'हामी सबै डिजिटल उपनिवेशवादको सिकार’

विश्वभर नै ‘जेन्डर’ र ‘रेस’ लाई हतियार बनाएर समाजमा विभाजन ल्याइँदो रहेछ, उनीहरूले मेरो रूपरंगको मजाक उडाए, जब उनीहरूले ममा भ्रष्टाचार वा अन्य कुनै खोट भेटाएनन् त्यसपछि छालाको रोग (एक्जेमा) लाई निसाना बनाए, उनीहरूले हरेक तस्बिरमा मेरो छालालाई अझ भद्दा बनाए।

मंसिर १३, २०८२

मारिया रेसा

'We are all victims of digital colonialism'

What you should know

सबैभन्दा पहिले, म यहाँ उपस्थित सबैलाई धन्यवाद दिन चाहन्छु । आज म यहाँ तपाईंहरूकै अगाडि उभिन पाउनु र जेल बाहिर रहनुको मुख्य कारण नै तपाईंहरूले देखाउनुभएको ऐक्यबद्धता हो । यदि ‘ह्यासट्याग होल्ड द लाइन अभियानमा ८० भन्दा बढी संस्थाहरू, सीपीजे, आरएसएफ, आईसीएफजेलगायतले साथ नदिएको भए र्‍यापलर आज जीवित हुने थिएन र सायद म पनि स्वतन्त्र हुने थिइनँ । त्यसैले, संसारको जुनसुकै कुनामा आक्रमणमा परेका हरेक पत्रकारका लागि हामीले यो शक्ति सञ्चित गर्न जरुरी छ । 

आज म दुई विषयमा जोड दिन चाहन्छु— आमूल सहकार्य र सिर्जना । 

हामीले चिने–जानेको पुरानो संसार अब लगभग ध्वस्त भइसकेको छ । सबैथोक भत्किएको यो अवस्थामा हामी चुप लागेर बस्न सक्दैनौं । हामीले नयाँ सिर्जना गर्नैपर्छ । यदि हामीले आमूल सहकार्य र सिर्जना गरेनौं भने, मलाई डर छ कि अबको एक वर्षभित्रै विश्वका धेरैजसो साना तथा मझौला समाचार संस्थाहरू बन्द हुनेछन् ।

हाम्रो लडाइँ सरकारसँग मात्र होइन । म र्‍यापलरको न्युजरुमको उदाहरण दिन चाहन्छु । मनिलामा हामी झन्डै १ सय २० जना छौं । मेरा सहसंस्थापक ग्लान्डा र हाम्रा साहसी पत्रकारहरूले नै र्‍यापलरलाई हाँकिरहेका छन् । मैले त केवल यसलाई खस्न नदिन हात मात्र उठाएकी हुँ, तर भार थाम्ने काम उनीहरूले गरेका छन् ।

हाम्रा शत्रुहरू ती दमनकारी सरकारहरू मात्र होइनन्, जसले हामीलाई चुप गराउन खोजे । मुख्य समस्या त त्यो प्रविधि हो, जसको बुइँ चढेर यी शासकहरू आएका छन् । त्यो प्रविधि, जसले हाम्रो समाजलाई शाब्दिक रूपमै टुक्रा–टुक्रा पारिदिएको छ । र, दुःखद् कुरा आज हाम्रो जीवनलाई नियन्त्रण गर्ने कुनै पनि प्रविधि ‘तथ्य’ मा आधारित छैन ।

सन् २०१८ मा एमआईटीको अध्ययनले भन्यो– सामाजिक सञ्जालमा सत्यभन्दा झूट ६ गुणा छिटो फैलिन्छ । फिलिपिन्समा हामीले देख्यौं कि अनलाइनमा पुरुषको तुलनामा महिलाहरूमाथि १० गुणा बढी आक्रमण हुन्छ । अनि अहिले ‘जेनेरेटिभ एआई’ आएपछि अवस्था झन् भयावह भएको छ ।

मलाई र र्‍यापलरलाई फिलिपिन्सका तत्कालीन राष्ट्रपति दुतेर्तेको पालामा जसरी अनलाइनमा आक्रमण गरियो, त्यो केवल आलोचना थिएन । त्यो मलाई चुप गराउन गरिएको निरन्तरको प्रहार थियो । यदि आज तपाईंमाथि यस्तै भइरहेको छ भने नडराउनुहोस्, किनकि यो एउटा शैली हो । र, यदि तपाईं पश्चिमा लोकतान्त्रिक मुलुकमा हुनुहुन्छ भने पनि तयार रहनुहोस्, यो आक्रमण तपाईंको दैलोमा आउँदै छ ।

उनीहरूले मेरो रूपरंगको मजाक उडाए । जब उनीहरूले ममा भ्रष्टाचार वा अन्य कुनै खोट भेटाएनन्, मेरो छालाको रोग (एक्जेमा) लाई निसाना बनाए । मलाई सुक्खा छालाको समस्या छ, म भ्रष्ट छैन । तर, उनीहरूले हरेक तस्बिरमा मेरो छालालाई अझ भद्दा बनाएर देखाए । उनीहरूले मविरुद्ध ‘स्क्रोटम फेस’ भन्ने ह्यासट्याग नै बनाए । यो हास्यास्पद लाग्न सक्छ, तर यसको उद्देश्य गहिरो छ– अमानवीयकरण ।

जब उनीहरूले तपाईंलाई मान्छेको दर्जाबाट गिराउँछन्, तब तपाईंको सुरक्षा खतरामा पर्छ । अनलाइन हिंसा सधैं अनलाइन मात्रै रहँदैन, वास्तविक संसारको हिंसामा परिणत हुन्छ । माल्टाकी पत्रकार डाफ्ने कारुआना गालिजियाको हत्या हुनुअघि उनले यस्तै अनलाइन आक्रमण भोगेकी थिइन् । सन् २०१६ मा फिलिपिन्समा दुतेर्ते सत्तामा आएको केही महिनामै हामीले आफ्नो सुरक्षा व्यवस्था ६ गुणाले बढाउनुपर्‍यो । 

मैले फेसबुकलाई सोधें, ‘तिमीहरू के गरिरहेका छौ ?’ उनीहरूको जवाफ थियो, ‘मारिया, तिमी सार्वजनिक व्यक्ति हौ ।’ तब मैले उनीहरूलाई तथ्याङ्क देखाएँ– मलाई प्रतिघण्टा औसत ९० वटा घृणायुक्त सन्देश आइरहेका थिए ।

तथ्यको अन्त्य र लोकतन्त्रको मृत्यु

मैले एक दशकदेखि एउटै कुरा दोहोर्‍याउँदै आएकी छु- तथ्यबिना सत्य हुँदैन । सत्यबिना विश्वास हुँदैन । र, यी सबैबिना हामीसँग साझा यथार्थ हुँदैन । साझा यथार्थबिना हामी जलवायु परिवर्तन जस्तो अस्तित्वको संकट त के सामान्य समस्या पनि समाधान गर्न सक्दैनौं । र, तथ्यबिना लोकतन्त्र बाँच्न सक्दैन ।

स्वीडेनको भी–डेम इन्स्टिच्युटले भनेको छ– आज विश्वको ७२ प्रतिशत जनसंख्या अधिनायकवादी शासन व्यवस्थामा बाँचिरहेका छन् । हामी लोकतान्त्रिक विधिबाटै अनुदार शासकहरू चुनिरहेका छौं, किनकि हामीले बोक्ने प्रविधिले हाम्रो यथार्थलाई नै खण्डित गरिदिएको छ ।

मैले मार्च २०२४ मा मेरो पहिलो ‘डिप फेक’ भिडियो प्राप्त गरें । यदि हाम्रा नागरिकले सत्य र झूट छुट्याउन सकेनन् भने उनीहरू कसरी सही मतदान गर्न सक्छन् ? यो नै आजको मुख्य चुनौती हो । क्याम्ब्रिज एनालिटिकाका ह्विसलब्लोअर क्रिस वाइलीले मसँग भनेका थिए, ‘उपनिवेशवाद मरेको छैन, यो अनलाइनमा सरेको छ ।’

आज हामी ‘निगरानी पुँजीवाद’ र ‘डिजिटल उपनिवेशवाद’ को सिकार भएका छौं । यदि तपाईं महिला हुनुहुन्छ, एलजीबीटीक्यू प्लस समुदायको हुनुहुन्छ, अश्वेत वा ‘ग्लोबल साउथ’ को बासिन्दा हुनुहुन्छ भने तपाईं अनलाइनमा झन् बढी सीमान्तकृत हुनुहुन्छ ।

फेसबुकका लागि पहिलो ठूलो ‘कन्टेन्ट मोडरेटर’ को फौज मनिला र वार्सा (पोल्यान्ड) मा राखिएको थियो । यो डाटा श्रमिकहरूको शोषण हो । एआई सञ्चालनका लागि ठूलो ऊर्जा खपत हुँदै छ, जसले वातावरण बिगार्दै छ । सबैभन्दा महत्त्वपूर्ण– यसले हाम्रो लोकतन्त्र र स्वतन्त्रता नष्ट गर्दै छ । यो वर्ष पत्रकारहरूका लागि सबैभन्दा घातक वर्ष बनेको छ । गाजामा मात्रै २५० भन्दा बढी पत्रकार मारिएका छन् । तर, म तपाईंहरूलाई निराशा मात्रै बाँड्न आएकी होइन, हाम्रो तथ्यांक पनि देखाउन चाहन्छु, किनकि संकट नै अवसर हो ।

सन् २०१६ मा सरकारले हामीमाथि आक्रमण सुरु गर्दा हाम्रो आम्दानी ह्वात्तै घट्यो । विज्ञापनदाताहरू डराए । विज्ञापनबाट चल्ने मिडिया मोडल मरिसक्यो । यदि तपाईं अझै विज्ञापनमै भर पर्नुभएको छ भने, छिट्टै बाटो बदल्नुहोस् ।

हामीले के गर्‍यौं ? पत्रकारिता र प्रविधिलाई अलग गर्‍यौं । हामीले ‘नर्भ’ नामक एउटा छुट्टै टेक कम्पनी खडा गर्‍यौं । यो कम्पनीले त्यही काम गर्छ, जुन हामी खोज पत्रकारहरू गर्छौं– डाटाको विश्लेषण । तर, यसले व्यावसायिक ब्रान्डहरूलाई मद्दत गर्छ । सरकारले हामीलाई बन्द गराउन खोजेको ४ महिनाभित्रै हाम्रो विज्ञापन राजस्व ४९ प्रतिशतले घट्यो, तर हामीले नयाँ प्रविधि र डेटाको मोडल अपनाएर सन् २०१९ मा (जुन वर्ष मविरुद्ध ११ वटा पक्राउ पुर्जी जारी भएका थिए) र्‍यापलरलाई नाफामा लग्यौं । त्यसैले म भन्छुः यदि तपाईं आक्रमणमा हुनुहुन्छ भने, नरोकिनुहोस् । आफ्नो लक्ष्य समात्नुहोस् र हिँडिरहनुहोस् ।

भाष्यको युद्ध र वास्तविकताको विघटन

हामीले आफूमाथि भएको आक्रमणको अध्ययन गर्‍यौं । हामीले के पायौं भने विश्वभरै ‘जेन्डर’ (लैंगिकता) र ‘रेस’ (जाति/वर्ण) लाई हतियार बनाएर समाजमा विभाजन ल्याइँदो रहेछ । रुसले सन् २०१४ मा क्रिमिया कब्जा गर्दा जुन भाष्य तयार पारेको थियो, ८ वर्षपछि युक्रेनमा पूर्ण आक्रमण गर्दा त्यही भाष्य प्रयोग गरियो । यसलाई हामी ‘अवसरवादी प्रवर्द्धन’ भन्छौं ।

पहिले झूटको बीउ रोपिन्छ । त्यसलाई ‘इको चेम्बर’ मा हुर्काइन्छ । अनि जब कुनै संकट आउँछ, त्यो झूटलाई सत्यका रूपमा स्थापित गरिन्छ । बेलायतको साउथपोर्ट दंगा हेर्नुहोस् वा अमेरिकाको ‘स्टप द स्टिल’ अभियान– सबैको ढाँचा उस्तै छ ।

हामीले कोलम्बिया विश्वविद्यालयसँग मिलेर एउटा रिपोर्ट तयार पारेका छौःं ‘ट्रम्प २.० को पहिलो १०० दिनः भाष्यको युद्ध र वास्तविकताको विघटन ।’ यसको निष्कर्ष डरलाग्दो छ । अब राजनीतिक वैधता नीतिगत बहसबाट होइन, बरु आ–आफ्नो छुट्टै यथार्थमा अन्धभक्त भएर प्राप्त गरिन्छ । शासकहरूको उद्देश्य नै लोकतान्त्रिक ‘चेक एन्ड ब्यालेन्स’ भत्काउनु हो ।

निराश नहुनुहोस्, किनकि हामीसँग समाधान पनि छन् । हामीले ‘नाफाका लागि निगरानी’ बन्द गर्नुपर्छ । जब बायो–टेक र इन्फो–टेक जोडिन्छन्, त्यो ‘बिग ब्रदर’ भन्दा खतरनाक हुन्छ । हामीले सीमान्तकृत समुदायलाई अनलाइनमा झन् सीमान्तकृत हुनबाट जोगाउनुपर्छ । र, पत्रकारितालाई निरंकुशताको एन्टिडोजका रूपमा स्थापित गर्नुपर्छ । 

हामीले ‘ग्लोबल साउथ’ का मिडियालाई बचाउन एउटा अन्तर्राष्ट्रिय कोष खडा गरेका छौं । दाताहरूलाई मेरो आग्रह छ– यही नै सही समय हो । यदि अहिले लगानी गर्नुभएन भने, अर्को वर्षसम्म धेरै ढिलो भइसक्नेछ । 

हामीले फिलिपिन्समा १५० भन्दा बढी संस्थाको गठबन्धन ‘फ्याक्ट्स फर्स्ट पीएच’ बनायौं । हामीले बुझ्यौं कि तथ्य मात्रै राखेर हुँदैन, त्यसमा भावना पनि चाहिन्छ । तर घृणा होइन, प्रेरणा । हामीले देख्यौं कि प्रेरणा पनि घृणा जत्तिकै छिटो फैलिन्छ । र, सबैभन्दा महत्त्वपूर्ण– हामीले अब ‘बिग टेक’ को प्लेटफर्ममा मात्रै भर पर्नु हुँदैन, आफ्नै प्रविधि बनाउनुपर्छ । हामीले ‘म्याट्रिक्स प्रोटोकल’ प्रयोग गरेर एउटा यस्तो ‘च्याटरुम’ बनाएका छौं, जहाँ वास्तविक मानिसहरूले वास्तविक मानिसहरूसँग कुरा गर्न सक्छन्, बिनाकुनै एल्गोरिदमको हेरफेर ।

कल्पना गर्नुहोस् ः र्‍यापलरको पाठक र मलेसियाकिनीको पाठकले फेसबुक वा गुगललाई आफ्नो डाटा नदिईकन एकआपसमा कुरा गर्न सक्नेछन् । यो नै ‘डिजिटल सार्वभौमिकता’ हो । मेरो सपना छ कि विश्वभरका समाचार संस्थाहरूको एउटा महासंघ बनोस् जसले आफ्नै प्रविधि प्रयोग गरोस् ।

अन्त्यमा, म तपाईंहरूलाई त्यही प्रश्न सोध्न चाहन्छु जुन मैले ३ वर्षअघि नोबेल पुरस्कार थाप्दा सोधेकी थिएँ– सत्यका लागि तपाईं के त्याग गर्न तयार हुनुहुन्छ ? यो सूचनाको शुद्धताको लडाइँ हो । यो सबै लडाइँहरूको जननी हो । हामीसँग समय कम छ । तर, यदि हामीले ‘आमूल सहकार्य’ गर्‍यौं र नयाँ ‘सिर्जना’ गर्‍यौं भने जित्न सक्छौं ।

मारिया नोबेल पुरस्कार विजेता पत्रकार मारिया रेसा फिलिपिन्सको सञ्चारमाध्यम र्‍यापलरकी सीईओ हुन् । मलेसियामा आयोजित ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिजम कन्फ्रेन्स– २०२५ मा उनले दिएको मन्तव्यका आधारमा यो लेख तयार गरिएको हो ।

Link copied successfully