स्थानीय तह उपनिर्वाचन : कर्णालीमा ८ पदका लागि उम्मेदवार छान्दै दलहरु

कार्तिक २५, २०८१

तृप्ति शाही

Local by-elections: Parties choosing candidates for 8 posts in Karnali

वीरेन्द्रनगर — विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाच हुँदैछ । कर्णालीमा ८ पदका लागि उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । १ गाउँपालिका अध्यक्ष , नगरपालिका उपप्रमुख १, गाउँपालिका उपाध्यक्ष १ र ५ वडाध्यक्ष गरी ८ पदमा कर्णालीका स्थानीय तहमा उपनिर्वाचन हुनेछ ।

दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको हृदयघातका कारण निधन भएपछि महावुमा उपनिर्वाचन हुन लागेको हो । गुरुङ कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि थिए । दुल्लु नगरपालिकाको १३ नम्बर वडामा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको छ । एमालेबाट वडाध्यक्षमा निर्वाचित विर्खबहादुर शाहीको ब्रेन ट्युमरका कारण निधन भएपछि वडाध्यक्ष पद खाली छ । 

जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि उपनिर्वाचन हुँदै छ । नेपाली काँग्रेसबाट उपप्रमुखमा निर्वाचित सरिता सिंहको भूकम्पमा परी निधन भएपछि नलगाडमा उपनिर्वाचन हुन लागेको हो । कुसे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको निधनपछि उक्त पदका लागि निर्वाचन हुन लागेको हो । 

हुम्लाको सर्केगाड गाउँपालिकामा पनि उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । नेकपा माओवादी केन्द्रबाट जितेका चन्द्र सिँह कार्कीको गाडी दुर्घटनामा परी मृत्यु भएपछि पालिका उपाध्यक्षविहीन छ । 

कालीकोटको तिलागुफा नगरपालिकाको ४ नम्बर वडामा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाच हुन लागेको छ । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीको निधनपछि पद खाली छ । 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदैछ । एमालेका तर्फबाट निर्वाचित नन्दलाल रोकाको मृत्युपछि पद खाली छ ।

यस्तै रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदै छ । २०७९ मा कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष अलबहादुर खत्रीको जन्डिसका कारण निधन भएको थियो । 

उम्मेदवारको टुंगो लगाउँदै दलहरु

उपनिर्वाचनको मिति नजिकिन थालेसँगै दलहरु उम्मेदवार टुंगो लगाउँदै छन् । कांग्रेसले दैलेखको महावु गाउँपालिकाको अध्यक्षमा झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशमबहादुर शाहीलाई उम्मेदार बनाउने कांग्रेसले जनाएको छ । 

यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारका लागि इन्द्राचन्द सिंह र कुशे गाउँपालिका–७ को वडाध्यक्षको उम्मेदवारमा खम्बबहादुर सिंहको नाम कांग्रेसले टुंग्याएको छ । 

यस्तै हुम्लाको सर्केगाड–८ राहदेवकी सविता बुढालाई कांग्रेसको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला उपसभापति वसन्त रोकायाले बताए ।

नेकपा एकीकृत समाजवादीले महाबु गाउँपालिकाको अध्यक्षको लागि जंगबहादुर शाहीको नाम टुंग्याएको छ । माओवादी केन्द्रले पनि उम्मेदार छनौटका लागि काम गरिरहेको प्रदेश उपाध्यक्ष कृष्ण जिसीले बताए । उनका अनुसार अधिकांश ठाउँबाट उम्मेदवारको एकल सिफारिसै आएको छ । बाँकी ठाउँबाट पनि एक्लै सिफारिस आउने उनले बताए । चाँडै उम्मेवदारको टुंगो लाग्ने उनले बताए । 

पालिकाको उम्मेदवारको हकमा प्रदेशले अनुमोदन गर्ने र वडाका लागि पालिकाले सिफारिस गर्ने उनले बताए । नेकपा एमालेले पनि उम्मेदारको नामावली लगभग टुंग्याएको प्रदेश उपाध्यक्ष टेकराज पछाईले बताए ।

स्थानीय तह उपनिर्वाचन-२०८१उपनिर्वाचन-२०८१उपनिर्वाचन

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully