गौरीशंकरमा उम्मेदवारले थाले घरदैलो

कार्तिक २३, २०८१

केदार शिवाकोटी

In Gauri Shankar, the candidates started going door to door

दोलखा — मंसिर १६ गते हुने गौरीशंकर गाउँपालिका उपाध्यक्षको उपनिर्वाचनका लागि दलहरुले घरदैलो सुरु गरेका छन् । कांग्रेसबाट निर्वाचित श्यामसुन्दर तामाङको निधनपछि रिक्त रहेको गाउँपालिक उपाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

मुख्य दलहरुले उम्मेदवारको नाम टुंग्याएर घरदैलो अभियान थालेका हुन् । कांग्रेसले तामाङकी श्रीमती पासादिकी तामाङलाई उम्मेदवार बनाएर चुनावी अभियान थालेको छ ।

यस्तै, एमालेले उमा शेर्पालाई उपाध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार बनाएको छ । एमालेले पनि गौरीशंकर–७ मार्वुबाट चुनावी अभियान थालेको छ ।

यस्तै, माओवादी केन्द्रले निमलेकी शेर्पालाई उम्मेदवार बनाएर चुनावी अभियान थालेको छ । अर्को दल एकीकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाएको छ । मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादी केन्द्रले शेर्पा समुदायका महिलालाई चुनावी मैदानमा उतारेका हुन् ।

चुनावी मैदानमा होमिएका तीनै महिला उम्मेदवार शेर्पा समुदायकै रहेका छन् । मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले भने शुक्रबारसम्म निर्वाचनमा सहभागी हुने या नहुने कुनै निर्णय गरेको छैन । गएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन बनाएर चुनाव लडेका थिए ।

उपनिर्वाचनमा भने मुख्य दलहरु एक्ला-एक्लै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । २०७९ को निर्वाचनमा गौरीशंकर गाउँपालिकामा अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

९ वडा र १२ वटा मतदान केन्द्र रहेको गौरीशंकरमा १५ हजार ३४१ मतदाता छन् । गौरीशंकर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तह उपनिर्वाचन-२०८१

केदार

Link copied successfully