नेपालमा १२४ भाषा, अभ्यासमा छन् १८ लिपि

अक्षर लेख्ने प्रणाली हो– लिपि । लिपिले भाषालाई स्थायी रूप मात्रै प्रदान गर्दैन, यसमा इतिहास–संस्कृति र पहिचान पनि हुन्छ । यी प्राविधिक विषय मात्रै होइनन्, भूत–वर्तमान–भविष्यलाई जोड्ने धागाहरू हुन्, संस्कृतिका ‘डीएनए’ पनि हुन् ।

फाल्गुन ९, २०८२

तारामणि राई

There are 124 languages ​​in Nepal, 18 scripts in practice.

भाषा : संस्कृतिको धागो, पहिचानको आधार

What you should know

काठमाडौँ — संघीयताको कार्यान्वयनसँगै नेपालमा यसका सकारात्मक र नकारात्मक पक्षमा बहस र टिप्पणी हुँदै आएको छ । सकारात्मक पक्षमध्ये संघीयताले दिएको सुन्दर विषय हो– मातृभाषासँगै लिपिको निर्बाध प्रयोग र विस्तार ! १२४ वटा भाषा बोलिने यस मुलुकमा एक दर्जन बढी लिपि प्रचलनमा छन् । त्यसैले नेपाल बहुभाषिकता भएको मुलुक मात्रै होइन, बहुलिपिकता भएको मुलुक पनि हो ।

‘लिपि’ सामान्य अर्थमा अक्षर लेख्ने प्रणाली हो । ‘अक्षर’ भनेको व्यञ्जनसहित वा रहित स्वर भएको सिंगो ध्वनि वा ध्वनि समूह हो । तर, विशिष्ट अर्थमा हेर्ने हो भने लिपिले भाषालाई स्थायी रूप प्रदान मात्रै गर्दैन, इतिहास, संस्कृति र पहिचान पनि बोकेको हुन्छ ।

लिपिको प्रारम्भ कहिले भयो ? यो भन्न सजिलो छैन । प्राग्ऐतिहासिक कालमा गुफा, ओडारमा लेखिएका चित्र, शिलालेख, स्तम्भलेख आदिका आधारमा लिपिशास्त्रीहरूले ई.पू. ४००० अर्थात् आजभन्दा लगभग ६ हजार वर्ष पहिले लिपिको उत्पत्ति सुरु भएको अनुमान लगाएका छन् । प्रारम्भमा लिपिको विकास चित्रबाटै भएको देखिन्छ । प्राचीन मेसोपोटामियामा (हालको इराक, कुवेत) सभ्यताको विकासक्रममा सुमेरियनहरूले वाणाकार ‘क्युनिफर्म’ लिपिको सुरूआत गरे ।

गिलो माटोमा त्रिकोणात्मक चिह्नका रेखाहरू लेख्ने र यसलाई लेनदेनको अभिलेख राख्ने साधनका रूपमा प्रयोग गरिन्थ्यो । यसपछि चित्रलिपि ‘पिक्टोग्राफ’ को विकास भयो । भाव व्यक्त गर्ने अभिप्रायका विकसित चित्रहरू कोरिन थाले । यस चरणका लिपिलाई भावात्मक लिपि पनि भन्ने गरिन्छ । त्यसपछि अर्थ आउने किसिमका रेखाचिह्नहरू विकास भए । यी तीनै चरणका लिपि विकासलाई पहिलो समूहको शब्दात्मक लिपिअन्तर्गत राखेर अध्ययन गर्ने चलन छ । शब्दात्मक लिपिमा एउटा चित्र वा संकेतमार्फत सिंगो शब्दको अर्थ प्रतिनिधित्व हुने गर्छ । अहिले पनि अरेबिक संख्या रहेको १,२,३ शब्दात्मक लिपिको उदाहरण हो ।

अक्षर लेख्ने प्रणाली हो– लिपि । लिपिले भाषालाई स्थायी रूप मात्रै प्रदान गर्दैन, यसमा इतिहास–संस्कृति र पहिचान पनि हुन्छ । यी प्राविधिक विषय मात्रै होइनन्, भूत–वर्तमान–भविष्यलाई जोड्ने धागाहरू हुन्, संस्कृतिका ‘डीएनए’ पनि हुन् ।प्राचीन मिश्र र चीनको मन्दारिन शब्दात्मक लिपिअन्तर्गतका लिपि हुन् । शब्दात्मक लिपिपछि दास्रो चरणमा अक्षर लिपिको विकास भयो । हरेक अक्षर शब्दभन्दा सानो र वर्णभन्दा ठूलो एकाइ हो । हरेक एकआक्षरीका आधारमा अर्थ हुने गर्छ । जापानी भाषामा प्रयोग हुने काताकाना, हिरागाना लिपि यसअन्तर्गतका लिपि मानिन्छ । तेस्रो, वर्णाक्षरीक लिपि हो । यो लिपि ई.पू. तेस्रो शताब्दीतिर विकास भएको मानिन्छ । यसमा एकभन्दा धेरै वर्ण हुन्छन् । उदाहरणका लागि ‘क’ भित्र ‘क्+अ’ दुईवटा आउँछन् भने ‘त्र’ अक्षरमा ‘त्+र्+अ’ आउँछन् । 

भारतीय उपमहाद्वीपमा विकसित भएका अधिकांश लिपि यसअन्तर्गतका हुन् । नेपालमा प्रयोग हुँदै आएका देवनागरी, गुरुमुखी, तामिल, बंगाली, सम्भोटा, कैथी, रञ्जना, किरात सिरिजङ्गा लिपिका ढाँचा यसैभित्र पर्छ । चौथो प्रकारको लिपि वर्ण लिपि हो । यो लिपिमा स्वर पूर्णाकार हुन्छ भने मात्राको प्रयोग हुँदैन । यो लिपिमा शब्द लेख्दा माथिबाट डिको दिइँदैन ।

ल्याटिन, रोमन, अरबी आदि यसअन्तर्गतका लिपिहरू हुन् । पाँचौं हो– ध्वनि लिपि । ध्वनिलाई भाषाको सबैभन्दा सानो एकाइ मानिन्छ । ध्वनि लिपिले अर्थपूर्ण उच्चार्य ध्वनिको प्रतिनिधित्व गर्छ । भाषा वैज्ञानिक दृष्टिकोणले संसारका भाषाहरूलाई अभिलेख गर्न बनाइएको यो लिपिलाई अन्तर्राष्ट्रिय ध्वनितात्त्विक वर्णमाला भनिन्छ ।

भाषा र लिपिको अन्तर्सम्बन्ध

भाषा र लिपि अन्तर्सम्बन्धित हुँदाहुँदै पनि त्यही रूपमा तात्त्विक भिन्नता छ । भाषा साध्य हो भने लिपि साधन । भाषा प्राकृतिक हुन्छ भने लिपि कृत्रिम । लिपि निर्माण गर्न सकिन्छ, तर भाषा सकिँदैन । ‘भोलापुक, इदो, एस्पेरेन्तो’ जस्ता कृत्रिम भाषा बनाइए पनि ती भाषा प्रचलनमा आउन सकेनन् ।

There are 124 languages ​​in Nepal, 18 scripts in practice.

बहुभाषिक नेपालमा जुन किसिमको एक जाति एक भाषा, बहुजाति एक भाषा र बहु भाषा एक जातिसहितको तीनवटा जाति–भाषिक संरचना छ, त्यही किसिमको स्थिति लिपिमा देखिन्छ । लिपिमा पनि एउटा भाषा एउटा लिपि, एउटा भाषा धेरै लिपि, धेरै भाषा एउटा लिपि गरी तीन समूहमा विभाजन गर्न सकिन्छ । पहिलो, एउटा भाषा एउटा लिपिका रूपमा ‘रोङ’ लिपि र यो लिपि प्रयोग गर्ने लेप्चा समुदायलाई लिन सकिन्छ । दोस्रो, एउटा भाषा धेरै लिपिका रूपमा तामाङलाई लिन सकिन्छ । तामाङ समुदायले देवनागरी, सम्भोटा, तामयिग गरी तीन किसिमको लिपि प्रयोग गर्दै आएको पाइन्छ ।

गुरुङ (तमू) पनि यो समूहभित्र पर्छ । किनभने गुरुङले खेमा, रोमन र देवनागरी लिपिलाई प्रयोग गर्छन् । नेवाः भाषा लेखनका लागि रञ्जना, प्रचलित, कूटाक्षर, भुजिमोल, कुम्मोल, क्वेमोल, गोलमोल, पाँचुमोल, हिँमोल, लितुमोल गरी ९ वटा लिपिको प्रयोग हुन्छ (हेमराज शाक्य, २०३०) । यसका बाबजुद नेपाल भाषा देवनागरी लिपिमा पनि लेखिँदै आएको छ । तेस्रो हो– धेरै भाषा, एउटा लिपि । यसको उदाहरण देवनागरी लिपिलाई लिन सकिन्छ । यो लिपि २०० भन्दा बढी भाषाहरूका लागि प्रयोग हुने गरेको छ । त्यसैगरी अरबिक लिपि उर्दू, पास्तु र कुर्दहरूले प्रयोग गर्ने गर्छन् भने बाङ्ला लिपि पनि धेरै भाषी समुदायले प्रयोग गर्ने गर्छन् । यसले के कुरा पुष्टि गर्छ भने भाषा हुनेबित्तिकै त्यसको आफ्नै लिपि भएको देखिँदैन ।

प्रचलनमा आएका लिपिहरू

नेपालमा प्रचलनमा आएका कतिपय लिपि खास ऐतिहासिक कालखण्डमा सीमित छन्, केही अद्यावधि प्रयोगमै छन्, केहीचाहिँ दशकअघि मात्रै निर्माण गरिएका छन्।लिपि–अध्येता काशीनाथ तमोट (२०७४) नेपालमा विकसित लिपिहरू अशोका–ब्राम्ही लिपिकै प्रभावबाट विकसित भएका हुन् भन्ने तर्क राख्छन् । भारतको पूर्वी तथा पूर्वोत्तर क्षेत्रमा प्रचलित कुटिला लिपिको ८–१०औं शताब्दीतिर स्थानीय भेद देखिन थाले । ती भेदले आधुनिक लिपिहरूको जन्म दियो । ती लिपिले जहाँ–जहाँ स्थानीय रूप लिए, तिनको नाम त्यही–त्यही स्थानको नामबाट चिनिए । त्यसो हुँदा बङ्गाल–गौडमा विकसित लिपिलाई बङ्गाली–गौडी, देवनगर (पटना) केन्द्रमा विकसित लिपिलाई देवनागरी, मिथिला–तिरहुतमा विकसित लिपिलाई मैथिली वा तिराहुती, त्यस्तै नेपालमण्डलमा विकसित लिपि नेपाल लिपि वा नेवाः लिपि भयो । बङ्गाली, देवनागरी, मैथिली, नेवाः लिपि भगिनी लिपि हुन् । यिनमा केही मात्रामा लिपिगत समानता हुनु वंशानुगत हो । नेवाः भाषा प्रयुक्त लिपि अशोका–ब्राम्हीको निरन्तरता भएको भए पनि यो ई.पू. तेस्रो शताब्दीमा विकास भएको हो । 

नेपालमा प्रचलनमा आएका कतिपय लिपिहरू खास ऐतिहासिक कालखण्डमा सीमित भएको देखिन्छ भने केही लिपि अद्यावधि प्रयोगमा छन् । केही प्राचीन छन् भने केही लिपि केही दशकअघि मात्रै निर्माण गरिएका छन् ।

भाषाशास्त्री चूडामणि बन्धु (२०७४) ले नेपालमा देवनागरी, नेवाः, सिरिजङ्गा (किरात सिरिजङ्गा) मिथिलाक्षर, कैथी, सम्भोटा, अक्खा, ओलचिकी, तामयिग, रोमन र उर्दू लिपि प्रचलनमा रहेको बताएका छन् । त्यसैगरी अमृत योन्जन–तामाङले अशोका ब्राम्ही, सम्भोटा, देवनागरी, बाङ्ला, नेवाः, मिथिलाक्षर/तिरहुता लिपि, कैथी, गुरुमुखी, सिरिजङ्गा, रोङ, कोइँच, खेमा, ओलचिकी, अरबी, ल्याटिन १५ वटा लिपिहरू रहेको बताएका छन् (नेपालका भाषाहरू, २०८०) । मगर भाषाका लागि प्रयोग हुँदै आएको आक्खारिका लिपिलाई भने उनले अशोका–ब्राम्ही लिपिमा समावेश गरेका छन् । एमएस थापाले चालीसको दशकमा सुरु गरेको लिपिलाई मगर समुदायले भने छुट्टै लिपि पहिचानका रूपमा प्रयोग गर्दै आएको देखिन्छ ।

माथि नसमेटिएका आक्खा लिपि, तामयिग र थप ब्रेल लिपिसमेत गर्दा नेपालमा १८ वटा लिपि प्रचलनमा छन् । यद्यपि कुन–कुन मौलिक लिपि हुन् र कुन–कुन एकअर्कासँग हु–बहु छन् भन्ने विषयमा फरक बहस आवश्यक छ । १८ वटा लिपिबारे निम्नानुसार संक्षिप्त रूपमा चर्चा गरिएको छ ः

१) अशोका–ब्राम्ही– सम्राट् अशोक मौर्यले विक्रमको चौथो शताब्दीमा ब्राम्ही लिपि चलाएकाले यस लिपिलाई अशोका–ब्राम्हीका रूपमा चिनिन्छ । उनले लुम्बिनी र कपिलवस्तुलगायत भारतका विभिन्न प्रान्तमा स्तम्भ लेखाए । हालसम्म ३१ वटा स्तम्भ प्राप्त छन् (दिनेशचन्द्र रेग्मी, नेपालका लिपिहरूको अध्ययन, २०७९) ।

२) सम्भोटा लिपि– तिब्बतका सम्राट् स्रङ्चङ गोन्पोले थोन्मीलाई लिपि अध्ययनका लागि सन् ६३२ मा भारत पठाएका थिए । उनले सात वर्षसम्म भारतमा बसेर लिपिहरूको अध्ययन गरी स्वदेश फर्केर त्यस समयमा भारतमा प्रचलित गुप्त लिपि (चौथो शताब्दितिर विकसित) बाट सम्भोटा लिपिको विकास गरिएको मानिन्छ । यो लिपिलाई अनुकूलन गरेर हिमाली समुदायमा रहेका भाषाहरू लेखिन्छन् (अजितमान तामाङसँगको कुराकानी) ।

३) देवनागरी लिपि– १२ औं शताब्दितिर भारतको देवनगरमा विकास भएको यो लिपि अशोका–ब्राम्ही लिपिबाट नन्दीनागरी र नागरी हुँदै देवनागरी लिपिको विकास भएको हो । देवनागरी लिपिलाई अनुकूलन गरी नेपालका चार दर्जन बढी भाषाहरूमा प्रयोग गरिन्छ ।

४) बाङ्ला लिपि– ११ औं शताब्दीमा ब्राम्हीबाट विकसित भएको लिपिमा बङ्गला भाषा लेखिन्छ ।

५) नेवाः लिपि– ब्राम्ही लिपिबाटै विकसित यो लिपिअन्तर्गत रञ्जना, प्रचलित, भुजिँमोल, कुँमोल, क्वेँमोल, गोलमोल, पाचुमोल, हिँमोल, लितुमोल गरी ९ वटा लिपिहरू विकसित भएको देखिन्छ । नेवाः लिपिभित्र पनि रञ्जना लिपि कलात्मक र आकर्षक देखिने हुनाले धर्म ग्रन्थ, अभिलेख, बोर्ड लेखन आदिमा प्रयोग भएको पाइन्छ । नेवाः लिपि शीर्षकमा यो लिपिको युनिकोडीकरण भएको छ ।

६) मिथिलाक्षर/तिरहुता लिपि– बङ्गला, आसामी र उडिया लिपिको नजिक मानिने यो लिपि १३ औं शताब्दीमा विकास भएको हो । अवधी, अंगिका, भोजपुरी, मगही आदि भारोपेली मूलका भाषाहरू लेखिन्थे ।

७) गुरुमुखी लिपि– दोस्रो गुरु अंगदद्वारा १६ औं शताब्दीमा विकसित यो लिपिमा पञ्जावी भाषा लेख्ने गरिन्छ । यो लिपि पनि ब्राम्ही लिपिबाटै विकसित भएको हो ।

८) किरात सिरिजङ्गा लिपि– तेओङ्सि सिरिजङ्गा (सन् १७०४–१७४१) ले १८ औं शताब्दीमा सुरु गरेको यो लिपि मूलतः याक्थुङ/लिम्बूहरूले पनि प्रयोग गर्छन् । यद्यपि किरातजन्य संस्थाहरूले सबै किराती भाषा (३१ वटा भाषाहरू) का लागि हुने गरी समायोजन गरेपछि विभिन्न किराती भाषाहरूमा यो लिपिको प्रयोग विस्तार भइरहेको छ (किरात सिरिजङ्गा लिपि समायोजन कार्यदलको प्रतिवेदन, २०७८) ।

९) रोङ लिपि– १८ औं शताब्दीको प्रारम्भमा सिक्किमका राजा नाम्ग्यालले विकास गरेको यो लिपि पूर्वी नेपालको इलाममा रहेको लेप्चा समुदायले प्रयोग गर्छन् ।

१०) ओल–चिकी लिपि– भारतका रघुनाथ मुर्मुद्ले सन्थाली भाषाका लागि विकास गरेको लिपि हो । सन् १९३९ मा सार्वजनिक गरिएको यो लिपि नेपालमा सन्थाल भाषाका लागि प्रयोग हुने गरेको छ ।

११) अरबी लिपि– उर्दूलगायतका दर्जनौं भाषा यस लिपिमा लेखिन्छन् ।

१२) कैथी लिपि– १६ औं शताब्दीतिर यस लिपिको विकास भएको मानिन्छ । यो लिपिमा अङ्गीका, अवधी, भोजपुरी, मगहीलगायतका भाषा लेख्ने गरिन्छ ।

१३) ल्याटिन/रोमन लिपि– सातौं शताब्दीमा यो लिपिलाई अनुकूलन गरेर अङ्ग्र्रेजी, फ्रान्स, जर्मनी लगायतका सयौं युरोपेली र अन्य मुलुकका भाषाहरू लेखिन्छन् ।

१४) कोइँच लिपि– यो कोइँच–सुनुवार भाषाको लिपि हो । कर्णबहादुर सुनुवार (१९२६–१९९१) ले सन् १९४२ मा यस लिपिको विकास गरेका हुन् ।

१५) खेमा लिपि– वि.सं. २०४२ मा स्याङ्जा क्होलसराका खेगी पिमबहादुर गुरुङले तयार गरेको यो लिपिमा गुरुङ (तमू) भाषा लेख्ने गरिन्छ ।

१६) अक्खा– एमएस थापाले सन् २०४९ सालमा प्राचीन मगर र अक्खा लिपि पुस्तक प्रकाशन गरेपछि अक्खा लिपि प्रचलनमा आएको देखिन्छ । यो लिपिबारे विभिन्न मतहरू रहँदै आएको छ । मातृभाषा अभियन्ता विष्णु कुमार सिँजालीले यो लिपि मूलतः मगर ढुटका लागि अनुकूलन गरिएको भए पनि मगरभित्र रहेका खाम, काइके, तिछुरुङ–पोइके लगायतका भाषाहरूका लागि भने अनुकूलन र विकास गर्नुपर्ने औंल्याए ।

१७) तामयिग लिपि– अुछेन (सम्भोटा) लिपिलाई तामाङ भाषामा अनुकूलन गरी प्रयोगमा ल्याइएको भए पनि यो विषयमा बहस हुँदै आएको छ । ‘गोरखापत्र’ मा तामाङ भाषाको सामग्री भने यही लिपिमा प्रकाशन हुने गरेको छ ।

१८) ब्रेल लिपि– दृष्टिविहीनहरूका लागि यो लिपि प्रयोग हुने गरेको छ भने नेपालमा यो लिपिको माध्यमबाट पठनपाठन हुने गरेको छ ।

लिपि प्रयोगमा चासो र पुनर्जागरण

पछिल्लो चरण लिपिलाई पहिचानको सूचकका रूपमा लिन थालिएको छ । विशेषगरी संविधानतः गठित भाषा आयोगले प्रदेशको सरकारी कामकाजको भाषा सिफारिस गरेपछि भाषासँगै लिपिको बहस पनि सुरु भएको छ । सिफारिस भएका हरेक भाषाको छुट्टै लिपि हुनुपर्ने त्यस्तो कुनै कारण नभए पनि यो विषय भाषिक समुदायमा अलि बढी मुखरित हुँदै गएको देखिन्छ । जबकि एउटै लिपिलाई विभिन्न भाषामा अनुकूलन गर्न सकिने प्रशस्तै दृष्टान्त छन् । तर, के चाहिँ सत्य हो भने लिपिबारेको चासो, पुनर्उत्थान र विस्तार गर्ने कुराले पुनर्जागरण काल सुरु भएको आभास दिलाउँछ ।

काठमाडौं महानगरपालिकाले रञ्जना लिपिको प्रयोग गरेर लेटर प्याड, साइनबोर्ड आदिको प्रयोग गर्न थालेपछि यसले उत्साह थपेको छ । स्थानीय पाठ्यक्रममा समेत रञ्जना लिपिलाई समावेश गरिएको छ । रञ्जना लिपि नेपालको मौलिक लिपि भएको बारे तर्क गर्दै आहुति लेख्छन्, ‘नेपालमा सरकारी चलनचल्तीमा देवनागरी लिपि चलाइन्छ, तर राष्ट्रसंघको सदस्यता लिँदा नेपालले आफ्नो मौलिक लिपिका रूपमा नेपाल भाषामा प्रयोग गरिँदै आएको रञ्जना लिपि प्रस्तुत गरी आफू अलग राष्ट्र भएको दाबी गरेर सदस्यता लियो (आहुति, २०८२, सेतापाटी) । तर, सदस्य राष्ट्र बन्नका लागि पेस गरिएको आधिकारिक अभिलेख भने फेला परेको छैन ।

बागमती प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा तामाङ र नेपाल भाषा कार्यान्वयनमा आएपछि नागरिक बडापत्रहरूमा समेत लिपिको प्रयोग हुन थालेका छन् । त्यसैगरी अरुणपूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम आदि जिल्लाहरूमा किरात सिरिजङ्गा लिपिलाई स्थानीय सरकारले लेटरहेड र साइनबोर्डहरूमा प्रयोग गर्दै आएको छ । आदिवासी जनजाति आयोगले केही दिनअघि आयोगको स्थापना दिवसको सन्दर्भमा किरात सिरिजङ्गा लिपिलाई लेटरहेडमा प्रयोग गर्नुका साथै मातृभाषाको संरक्षणमा योगदान गरेबापत हलेसी तुवाचुङ नगरपालिकालाई सम्मानपत्र नै प्रदान गर्‍यो । त्यसो त अन्य लिपिहरूको पनि प्रयोग र विस्तार हुन थालेको छ । सन् १९५० पछि मैथिली भाषा देवनागरी लिपिमा लेखिन थालेको भए पनि पुनः यो लिपिमा लेखन प्रयास भइरहेको छ ।

There are 124 languages ​​in Nepal, 18 scripts in practice.

लिपिको प्रयोग ‘गोरखापत्र’ सम्म विस्तारित भएको छ । ‘नयाँ नेपाल बहुभाषिक पृष्ठ’ मा अरबिक लिपि (उर्दू भाषा), रञ्जना लिपि (नेपाल भाषा), अुछेन/सम्भोटा लिपि (मुगाल भाषा), सम्भोटा लिपि (ल्होमी र शेर्पालगायत), किरात सिरिजङ्गा लिपि (याक्थुङ/लिम्बू), तामयिग लिपि (तामाङ भाषा) लगायत आधा दर्जन लिपि प्रयोगमा आएका छन् ।

चुनौती बन्दै डिजिटल प्रविधि

आजको प्रविधि युग र भूमण्डलीकरणले लिपिलाई युनिकोड प्रणालीमा लैजानैपर्ने चुनौती थपिदिएको छ । युनिकोड भनेको कम्प्युटरले चिन्ने गरी तयार गरिएको कुनै पनि लिपिको विशेष कोड हो । विश्वव्यापी रूपमा युनिकोड कन्सोर्टियमले यसको व्यवस्थापन गर्छ । कुनै लिपि वा भाषाको युनिकोड तयार भएपछि उत्पादन हुने सबै डिभाइसले त्यसलाई सपोर्ट गर्छ । देवनागरी, रञ्जना, सम्भोटा, बाङ्ला, रोङ, कोइँच, ओल–चिकी, अरबी, ल्याटिन/रोमन जस्ता लिपिहरू युनिकोड प्रणालीमा गइसकेका छन् भने बाँकी लिपिहरू युनिकोड प्रणालीमा प्रवेश गर्ने चरणमा छन् ।

दोस्रो, कतिपय प्रचलनमा रहेका लिपिहरूलाई थप वैज्ञानिक बनाउने कुरा पनि चुनौतीको विषय बनेको छ । एउटा लिपि अन्य विभिन्न भाषाका लागि अनुकूलन गर्न सकिन्छ । तर, एउटा भाषाको वर्णविन्यास अर्को भाषाको वर्ण विन्याससँग मिल्दैन । त्यसैले ध्वनि–वैज्ञानिक अध्ययन भइसकेका कतिपय भाषामा वर्ण विन्याससँग तामेली हुने गरी अनुकूलन गर्नु आवश्यक छ ।

त्यसो त यसप्रति केही चासो बढ्दै पनि गएको छ । उदाहरणका लागि ३१ वटा किरातजन्य भाषाका लागि मौजुदा अवस्थामा रहेको लिपि चिह्नलाई जस्ताको तस्तै प्रयोग गर्ने गरी अपुग वर्णहरू थप गरी किरात सिरिजङ्गा लिपिलाई अनुकूलन गरिएको छ । यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले एउटा कार्यदल नै गठन गरी नेपालका भाषाहरूको वर्ण व्यवस्थालाई आधार मानेर साझा वर्णमाला तयार पारेको छ भने छुट्टै फन्टको समेत विकास गरेको छ ।

लिपिहरू प्राविधिक विषय मात्रै होइनन् । भूत, वर्तमान र भविष्यलाई जोड्ने धागाहरू पनि हुन् । अर्को अर्थमा भन्ने हो भने संस्कृतिका ‘डीएनए’ हुन्, जसले स्मृति, पहिचान र निरन्तरतालाई बोकेको हुन्छ । लिपि गुमाउनु भनेको आफूलाई गुमाउनु हो । तिनीहरूको रक्षा गर्नु नेपालको सांस्कृतिक विविधताको सम्मान गर्नु हो ।(राई त्रिवि भाषा विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक हुन्)

तारामणि

Link copied successfully