बजेटमा कर्णालीका पूर्वाधार विकासलाई प्राथमिकता

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला–मुगु–गमगढी सडकका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

जेष्ठ १५, २०८३

कृष्णप्रसाद गौतम

Karnali's infrastructure development prioritized in budget

What you should know

सुर्खेत — संघीय सरकारले आगामी वर्षको बजेटमा कर्णाली प्रदेशको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला–मुगु–गमगढी सडकका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए । कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मुल्साङदेखि जुम्लाको टोप्ला र चिसापानी–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्री वाग्ले बताए । 

बजेटमा कर्णाली करिडोरमा ३१ किलोमिटर ग्राभेलसहित कालोपत्र र कालीगण्डकी तथा कोशी करिडोरका लागि ६ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ । अर्थमन्त्री वाग्लेले मध्यपहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, जुम्ला हुँदै रारा र फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जडीबुटी, जलविद्युत्, पर्यटन र खानीजन्य क्रियाकलापलाई प्रश्रय पाउने व्यवस्था मिलाइएको बताए । उनका अनुसार भेरी बबई डाईभर्सन आयोजनासहितका राष्ट्रिय गौरवका सिँचाइ आयोजनाका लागि साढे ५ अर्ब छुट्याइएको छ । दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक काम गर्न बजेटको व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

सरकारले सुर्खेतसहित अन्य ६ वटा सहरमा कम्तीमा २ हजार क्षमताको इन्डोर मल्टिप्रपोज स्टेडियम अगामी ३ वर्षभित्र निर्माण गर्ने घोषणा गरेको छ । त्यस्तै, कर्णाली प्रदेशमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने, नलगाड र बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने, कर्णालीमा स्याउ र ओखर जोन स्थापना गर्ने, हिल्सामा पशु क्वारेन्टिन तथा कर्णालीमा जडीबुटी उत्पादन केन्द्र स्थापना गर्न बजेटको व्यवस्था मिलाइएको छ । सुर्खेतमा दसौं राष्ट्रिय खेलकुदका लागि भौतिक संरचना बनाउन आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए । उनका अनुसार सुर्खेत र मुगुको रारा विमानस्थलको स्तरोन्नतिका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।  

यो सरकारले पनि अघिल्ला सरकारले जस्तै कर्णालीमा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन पिताम्बर ढकालले बताए । ‘जति अपेक्षा थियो, त्यहीअनुसार बजेटमा सम्बोधन भएन,’ उनले भने, ‘नयाँ ठूला योजना केही आएनन्, पुराना योजनाहरुमा पनि बजेट नखुलाई सम्बोधन गरियो, जसले कर्णालीको जीवनस्तर बदल्ने छाँट खासै देखिएन ।’ कर्णालीका लागि जे आशा गरिएको हो त्यो अपेक्षा बजेटले पूरा गर्न नसकेको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले बताए । ‘अधिकांश योजनाको बजेट सार्वजनिक भएको छैन, कर्णालीको रुपान्तरणका लागि कुनै नयाँ र ठूला रणनीतिक आयोजना पनि अटाएको पाइएन,’ उनले भने, ‘बजेटमा कर्णालीका धेरै जिल्लालाई छुटाइएको छ, जसले कर्णालीको समृद्धिमा खासै असर पार्ने देखिएन ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully