अपाङ्गमैत्री भएनन् मतदानस्थल

मंसिर १, २०७९

विप्लव महर्जन

सल्यान — यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सल्यानमा २ सय २ मतदान केन्द्र र १ सय १९ मतदानस्थल रहेका छन् । पछिल्लो समयमा मतदानस्थलसम्म गाडीसमेत पुग्ने गरेका छन् तर मतदानस्थल पूर्णरुपमा अपाङ्गमैत्री हुन सकेका छैनन् ।

जिल्लाका अधिकांश मतदानस्थल विद्यालय क्षेत्रमा भएका र ३–४ दशकअघि निर्माण गरेका संरचना कामचलाउ मात्र भएकाले मतदानस्थल अपाङ्गमैत्री हुन नसकेको हो । 

जिल्लामा अहिले अपाङ्गता भएकाहरूको संख्या ६ हजारभन्दा बढी रहेका छन् । त्यसमध्ये क र ख वर्गका २ हजारभन्दा बढी छन् । मतदानस्थल अपाङ्गमैत्री नहुँदा क र ख वर्गका बढी समस्यामा पर्दै आएका छन् । जिल्लाका अधिकांश मतदानस्थल भएका क्षेत्रसम्म गाडी पुग्ने भए पनि भौगोलिक विकटताका साथै सडक गतिलो नहुँदा अपाङ्गता भएका पुरुष तथा महिलाहरूलाई अहिले पनि मतदानस्थलसम्म पुग्न कठिनाइ हुने गरेको छ । एक्लै तथा ह्विलचियरमै जान नसक्ने हुँदा सहज रुपमा मतदान गर्नबाट वञ्चित हुँदै आएका छन् । मतदानका लागि उनीहरूले सास्ती भोग्नुपरेको छ । 

गतिलो सडक नभएको र अन्य व्यवस्थापन पनि नभएकाले एक्लै जाने अवस्था नरहेकै कारण मतदानस्थल अपाङ्गमैत्री नभएको कल्याणकारी अपाङ्ग संघ सल्यानका अध्यक्ष कृष्ण बुढाथोकीले बताए । गाडी पुग्ने भएमात्रै मतदानस्थल अपाङ्गतामैत्री नहुने उनले उल्लेख गरे । ‘धेरै मतदानस्थलसम्म गाडी पुग्ने सडक छ । सडक गतिलो नहुँदा ह्विलचियरमा एक्लै जान सकिँदैन । ह्विलचियरकै भरमा मतदानस्थलमा प्रवेश गरेर मतदान गर्न सकिँदैन भने कसरी हुन्छ अपाङ्गमैत्री ?’ उनले प्रश्न गरे । उनले मतदानस्थल अपाङ्गमैत्री बनाउन सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् । 

निर्वाचन कार्यालयले जहिले पनि सहजताका लागि छनोट गर्दैै आएका विद्यालय भवन, फिल्ड आधुनिकभन्दा अपाङ्गमैत्रीलाई ख्याल नगरी परम्परागत रुपमा निर्माण गरिएका बढी भएका, साँगुरा बाटा, मुख्यद्वारमा सिँढी निर्माण गरेकाले मतदानस्थल अपाङ्गमैत्री नभएको कल्याणकारी अपाङ्ग संघ सल्यानका उपाध्यक्ष रहेका नीमबहादुर नेपालीले बताए । उनले आफ्नै घर नजिकैको एक विद्यालयमा मतदान केन्द्र रहेको र वैशाखी तथा ह्विलचियरको भरमा एक्लै आउजाउ गर्न नसकिने जानकारी गराए । ‘अपाङ्गताको क र ख वर्गमा पर्ने पुरुष तथा महिला यही समस्याकै कारण धेरै पहिलादेखि आफ्नो अधिकारको प्रयोग गर्नबाट वञ्चित भएका छन् । मतदानका लागि उनीहरूले अर्काको सहयोग लिनुपरेको छ,’ उनले भने, ‘म पनि ख वर्गमा पर्छु । मलाई कतै आउजाउ गर्न बैसाखी चाहिन्छ । बैसाखी प्रयोग गर्दा मतदानस्थलसम्म पुग्न गाह्रो हुन्छ । मतदानस्थलमा पुगेपछि अव्यवस्थित रुपमा गरिएको तारबारले झनै अप्ठ्यारो हुन्छ ।’ जिल्लाका र स्थानीय तहका अधिकांश कार्यालय पनि अपाङ्गमैत्री नभएकाले सरकारी सेवा लिनका लागि पनि धेरै कठिनाइ हुने गरेको उनको भनाइ छ । 

क वर्गको अपाङ्गता भएका शारदा नगरपालिका ७ कजेरी घर भएका वर्ष ५६ का तोकलाल खड्काले घरबाट यताउता हिँड्न नसक्नेमात्र नभई कालिमा माविमा रहेको मतदानस्थल घरबाट आधा घण्टाको दूरीमा रहेको र गतिलो सडक नभएकाले मतदानबाट वञ्चित हुँदै आएको बताए ।

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले विगतमा निर्माण गरेका विद्यालयका संरचना काम चलाउका लागि भएकाले पूर्णरुपमा अपाङ्गमैत्री नभएको बताएका छन् । विगतका तुलनामा अहिले २ सय २ मतदान केन्द्र तथा १ सय १९ मतदानस्थलमध्ये एकबाहेक सबै केन्द्र नजिकै गाडी पुग्ने गरेको उनले जानकारी दिए । अपाङ्गता भएकालाई मतदान गर्नका लागि भने छुट्टै व्यवस्था गर्दै आएको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully