भूमिहीनलाई सधैं लालपुर्जाको आश्वासन

हरेक निर्वाचनमा नेताहरुले दिने झूटा आश्वासन सुन्दा आफूहरुलाई राज्यले गिज्याएजस्तो लाग्ने बालुवाटारवासीको दुखेसो

कार्तिक २१, २०७९

ज्योति कटुवाल

सुर्खेत — झट्ट ‘बालुवाटार’ सुन्दा सबैजसोले काठमाडौंस्थित मुलुककै प्रमुख र सुविधासम्पन्न प्रशासनिक केन्द्र सम्झिन्छन् । तर, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–११ मा पनि बालुवाटार भन्ने ठाउँ छ । तर, यहाँको अवस्था त्यसको ठ्याक्कै उल्टो छ । जहाँ पुग्न वीरेन्द्रनगरस्थित धुलियाबिट सडकबाट झन्डै आधा घण्टाको गोरेटो हिँड्नुपर्छ । खोलामा बालुवा चालेरै जीविकोपार्जन गर्ने भएकैले स्थानीयले यो ठाउँको नाम बालुवाटार राखेका हुन् ।

यहाँ गन्धर्ब समुदायको बाहुल्य छ । २६ वर्षदेखि बस्दै आए पनि अहिलेसम्म जग्गाको लालपुर्जा उनीहरूले पाएका छैनन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली र रोजगारीजस्ता आधारभूत आवश्यकताबाट पनि उनीहरू वञ्चित छन् । हरेक निर्वाचनका बेला आइपुग्ने उम्मेदवार र दलका नेताहरूले दिने झूटो आश्वासन सुन्दा आफूहरूलाई राज्यले नै गिज्याएजस्तो भान हुने उनीहरू सुनाउँछन् ।

रुवी गाइन, २०५३ सालदेखि हो बालुवाटारमा बस्दै आएको । झन्डै एक दशकसम्म घरनजिकैको झुप्राखोलामा बालुवा चालेर जीविकोपार्जन गरिन् । खोलाको पारिपट्टी किनारसम्मै सडक खनिएपछि उनको रोजीरोटी बन्द भएको छ । वारि बालुवाटारतर्फ भने सडक खनिएको छैन । १० जनाको परिवार पाल्न समस्या भएपछि उनका २ छोरा र श्रीमान् मजदुरीका लागि ‘काला पहाड’ (भारत) गएका छन् । उनीहरूले पठाएको रकमले नै दुई छाक खान सकिएको उनी बताउँछिन् । पाँच वर्षयता मधुमेह र रक्तस्रावको बिरामी भएपछि उनलाई घरायसी काम गर्न पनि समस्या छ । ‘काठमाडौंको बालुवाटार पुगेका नेताले हाम्रो बालुवाटारलाई कहिल्यै बुझेनन्,’ उनले भनिन्, ‘हामी वर्षौंदेखि अभावै अभावमा बाँच्न बाध्य छौं ।’

अहिले दिनहुँजसो विभिन्न दलका नेताहरू गाउँमा आएर अनेक आश्वासन दिए पनि खुसी छैनन्, अर्का स्थानीय पूर्ण गन्धर्ब । ‘सधैं झूटा आश्वासन मात्र दिन्छन्,’ उनले भने, ‘जसोतसो भए पनि बाँचिरहेकै छौं, गाउँ आउने नेताहरूको कुराले झन् पीडा दिन्छ ।’

उनकी श्रीमती ४५ वर्षीया पार्वतीको गाइनको पाठेघरको क्यान्सरका कारण गत माघमा मृत्यु भयो । चार वर्षसम्म रोगले थला परेकी उनको खर्च अभावले उपचार नपाउँदा मृत्यु भएको पूर्ण बताउँछन् । १३ जनाको परिवार पाल्न अहिले उनी हरेक दिन मजदुरी गर्छन् । सबेरै वीरेन्द्रनगर आउँछन् र ट्रकबाट सामान लोड–अनलोड गरेर दैनिक ७ सय रुपैयाँ कमाउँछन् । त्यो रकमले साँझ–बिहानकै छाक टार्न मुस्किल हुने उनले बताए । जग्गा आफ्नो नाममा नहुँदा कतिबेला कसले उठाउने हो भन्ने डरैडरमा बसिरहेको उनको भनाइ छ ।

‘हरेक चुनावमा भोट माग्दा नेताले सम्झिन्छन्, पछि फर्केर आउँदैनन्,’ स्थानीय तिलक गन्धर्बले भने, ‘पुरै बस्ती लालपुर्जाविहीन छ, प्रदेश राजधानी भए पनि गाउँमा अझै सडक पुगेको छैन, अरू विकासको त झन् कुरै नगरौं ।’ उनका अनुसार स्थानीयहरू गाउँबाट झन्डै आधा घण्टा जंगलको बाटो हिँडेर धुलियाबिट आएर मात्र गाडी चढ्न पाउँछन् । विद्यालय आउने बाटो जोखिमयुक्त भएकाले अधिकांश बालबालिकाले पढ्न नपाएको उनले बताए । खोला किनारमा खरका टहरामा बसिरहेका उनीहरूसँग खेतीबाली लगाउने जमिन पनि छैन । ‘वर्षौंदेखि नेताहरूले लालपुर्जाको आशा देखाउँदै आएका छन् तर अब त आसै मरिसक्यो,’ उनले भने ।

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा पनि बालुवाटारवासीलाई सडक, शिक्षा, स्वास्थ्य र रोजगारीको आश्वासन दिइएको थियो तर ति आश्वासन पूरा हुनेमै विश्वस्त छैनन् मतदाता । ६० वर्षीया दुर्गा बैगारले राजधानीको प्रदेशद्वारनजिकैको टोलमा नै सरकारको आँखा नपरेको बताइन् । ‘निर्वाचनपछि हामीलाई चिन्दैनन्, अनि किन भोट दिने ?,’ उनले भनिन्, ‘बस्ती मात्र सुकुम्बासी छैन, गरिबी र पछौटेपन पनि उस्तै छ ।’ उनले हालसम्म विभिन्न आयोगमा मात्रै लालपुर्जा पाऊँ पनि ९ पटक निवेदन दिएको सुनाइन् । यहाँ ३१ परिवारका २ सय जनाको बसोबास छ । जसमध्ये ७० जनाको मात्रै मतदाता परिचयपत्र छ । अधिकांश युवा रोजगारीका लागि काला पहाड जाने भएकाले धेरैले मतदाता परिचयपत्र बनाएका छैनन् । तर, विकासको नाममा अहिलेसम्म एउटा मात्र धारो बनेको छ । वरिपरि जंगलले घेरिएको बस्ती भएकाले वन्यजन्तुको त्रासमा रात गुजार्नुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखिन् । ‘गाउँमा अधिकांशको ५ मिटरभन्दा बढी लम्बाइ भएको जग्गा छैन,’ उनले भनिन्, ‘त्यसमाथि सडक आएपछि हाम्रो रोजगारी पनि खोसिएको छ । खोलामै ट्र्याक्टर, टिपर पुग्न थालेपछि आफूहरूले बालुवा चाल्नै बन्द भएको छ ।’

बाढीपीडित ८ वर्षदेखि त्रिपालमै

सुर्खेतमा सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका झन्डै १५ हजार परिवार रहेको भूमि आयोगको तथ्यांक छ । लालपुर्जा नहुँदा आर्थिक अभाव खेपेका र रोजगारीका लागि भारत पस्नेहरू धेरै रहेको आयोगका अध्यक्ष श्रीधर पौड्यालले बताए । उनका अनुसार २०७१ साउन अन्तिम साता आएको बाढीपहिरोले घरबारविहीन भएका बाढीपीडितहरू पनि अझै त्रिपालमै छन् । त्यसबेला ९ सय ७० परिवार विस्थापित भएका थिए । उनीहरू सुर्खेतका महिला प्रशिक्षण केन्द्र, छिन्चु, रानीघाट, इत्राम, मित्रनगर, भेरीगंगा, गुर्भाकोटलगायत स्थानमा बस्दै आएका छन् ।

बराहताल गाउँपालिका–२ गिरिघाटमा बस्दै आएका बाढीपीडित मोतीलाल बुढाले आफूहरूका पीडा त्रिपालभित्रै गुम्सिएका बताए । ‘पटकपटक सरकार फेरिए तर हाम्रा पाल ८ वर्षसम्म फेरिएनन्,’ उनले भने, ‘नेताहरूसँग अब त माग गर्नै छोडिसक्यौं ।’ ७५ वर्षीया बिष्ना कामीलाई दमको रोग छ । तर, त्रिपालको चिसोमै उनले पछिल्ला ८ वर्ष बिताइसकेकी छन् । उनलाई पनि नेताहरूले आफ्ना पीडाहरू देख्लान् भन्ने विश्वास छैन । ‘भोट हालेर के नै हुन्छ र ?’ उनको प्रश्न छ ।

गिरीघाटमा मात्रै १२५ परिवारका ७२० जनाको बसोबास छ । यता, वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बसेकामध्ये अहिलेसम्म त्रिपालमै ८ जनाको ज्यान गइसकेको छ । चिसोको कारण शिविरमा बस्दै आएका ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी बढी समस्यामा छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully