२०७८ को जनगणनाअनुसार देशभर १ सय १५ पुरुष र १ सय ३८ महिला गरी २ सय ५३ जना मात्र कुसुन्डा जातिका छन् । त्यसमा पनि कुसुन्डा भाषा पूर्ण रूपमा बोल्ने देशभर ११ पुरुष र १२ महिला गरी २३ जना मात्र छन् ।
भाषा : संस्कृतिको धागो, पहिचानको आधार
What you should know
दाङ — कुसुन्डा भाषाबारे पूर्ण ज्ञान भएकी एक मात्र पात्र थिइन्, ज्ञानीमैया कुसुन्डा । कतै उनीसँगै कुसुन्डा भाषा पनि हराउने हो कि भन्ने चिन्ता धेरैलाई थियो । यही कुरालाई मध्यनजर गरी उनी जीवित छँदै कुसुन्डा भाषा शिक्षण थालियो ।
भाषा जान्नेहरूको संख्या बढाउने अभियान चलिरहेकै बेला बिरामी परेर थलिएकी ज्ञानीमैयाको ११ माघ २०७६ मा ८२ वर्षको उमेरमा लमही नगरपालिका–६ कुलमोहरस्थित घरमा निधन भयो ।
ज्ञानीमैया नरहेपछि भाषा बचाउने चिन्ता झनै बढ्यो । उनीसँगै लामो समय बसेकी बहिनी नाता पर्ने ४८ वर्षीया कमला कुसुन्डाले त्यसको कार्यभार सम्हालिन् । साथमा थिए, कुसुन्डा भाषाबारे लामो समय अध्ययन अनुसन्धान गरेका लमहीका उदय आले । उनले ज्ञानीमैयासँग बसेर लामो समय कुसुन्डा भाषाको शब्दकोश नै तयार पारेका थिए ।
ज्ञानीमैयाको निधनपछि उदयले कमलाका साथमा भाषाको थप ज्ञान हासिल गरे । अनि उनले दाङ र प्यूठानमा भाषा कक्षाहरू सञ्चालन गरे । त्यसमा थपिइन्– सरुमारानी गाउँपालिका–६ बुढीचौर प्यूठानकी हिमा कुसुन्डा । हिमाले पनि अहिले कुसुन्डा भाषाको कक्षा दिन्छिन् । उनलाई सुरुमा आफ्नो मातृभाषाबारे ज्ञान थिएन । कुसुन्डा समुदायकी छोरी भए पनि आफ्नो भाषा नजान्दा उनलाई हीनताबोध हुन्थ्यो ।
२०७८ को जनगणनाअनुसार देशभर १ सय १५ पुरुष र १ सय ३८ महिला गरी २ सय ५३ जना मात्र कुसुन्डा जातिका छन् । त्यसमा पनि कुसुन्डा भाषा पूर्ण रूपमा बोल्ने देशभर ११ पुरुष र १२ महिला गरी २३ जना मात्र छन् । दाङको लमहीमा कुसुन्डा भाषा कक्षा चलेको जानकारी पाएपछि उनी सात वर्षअघि लमही पुगिन् । कुसुन्डा भाषा कक्षामा भर्ना भएर १ सय ८० घण्टाको कक्षा लिइन् । त्यसपछि उनी कुसुन्डा भाषा बोल्न र लेख्न सक्ने भइन् । उनले कुसुन्डा भाषामै गीत लेखिन् र गाइन् पनि । उनका हजुरबुबा लिलबहादुर कुसुन्डाले १८ वर्षसम्म जंगलमा फिरन्ते जीवन बिताएका थिए । उनले केही शब्दहरू बोले पनि पूर्ण भाषा जान्दैनथे । तीन वर्षअघि उनको पनि निधन भयो ।
नेपाली मूल विषय लिएर बीएड तेस्रो वर्षमा अध्ययनरत हिमाले यति बेला कुसुन्डा भाषाको संरक्षण गर्ने लक्ष्य लिएकी छन् । ‘लोप हुन लागेको भाषा बचाउने योजनाअनुसार नै भाषा कक्षामा सहभागी भएँ, गीत लेखें,’ उनले भनिन्, ‘सुरुमा नेपाली र कुसुन्डा भाषा मिलाएर गीत बनाएको थिएँ । पछि कुसुन्डा भाषामा मात्रै गीत बनाएँ ।’ उनको गीतमा कुसुन्डा भाषा बचाउनुपर्छ भन्ने चेतनामूलक सन्देश छ । अब गीत रेकर्ड गर्ने उनको योजना छ ।
हिमाले कक्षा ११ मा अध्ययनरत बहिनी पिमालाई पनि भाषा सिकाइन् । त्यति मात्रै होइन, बुबा सेतुलाल र आमा बिमादेवीलाई पनि भाषा सिकाइरहेकी छन् । उनीहरू दैनिक प्रयोगका भाषा बुझ्न सक्ने भइसकेका छन् । हिमा जस्तै भाषा लेख्न–पढ्न सक्नेको संख्या बढ्दो क्रममा छ ।
भाषा बचाउने कक्षा
सात वर्षअघिसम्म कुसुन्डा भाषा पूर्ण बोल्ने ज्ञानीमैया र कमला कुसुन्डा मात्रै थिए । भाषा कक्षा चलाउन थालेपछि अहिले ६२ जना पुगिसकेका छन् । ज्ञानीमैया र कमलाकै सहयोगमा कुसुन्डा कक्षा चलाइएको थियो । दाङमा चलाइएका कक्षामा ३० जना तयार भए भने प्यूठानको सरुमारानी गाउँपालिकामा कक्षा चलाएर ३२ जना तयार गरियो । केही समयअघि सरुमारानी गाउँपालिकामा १५ दिनको आवासीय सुविधासहित २० जनाको कक्षा चलाइयो । जसमा प्यूठान र दाङका साथै गोरखा, तनहुँ, कपिलवस्तु, सुर्खेतलगायत जिल्लाबाट समेत सहभागिता थियो ।
पछिल्लो दशक कुसुन्डा जातिको संख्या र भाषा दुवै क्रमशः घट्दै गइरहेको तथ्यांकले देखाइरहँदा यति बेला भाषा संरक्षणका लागि दाङ र प्यूठानमा विभिन्न समय भाषा कक्षा सञ्चालन हुन थालेका छन्यस्तै ब्रिटिस काउन्सिलको सहयोगमा अर्काइभ नेपालले सरुमारानीमै १२ जनालाई तीन महिनाको कक्षा दियो । उनीहरू कुसुन्डा भाषा बोल्न र लेख्न सक्ने भइसकेको प्रशिक्षक उदय आलेले बताए । उनीहरूले पढीसकेपछि कुसुन्डा भाषामै पुस्तक नै प्रकाशन गरेको आलेले बताए । ‘बिद्यार्थीले लेखेका सिर्जनाहरू संग्रह गरेर ११ वटा पुस्तक प्रकाशन भएका छन्,’ उनले भने, ‘भाषा लोप हुन पाएको छैन, झन् विस्तार भइरहेको छ ।’
आठ वर्षअघि पहिलो चरणमा ९० घण्टाको कक्षा सञ्चालन गरिएको थियो । पहिलो चरणमा २० जना सहभागीमध्ये १७ जना कुसुन्डा थिए । तीन जना अन्य समुदायका थिए ।
सुर्खेत, रोल्पा, प्यूठान र दाङबाट भाषा सिक्न आएका विद्यार्थी कुसुन्डा भाषाका आधारभूत कुरा बोल्न र लेख्न सक्ने भएका थिए । पहिलो चरणमा खानपिन, सरसफाइ, नातागोता, घरायसी व्यवहारजस्ता आधारभूत कुरा सिकाइएको र त्यति बेला नै सबै लेख्न तथा बोल्न सक्ने भएको शिक्षक उदयले बताए ।
सुरुमा ज्ञानीमैया र पछि कमलाको सहयोगमा उनले कक्षा सञ्चालन गरेका थिए । पहिलो चरणको कक्षा सकेकालाई नै दोस्रो चरणमा ९० घण्टाकै कक्षा दिइन्छ । पहिलो चरणमा भाषाको प्रारम्भिक ज्ञान हासिल गरेपछि दोस्रो चरणमा सामाजिक सम्बन्धसम्बन्धी भाषा सिकाउने गरेको उनले बताए । तेस्रो चरणमा पाठ्यक्रममा आधारित र चौथोमा शब्दावली, व्याकरणसहित विज्ञ बन्ने खालको शिक्षा दिने गरेको उनले बताए ।
चार चरणमा ३ सय ६० घण्टाको कक्षालाई प्रत्येक चरणमा ९०/९० घण्टाको पढाइ हुन्छ । सुरुमा लमही नगरपालिकाको सहकार्यमा भाषा आयोगले कक्षा चलाएको थियो भने पछिल्लो समय घोराही–५, धर्नामा कक्षा चलाइएको थियो ।
भाषा शिक्षाका साथै स्थानीय सरकारमा पनि कुसुन्डा जातिको प्रतिनिधित्व गराएर नीति निर्माण तहमा पहुँच विस्तार गरेको घोराहीका नगर प्रमुख नरुलाल चौधरीले बताए । कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डा २०७४ मा एमालेबाट घोराही उपमहानगरपालिकाको कार्यपालिका सदस्य मनोनीत भएका थिए ।
अब भाषाको कक्षालाई परिवार र प्रविधिमा जोडेर विस्तार गर्ने योजना बनाइएको भाषा शिक्षक उदयले बताए । ‘अब कुसुन्डा भाषा गाउँसम्म विस्तार हुन थालेको छ,’ उनले भने, ‘भाषाको विस्तार गर्न अब घरपरिवारलाई सँगै राखेर सिकाउने योजनामा छौं ।’ आजभोलि प्रयोगमा आउने सामाजिक सञ्जालमा समेत कुसुन्डा भाषा प्रयोग गर्न सबैलाई अनुरोध गरिरहेको उनले बताए । ‘सामाजिक सञ्जालमा लेखिने पोस्ट, कमेन्टहरूसमेत कुसुन्डा भाषामा गरेपछि भाषाको प्रचार हुन्छ,’ उनले भने, ‘अहिले यसको अभ्यास गर्न विद्यार्थीलाई प्रेरित गरिरहेका छौं ।’
यसका साथै कुसुन्डा भाषाका विभिन्न शब्दावली र जानकारी समेटिएका छोटा भिडियोहरू बनाएर गाउँ–गाउँमा पठाउने र घर–घरमा सुन्ने वातावरण बनाउने योजना बनाएको उदयले बताए । ‘अब समयअनुसार प्रविधिमैत्री हुनैपर्छ । नयाँ पुस्तालाई केन्द्रित गरी सिकाइको तरिका बदल्न खोजेका छौं,’ उनले भने, ‘अहिलेसम्म परम्परागत तरिकाले कक्षा चलेका छन् । यसले मात्रै भाषाको विस्तार हुन सक्दैन । आधुनिक सञ्चार प्रविधिको पनि प्रयोग गर्नुपर्छ ।’
अब विद्यार्थीलाई परिवारसँगै राखेर सिकाउन आवश्यक रहेको उनले बताए । भाषा सिकेकाले बोल्ने साथी नपाउँदा नियमित अभ्यासमा समस्या भएको छ । ‘अब विद्यार्थीलाई परिवारसँगै राखेर सिकाउनुपर्छ । जसले गर्दा सबैले सिक्न पाउँछन् र नियमित अभ्यास गर्न पाउँछन्,’ उनले भने, ‘विद्यार्थीहरूलाई गाउँ–गाउँमा गएर साना भिडियो बनाउन र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्न प्रेरित गरिरहेका छौं ।’
ज्ञानीमैया र कमलाले कुराकानी गरेको ४० घण्टाको भिडियो रेकर्ड सुरक्षित राखेका उदयले त्यसलाई अनुवाद गरेर नेपाली र अंग्रेजीमा पनि तयार गरेर कतिपय पुस्तक नै प्रकाशन गरिसकेका छन् । ‘यो एउटा ऐतिहासिक दस्ताबेज हो,’ उनले भने, ‘यसमा धेरै नयाँ शब्दहरू प्रयोग भएका छन् । यो कुराकानी सुनेर नयाँ पुस्तालाई सिक्न पनि सहज हुनेछ ।’
भाषा बचाउने अनुसन्धान
कुसुन्डा भाषाका बारेमा नेपाली र विदेशी अनुसन्धानकर्ताले धेरै पक्षबाट अध्ययन अनुसन्धान गरेका छन् । सबैले कुसुन्डालाई लोपोन्मुख भाषाका रूपमा उल्लेख गरेका छन् । सर्वप्रथम बेलायती अनुसन्धानकर्ता ब्राइन एच हड्सनले सन् १८१८ मा कुसुन्डा भाषाको अध्ययन गरेको देखिन्छ । उनले १ सय १३ वटा शब्द र १० वटा वाक्य बनाएर सन् १८५७ मा पहिलो पटक सार्वजनिक गरी विश्वभर कुसुन्डा भाषाको परिचय गराएका थिए ।
कुसुन्डा भाषा बचाउन हाल कक्षा चलाइन थालिएको छ । जसले गर्दा बोल्नेहरूको संख्या बढेको छ । अब भने कुसुन्डा भाषा संरक्षण हुने आशा पलाएको छ । बिस्तारै संख्या बढ्दै छ, हामी नहुँदा पनि भाषा बाँचिरहोस् ः कमला कुसुन्डा, कुसुन्डा भाषा शिक्षकत्यसपछि अस्ट्रियन मानवशास्त्री जोहान राइन हार्डले सन् १९६८ मा ‘अ प्रिलिमिनरी लिङ्ग्विस्टिक एनालाइसिस एन्ड भोकाबुलरी अफ द कुसुन्डा ल्याङ्ग्वेज’ नामको पुस्तक सार्वजनिक गरेका थिए । डेभिट वाटर्सले सन् २००५ मा ‘नोट्स अन कुसुन्डा ग्रामर : अ ल्याङ्ग्वेज आइसोलेटेड अफ नेपाल’ मा कुसुन्डा भाषाको व्याकरणको विश्लेषण गरेका छन् ।
नेपालका प्रसिद्ध समाजशास्त्री डोरबहादुर विष्टले २०३४ मा प्रकाशन गरेको ‘सबै जातको फूलबारी’ पुस्तकमा कुसुन्डा जातिका बारेमा परिचय दिएका छन् । भाषाशास्त्री डा. चूडामणि बन्धुले २०६६ मा गरिमामा र २०६९ मा मिर्मिरे पत्रिकामा कुसुन्डा भाषाबारे लेख प्रकाशन गरेका थिए ।
अस्ट्रेलियन प्राध्यापक मार्क डोनोहुईले पनि नेपाली भाषाशास्त्रीसँग मिलेर सन् २०१३ मा कुसुन्डा भाषाको अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । बीके रानाले सन् २००२ मा अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा कुसुन्डा भाषासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
दाङका अध्येता उदय आलेले २०७४ मा ‘कुसुन्डा जाति र शब्दकोश’ पुस्तक प्रकाशन गरेका छन् । यसका साथै उनले गेमेहाक (वनराजा), ‘कुसुन्डाको चित्रकथा’, सोजाक (नमस्ते) र कुसुन्डा गिपन (कुसुन्डा भाषा) पुस्तक पनि प्रकाशन गरेका छन् ।
कुसुन्डा जातिमा भाषा जानेका मान्छेहरू कम भएकाले नै सुरुमा यसको संरक्षणमा समस्या भएको कमला कुसुन्डा बताउँछिन् । ‘अब पढाउन थालेपछि यसको विस्तार भएको छ । कक्षा लिँदा सबैले भाषाको पूर्ण ज्ञान लिन्छन्,’ उनले थपिन्, ‘अब भाषा सिकेकाले परिवारका अन्य सदस्यलाई पनि सिकाएपछि बढ्दै जान्छन् ।’
कुसुन्डा विगतमा जंगलमा फिरन्ते जीवन बिताउँथे । बास बस्न जंगलमा ओढार खोज्दै हिँड्थे । गाउँमा पसेर भिक्षा माग्थे अनि फेरि जंगलमै फर्केर खान्थे । समाजमा बस्ने, आफ्नै घरबास बनाउने, सम्पत्ति कमाउने जस्ता कुरामा उनीहरूलाई कुनै चासो थिएन ।
आफ्नै भाषा, संस्कृति र परम्परा थियो । उनीहरू गाउँ बस्न थालेपछि भाषा हराउँदै गएको हो । भाषा बचाउन हाल कक्षा चलाइएको हो । कक्षा लिएपछि कुसुन्डा भाषा बोल्नेहरूको संख्या बढेको कमलाले बताइन् । ‘अब भाषा संरक्षण हुने आशा पलाएको छ । बिस्तारै संख्या बढ्दै छ,’ उनले भनिन्, ‘हामी नहुँदा पनि भाषा बाँचिरहोस् ।’
कुसुन्डा भाषाका अध्येता नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक टीकाराम उदासी कुसुन्डा भाषा जोखिममा रहेकाले यसको संरक्षणमा नियमित काम गर्न जरुरी रहेको बताउँछन् । ‘ज्ञानीमैयाको मृत्युपछि अब कुसुन्डा भाषाका आंशिक वक्ता छन् । दोहोरो कुरा गर्ने मान्छे नभएपछि भाषा बच्न सक्दैन,’ उनले भने, ‘यो भाषाको आफ्नो लिपि नभएका कारण बचाउने चुनौती भइरहन्छ ।’
विभिन्न अध्येताले मौखिक कुराकानीका आधारमा अध्ययन गरे पनि दोहोरो कुरा गर्ने नभएका र एकीकृत बस्ती पनि नभएका कारण कुसुन्डा भाषा हराउँदै जाने खतरा रहेको कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले बताए ।
‘भाषा पढेका विद्यार्थीले यसलाई फैलाउन सक्नुपर्छ । कुसुन्डाको बसोबास एकै ठाउँमा पनि छैन । नियमित कुराकानी हुँदैन,’ उनले भने, ‘कुरा गर्ने अभ्यास नहुँदा भाषा बचाउन समस्या हुन्छ । घरका सबै सदस्य बोल्न थालेपछि मात्र भाषा बचाउन सकिन्छ ।’ देशभर कतै पनि कुसुन्डाको आफ्नो जग्गा र घरबास नभएका कारण भाषा र संस्कृति संकटमा परेको धनबहादुरले बताए । ‘जंगलमा रमाएको जातिको गाउँमा घरजग्गा हुने कुरा भएन,’ उनले भने, ‘छिमेकमा अन्य जातिका कोही नभएपछि भाषा हराउँदै जान थाल्यो ।’
राष्ट्रिय जनगणना २०७८ अनुसार कुसुन्डा भाषा पूर्ण रूपमा बोल्ने देशभर ११ पुरुष र १२ महिला गरी २३ जना छन् । कुसुन्डा जातिको जनसंख्या १ सय १५ पुरुष र १ सय ३८ महिला गरी २ सय ५३ छ । पछिल्लो दशक कुसुन्डा जातिको संख्या र भाषा दुवै क्रमशः घट्दै गइरहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार कुसुन्डा भाषा बोल्ने १४ पुरुष र १४ महिला गरी २८ जना थिए भने जनसंख्या १ सय २३ पुरुष र १ सय ५० महिला गरी २ सय ७३ थियो । दाङ, प्यूठान, कपिलवस्तु, अर्घाखाँची, गोरखा, रोल्पा, तनहुँ, सुर्खेत र बर्दियामा कुसुन्डाको बसोबास रहेको छ ।
