नेपालका २१ ठूला भाषाले मात्रै कुल जनसंख्याको ९५ प्रतिशत हिस्सा ओगट्छन् । बाँकी १०३ साना भाषा बोल्ने मानिसको संख्या ५ प्रतिशत मात्रै छ । र, भारोपेली र भोट–बर्मेली भाषा परिवारका भाषाहरूको बाहुल्य छ ।
भाषा : संस्कृतिको धागो, पहिचानको आधार
What you should know
काठमाडौँ — लेखक/पत्रकार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान : नेपाल–अंग्र्रेज युद्धको बखान’ को अन्त्यतिर एउटा पत्र छ, नेपाली भाषामा । पश्चिम नेपाल अर्थात् महाकालीपारिको तत्कालीन नेपालमा भइरहेका युद्ध र शासन गतिविधिबारे उक्त पत्रमा लेखिएको व्यहोरा सरसर्ती हेर्दा केही छोटा शब्दबाहेक बुझ्न गाह्रो पर्छ ।
लगभग २ सय वर्षअघिको पत्र पढ्दा नेपालमा धेरैले बोल्ने नेपाली भाषा कसरी फेरिएको छ भन्ने देखिन्छ । विश्व परिस्थिति र स्थानीय अनुकूलनअनुसार कुनै एउटा भाषा कसरी बदलिँदै जान्छ ? यसको उदाहरण सो पत्रलाई मान्न सकिन्छ ।
नेपालको भाषिक विविधता र यसको विकासक्रम अहिले महत्त्वपूर्ण मोडमा आइपुगेको भाषाविद् एवं अध्येताहरू बताउँछन् । भाषा आयोगका पूर्वसदस्यसमेत रहेका भाषाविद् अमर गिरीका अनुसार, बलियो भाषाको प्रभावका कारण वक्ताहरूले आफ्नो मातृभाषा बोल्न कम गर्दा नेपालमा ‘भाषिक अपसरण’ को अवस्था देखिएको छ । ‘अन्तर्राष्ट्रियस्तरमा अंग्रेजी र आन्तरिक रूपमा नेपाली भाषाको वर्चस्वले अन्य भाषाहरू प्रभावित छन्,’ गिरी भन्छन्, ‘मानिसहरूमा वर्चस्वशाली भाषाप्रतिको आकर्षण र यिनमा भएको अवसरले मातृभाषा छोड्ने स्थिति बनेको हो ।’
‘राष्ट्रिय जनगणना–२०७८’ को भाषिक प्रतिवेदनअनुसार, नेपालमा जम्मा १२४ वटा मातृभाषाहरू पहिचान गरिएका छन् । यी भाषामध्ये सबैभन्दा धेरै बोलिने प्रमुख २० भाषाले नेपालको ठूलो जनसंख्या समेट्छन् । जनगणनाको तथ्यांकअनुसार, नेपाली भाषा ४४.९ प्रतिशत जनसंख्याको मातृभाषा रहेको छ र यो सबैभन्दा धेरै बोलिने भाषा हो । दोस्रो स्थानमा रहेको मैथिली भाषा ११ प्रतिशत र तेस्रो स्थानको भोजपुरी ६.२ प्रतिशत मानिसले बोल्ने गर्छन् । पछिल्ला जनगणनाको तथ्यांक हेर्दा धेरै बोलिने भाषाभित्र पनि कतिपय भाषाका वक्ताको संख्या सानो अंकले बढेको छ भने प्रायःको स्थिर छ ।
कवि श्रवण मुकारुङ भाषाको सम्बन्ध आयआर्जनसँग जोडिने भएकाले स्थानीय भाषाको बजार नहुँदा ती खासै संरक्षण र प्रवर्द्धन हुन नसकेको बताउँछन् । ‘भाषा भनेको विनिमयको स्रोत हो, जुन भाषामा अवसर छ, मानिसले त्यो भाषा आफैं सिक्छन्,’ उनी भन्छन्, ‘नेपालीहरूले अहिले जापानिज वा कोरियन भाषा अवसर भएकै कारण सिकेका हुन् । हाम्रो राज्यले मातृभाषा पढेमा जागिरको ग्यारेन्टी गर्ने नीति ल्याउनुपर्छ, नाराले मात्रै भाषा बच्दैन ।’ उनले ताप्लेजुङमा ब्राह्मण समुदायका शिक्षकले लिम्बू भाषा पढाएको उदाहरण दिँदै अवसर भए भाषा फैलिँदै जाने तर्क दोहोर्याए ।
नेपालका २१ ठूला भाषाले मात्रै कुल जनसंख्याको ९५ प्रतिशत हिस्सा ओगट्छन् । बाँकी १०३ साना भाषा बोल्ने मानिसको संख्या ५ प्रतिशत मात्रै छ । र, भारोपेली र भोट–बर्मेली भाषा परिवारका भाषाहरूको बाहुल्य छ ।जनगणना प्रतिवेदनअनुसार, नेपालका २१ वटा ठूला भाषाहरूले मात्रै कुल जनसंख्याको ९५ प्रतिशत हिस्सा ओगटेका छन् । बाँकी १०३ साना भाषाहरू बोल्ने मानिसको संख्या ५ प्रतिशत मात्रै छ । नेपालमा मुख्यगरी भारोपेली र भोट–बर्मेली भाषा परिवारका भाषाहरूको बाहुल्य छ । भाषिक विविधताको हिसाबले कोशी प्रदेश सबैभन्दा अगाडि देखिएको छ । मधेश प्रदेशमा द्विभाषिकताको दर उच्च छ । यहाँ मानिसहरू आफ्नो मातृभाषासँगै नेपाली भाषा पनि बरोबर प्रयोग गर्छन् । कर्णाली प्रदेशमा भने एकै किसिमको भाषा बोल्नेको संख्या धेरै छ । यस प्रदेशको कुल जनसंख्याको ८८.९ प्रतिशत अर्थात् १५ लाख १ सय ६१ जनाले मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने गर्छन् ।
सामुदायिक पहलका सन्दर्भमा २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा एक किसिमको भाषिक–सांस्कृतिक जागरण आएको थियो । कवि मुकारुङका अनुसार, अभिभावकले आफ्ना बच्चाको नाम मातृभाषामा राख्न र सिकाउन खोज्नु एउटा पुनर्जागरण थियो । विशेषगरी आदिवासी जनजाति र मधेशी समुदायले छोराछोरीको नाम मातृभाषाबाट राख्ने चलन सचेत रूपमा बढाए । किराती समुदायले बान्तावा, कुलुङ, चाम्लिङ, थुलुङ, याक्खा, लिम्बूजस्ता आफ्ना मातृभाषाअनुरूप इहाङ, सुहाङ, युमा, सुम्निमा, हर्क, मणिकजस्ता नाम राख्न थाले । तामाङले लाक्पा, फूलमान, दावा, साङ्मो, मिङ्मा राख्ने र थारूहरूले रामसागर, झुमनलगायत नाम राख्न थालेको पाइन्छ । यो प्रचलन अहिले कम भइसकेको छ ।
राज्यको ठोस नीतिबिना यस्ता प्रयास पर्याप्त नहुने कवि मुकारुङ बताउँछन् । भाषाविद् गिरीका अनुसार, भाषा प्रवर्द्धनमा साहित्य र वाङ्मयको भूमिका ठूलो हुन्छ । उनी भन्छन्, ‘साहित्यको प्रचुर विकासले भाषाको विस्तार र संरक्षणमा सहयोग पुग्छ ।’ प्रविधिको प्रयोग र भूमण्डलीकरणले भाषाहरूमा औपनिवेशिक प्रभाव पारेको गिरीको विश्लेषण छ । उनका अनुसार, भूमण्डलीकरणले शक्तिशाली राष्ट्रका भाषा र संस्कृतिलाई प्रभावशाली बनाउँदा स्थानीय पहिचान कमजोर भएको छ । उनी भन्छन्, ‘यसले गर्दा आफ्नै अस्मिता र भाषाप्रतिको सचेतनामा पनि ह्रास आउन थालेको देखिन्छ ।’
मातृभाषा जोगाउन समुदाय, राज्य र भाषाविद् सबैले गम्भीर भएर सोच्नुपर्ने गिरीको सुझाव छ । हाल कतिपय स्थानीय तहले मातृभाषालाई कामकाज र पठनपाठनको भाषा बनाउने प्रयास गरेका छन् । गिरीका अनुसार, यस्ता कार्यले भाषा संरक्षणमा सकारात्मक परिणाम ल्याउन थालेका छन् । कवि मुकारुङ भने यस्ता पहल खासै अर्थपूर्ण नहुने बताउँछन् । उनका अनुसार, भाषा पढाएर मात्रै त्यसको प्रभावकारी संरक्षण हुन सक्दैन । उनले भाषा संरक्षणका लागि अवसरलाई पहिलो सर्त मानेका छन् । र, राज्यले अवसर सिर्जना गरिदिए मानिसले आफैं भाषा सिक्ने उनको भनाइ छ । ‘विद्यालयमा पढाउनै पर्दैन, भाषामा भविष्य र अवसर छ भने जोकसैले पनि आफ्नो समुदाय र बाउबाजेहरूबाट भाषा सिकिहाल्छ,’ उनले भने ।
नेपाल भाषाका सञ्चारमाध्यमहरूको पठनस्थित (रिडरसिप) बारे स्नातक थेसिस लेखेका अध्येता सहयोग रञ्जित नेपालमा भाषाभाषीको विकास भूगोलअनुसार भएको र ठाउँअनुसार एउटै भाषाका पनि फरक–फरक लवज वा ‘डाइलेक्ट’ हरू पाइने बताउँछन् । यस्तो भाषिक विविधीकरणले समाजमा एक किसिमको आत्मीयता पैदा गर्ने र भाषालाई थप सुन्दर बनाउने उनको बुझाइ छ । ‘पछिल्लो समय युवाहरूमा आफ्नो मातृभाषा सिक्नुपर्छ र बोल्नुपर्छ भन्ने भावना बढेको छ,’ उनी भन्छन्, ‘यसमा गीत/संगीतको पनि भूमिका छ । सज्जनराज वैद्यजस्ता गायकले आफ्ना रचनामार्फत नेवार समुदाय बाहिरका युवाहरूमा पनि नेपाल भाषा फैलाइरहेका छन् ।’
प्रविधिको क्षेत्रमा नेपाल भाषाले उल्लेख्य प्रगति गरेको रञ्जित बताउँछन् । युनिकोडमा नेपाल भाषा र रञ्जना लिपिको विकास हुनु तथा गुगल ट्रान्सलेटमा यो भाषा समावेश हुनुले यसको प्रयोग र पहुँचलाई व्यापक बनाएको उनले बताए । भाषा जोगाउने गरी दाफा खलः, भजन खलः, धिमे खलः जस्ता सामुदायिक प्रयासले महत्त्वपूर्ण भूमिका खेलिरहेको र यस्ता ठाउँमा जाँदा युवाहरूले भाषाको ‘एक्सपोजर’ पाउने र सिक्ने अवसर जुर्ने उनी बताउँछन् ।
नेपालमा थारू भाषा ५.९ प्रतिशत र तामाङ भाषा ४.९ प्रतिशत जनसंख्याको मातृभाषा हो । जनगणनाले बज्जिका ३.९ प्रतिशत, अवधि ३ प्रतिशत र नेपालभाषा (नेवारी) ३ प्रतिशत मानिसले बोल्ने देखाएको छ । मगर ढुट २.८ प्रतिशत र डोटेली १.७ प्रतिशतका साथ क्रमशः नवौं र दसौं स्थानमा छन् । यसैगरी उर्दू १.४ प्रतिशत, याक्थुङ/लिम्बू १.२ प्रतिशत र गुरुङ १.१ प्रतिशत जनसंख्याले बोल्ने गरेका छन् । सूचीमा मघही ०.८ प्रतिशत, बैतडेली ०.५ प्रतिशत र राई भाषा ०.५ प्रतिशतले बोल्ने गर्छन् । अछामी ०.५ प्रतिशत, बान्तावा ०.५ प्रतिशत, राजवंशी ०.४ प्रतिशत र शेर्पा ०.४ प्रतिशतका साथ बोलिने प्रमुख भाषाहरूमा पर्छन् ।
भाषा विनिमयको स्रोत हो । जुन भाषामा अवसर छ, मानिसले त्यो भाषा आफैं सिक्छन् । नेपालीहरूले अहिले जापानिज वा कोरियन भाषा अवसर भएकै कारण सिकेका हुन् । राज्यले मातृभाषा पढे जागिरको ग्यारेन्टी गर्ने नीति ल्याउनुपर्छ, नाराले मात्रै भाषा बच्दैन ।‘अहिलेको समयमा सबै भाषा जरैसित जोगाउन गाह्रो भए पनि प्रविधिको प्रयोग गरी संस्कृति र शब्दहरू बुझाउने स–साना व्यक्तिगत प्रयासहरूले भाषा संरक्षणमा ठूलो टेवा पुग्छ,’ अध्येता रञ्जितको निचोड छ, ‘केही व्यक्तिहरूले प्रविधिको प्रयोग गरी नेवारी शब्द र संस्कृतिका अर्थहरू बुझाउने काम गरिरहेका छन् । तामाङ, लिम्बू समुदायमा पनि यस्ता पहल देखिन्छन् । लिम्बू भाषाको युनिकोड बनेको छ । यस्ता पहलले भाषा जोगाउन मद्दत पुर्याउँछ ।’
अन्तर्राष्ट्रियस्तरमा भाषालाई शक्ति, प्रभाव र ज्ञानको पहुँचको दृष्टिकोणले हेर्ने गरी बहसहरू केन्द्रित छन् । ‘पावर ल्याङ्गवेज इन्डेक्स’ ले भूगोल, अर्थतन्त्र, सञ्चार, ज्ञान र कूटनीतिजस्ता पाँच आधारमा भाषाको शक्ति मापन गरेको छ । यस सूचकांकअनुसार, अंग्रेजी भाषा विश्वको सबैभन्दा प्रभावशाली ‘लिङ्गुआ फ्रान्का’ अर्थात् साझा भाषा हो । यसले अन्य क्षेत्रीय भाषाहरूलाई विस्थापित गर्ने खतरा वा ‘इङ्ग्लिहाइजेसन’ समेत बढाएको कतिपयको विश्लेषण छ ।
विश्वव्यापी सूचना उत्पादनको क्षेत्रमा ठूलो ‘भाषिक खाडल’ रहेको विषयमा पनि बहस सुरु भएको छ । ‘पावर ल्याङ्ग्वेज इन्डेक्सडकै तथ्यांकअनुसार म्यान्डरिन (चिनियाँ) बोल्नेको संख्या धेरै भए पनि विश्वको कुल सूचनाको ४४ प्रतिशतभन्दा बढी हिस्सा अंग्रेजी भाषामा मात्रै उपलब्ध छ ।
म्याडरिन भाषामा ४.८५ प्रतिशत मात्रै सूचना उपलब्ध छन् । औपनिवेशिक कालमा अंग्रेजी भाषालाई सांस्कृतिक प्रभुत्व जमाउने माध्यम बनाइएको र त्यसले गर्दा भारतजस्ता देशका परम्परागत ज्ञान प्रणाली र स्थानीय भाषाहरू सीमान्तकृत भएको भण्डारास्थित आठवले कलेज अफ सोसल वर्कमा अंग्रेजी विषयका सहायक प्राध्यापक डा. मधुकर जनराव निकमले आफ्नो अध्ययन प्रतिवेदनमा लेखेका छन् ।
यसै सन्दर्भमा संयुक्त राष्ट्रसंघले सन् २०२२ देखि २०३२ सम्मको अवधिलाई ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक’ घोषणा गरी लोपोन्मुख भाषाहरूको संरक्षण, प्रवर्द्धन र पुनरुत्थान गर्ने लक्ष्य राखेको छ ।
