’ भन्ने पनि छ समाजमा । ‘नेपाली मतदाता चञ्चल छन्, ती निरन्तर परिर्वतन खोजिरहेका छन्,’ झलक भन्छन् ।

हेमबहादुरले व्यापक भोट ल्याएको विषय नेपाली राजनीतिमा टड्कारो टंकण छ । विश्लेषक, स्तम्भकार चन्द्रकिशोरलाई लाग्छ, हेमबहादुरको फरक खालको चुनावी ‘ब्रान्ड’ थियो । ‘श्रीमान्–श्रीमती दुवैले जित्नु भनेको संरक्षणको राजनीति थियो । राज्यसँग वञ्चित बहुसंख्यक समुदायमा तिम्रो आश्रयदाता मै हुँ, सरकारमा मेरो पहुँच र पकड छ, तिम्रो आवश्यकताको खानापूर्ति केवल मै गर्न सक्छु भन्ने भावको प्रसारको बलमा उनी अटुट रूपमा चुनाव जितिरहन्थे,’ चन्द्रकिशोर भन्छन्, ‘बहुदलीय कालमा जनपक्षीय छवि बनाएका प्रत्याशीहरू राम्रो अन्तरले चुनाव जित्ने गरेका कतिपय उदाहरण छन् । जाति, नगद, प्रोपगान्डा, जालझेलका आधारमा चुनाव जित्न असहज हुने भए पनि जबसम्म आम जनतामा तिनको जुझारु तेवर प्रस्टिँदैन तबसम्म व्यापक उभार देखिँदैन ।’ 

अबको आसन्न चुनावमा पनि उही पुराना घिसी–पिटी चेहराविरुद्ध नयाँ चेहरा, नयाँ संकल्पका साथ चुनावी मैदानमा आए भने नयाँ–नयाँ चुनावी रेकर्डहरू बन्नेछन् । तर, हेमबहादुर मल्लको ‘रेकर्ड’ उछिन्ने पात्र सायदै चुनावी परिदृश्यमा देखिनेछन् ।

दीपक सापकोटा कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully