बागलुङ — वर्षाका कारण खसेको पहिरोले कालीगण्डकी करिडोर र मालढुंगा कुश्मीसेरा सडक अवरुद्ध भएको छ । आइतबार रातीदेखिनै पहिरो खसेर बागलुङ नगरपालिका- १० भकुण्डेको दब्ल्याङ भन्ने स्थानमा सडक सडक अवरुद्ध भएको हो ।
बिहान दूध बोकेर सदरमुकाम आउनुपर्ने जिप तथा अन्य सवारी आउन सकेनन् । जिप चालकहरुले खबर गरेपछि बागलुङ नगरपालिकाको डोजरले पहिरो पन्छाएपनि अहिलेसम्म सडक सञ्चालनमा आउन नसकेको प्रहरीले बताएको छ ।
सडक नचल्दा दजर्नौं सवारी सडकमै अलपत्र छन् । सदरमुकाम आउन दक्षिण बागलुङका बलेवा, जैमिनी र बरेङ देखि आएका यात्री अलपत्र छन् ।
‘पहिरो पन्छाइरहेपनि सडक अझै नखुलेकाले पैदलै आउन बाध्य भयौं’ स्थानीय लक्ष्मी रिजालले भनिन्, ‘सामान भएका यात्री सडकमै अलपत्र छन् ।’ गाडी नआएकोले दूध समेत सडकमै रोकिएको हो । ‘सोमबारको दिन धेरै माग भएको दिन दूध आएको छैन’ स्थानीय व्यावसायी हिरा शर्माले भनिन्, ‘समयमा आइपुगेन भने दुध बिग्रन्छ ।’ बिरामी र कार्यालयको काम विशेषले आएका यात्री पनि सडकमै अलपत्र परेका छन् ।
