कर्णालीका सबै मतदान स्थलमा पुगे निर्वाचन कर्मचारी

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ९४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्र छन्‌ । यहाँ १० लाख ३७ हजार २५० मतदाता छन् ।

फाल्गुन १९, २०८२

तृप्ति शाही

Election officials reached all polling stations in Karnali

वीरेन्द्रनगर — प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने गरी कर्णाली प्रदेशका सबै मतदानस्थलमा कर्मचारीहरू पुगेका छन् । सोमबर प्रदेश निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री लिएर गएका कर्मचारीहरू मतदानस्थल पुगिसकेको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरूङले जानकारी दिए । मतदान अधिकृत, सहायक मतदान अधिकृतसँगै अन्य कर्माचारी र सुरक्षाकर्मीहरू निर्वाचनको सामान लिएर गएकोमा सम्बन्धित ठाउँमा पुगिसकेका गुरूङले बताए ।

निर्वाचन गराउन खटिएका उनीहरूले ५१ प्रकारका सामग्रीहरू लिएर गएका छन् । आइतबर मतदान अधिकृतको टोलीले सबै सामान रुजु गरेको र सोमबर बिहानदेखि ती सामग्रीहरु बुझेर कार्यक्षेत्रमा खटिन सुरु गरेको प्रदेश निर्वाचन अधिकारी गुरुङ जानकारी दिए । 

निर्वाचनमा खटिने कर्मचारीहरूले मतपत्र, मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, रङ, डोरी, स्टेप्लर, लाहा, सिल गर्ने डोरीलगायतका ५१ प्रकारका सामग्रीहरु लिएर मतदास्थल गएका हुन् ।

कर्णालीका दुर्गम हिमाली क्षेत्रमा भने हेलिकोप्टरबाट मतदान सामग्री र कर्मचारीहरू पुगेका छन् । उनले भने, 'हुम्लाका ८ मतदान केन्द्र, डोल्पाका २० मतदान केन्द्र र मुगुका ३ मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारीहरूलाई हेलिकोप्टरबाट पठाइएको छ ।'

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ९४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्र छन्‌ ।  यहाँ १० लाख ३७ हजार २५० मतदाता छन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully