जुम्ला — भारतको उत्तराखण्ड राज्य गौरीकुण्डमा गतबिहीबार आएको पहिरोले बेपत्ता बनाएकाहरूका परिवार चिन्तामा छन् । पहिरोमा परेर जुम्लाका ११, कालीकोटका ३ र अन्य स्थानीय गरेर १९ जना बेपत्ता भएका छन् ।
पातारासी–३ का विजय बोहोराले भने, ‘बेपत्ता भएकाहरूको खोजी सुरु भएको ६ दिन भइसक्यो तर अहिलेसम्म केही फेला परेको छैन । बेपत्ता परिवारहरू बेपत्ता भएकाहरूको पर्खाइमा छन् ।’
भारतीय प्रहरीले बेपत्ता परिवारलाई खोजी कार्यमा संलग्न गराएको छैन । उनले भने, ‘शव भेटिन्छ कि भनेर खोज्न जान थाल्छौं, भारतीय प्रहरीले लैजान मान्दैन ।’ पहिरोमा परेर जुम्लाका अमर बोहोराको ७ जनाको परिवार नै बेपत्ता भएको छ । उनको गाउँ चौरका बमबहादुर बोहोरा र सुखीराम रावत पनि पहिरोमा परी बेपत्ता भएका थिए ।
अहिले अमरको आमा र बमबहादुरका भाइ र सुखीरामकी छोरी र श्रीमती गौरीकुण्डमा अलपत्र परेका छन् । ‘बिहान–बेलुकीको छाक त जेनतेन टरेको छ,’ विजयले भने । पातारासी–२ का चन्द्र कामी र धनराज बुढा पनि उक्त पहिरोमा बेपत्ता भएका छन् । बेपत्ताहरूको शव भेटिएपछि काममा फर्किने उनीहरूको तयारी छ । तर अहिलेसम्म बेपत्ता हुनेहरू भेटिएका छैनन् ।
विजयले कान्तिपुरसँग भने, ‘नेपाल सरकारले खोज तथा उद्धारका लागि कुनै पहल गरेको देखिँदैन । सरकारले गरेको पहलको कुनै महसुस नै भएको छैन ।’ उनले बेपत्ताहरूको खोज तथा उद्धारका लागि प्रभावकारी समन्वय गर्न सरकारसमक्ष मागसमेत गरेका छन् ।
अहिले बेपत्ता भएकाहरूका परिवार एकै स्थानमा बसेका छन् । १५ जना एकै ठाउँमा बस्ने गरेको उनले बताए ।
धन कमाएर परिवार सुखी बनाउने हेतुले भारत छिरेकाहरू बेपत्ता भएपछि जुम्लाको पेरे र चौरगाउँ शोकाकुल बनेका छन् । उनीहरूले स्थानीय विधिअनुसार बेपत्ता भएकाहरूको दाहसंस्कारसमेत गरिसकेका छन् । बेपत्ताहरू त नभेटिने भइसके तर बाँचेकाहरूको उद्धार तथा राहतका लागि पहल गर्न माग गरेका छन् । यसअघि गृह मन्त्रालयले बेपत्ताहरूको खोज तथा उद्धारका लागि समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्र काटिसकेको छ ।
