कांग्रेसको चुनाव चिन्हमा एमाले नेता उम्मेदवार

मंसिर २, २०८१

महेश केसी

UML leader candidate on Congress election symbol

रुकुम पश्चिम — रुकुम पश्चिममा एउटा वडा र रुकुम पूर्वमा एक गाउँपालिका उपाध्यक्ष र एक वडाध्यक्षका लागि आइतबार मनोनयन दर्ता भएको छ । 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र २ नं. वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ भने रुकुम पश्चिममा सानीभेरी गाउँपालिका-५ मा वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको हो । 

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए । उनका अनुसार कांग्रेसका तर्फबाट केसकुमारी तुलाचन, माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा र एकीकृत समाजवादीका तर्फबाट सुनिता बुढा मगर, तथा स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहोनभक्त बुढा, भीमकुमारी पुन र सुर्यदेवी सुनारले उम्मेदवारी दर्ता गराएका छन् । 

कांग्रेसबाट उम्मेदवार बनेकी तुलाचन एमालेकी जिल्ला उपसचिव हुन् । एमाले र कांग्रेसको चुनावी तालमेल हुने भएपछि उनले कांग्रेसको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गरेको रुकुम पूर्वका एमाले अध्यक्ष लिलामणि गौतमले बताए । 

त्यस्तै, वडा नं. २ को अध्यक्षका लागि माओवादी केन्द्रका तर्फबाट जगत घर्ती, एमालेका तर्फबाट जीवन रोका र स्वतन्त्रका तर्फबाट शुक्रराज विकले उम्मेदवारी दिएको बताइएको छ ।

सानीभेरी गाउँपालिका-५ मा वडाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद वस्यालले जानकारी दिए। उनका अनुसार कांग्रेसका तर्फबाट मोतिराम खत्री, माओवादी केन्द्रका तर्फबाट जसिराम वस्नेत, एकिकृत समाजवादीका तर्फबाट हंसराज पुरी तथा स्वतन्त्र विरबहादुर वस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय तह उपनिर्वाचन-२०८१उपनिर्वाचन-२०८१उपनिर्वाचन

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully