कोभिड विरुद्ध पूर्ण खोप लगाउने अधिकांशमा एन्टिबडी- स्वास्थ्य - कान्तिपुर समाचार

कोभिड विरुद्ध पूर्ण खोप लगाउने अधिकांशमा एन्टिबडी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड-१९ विरुद्धको खोप लगाएका तथा नलगाएका व्यक्तिहरुमा एन्टीबडी स्तर अध्ययनको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । खोप लगाएका तथा नलगाएका व्यक्तिहरुमा एन्टिबडीको स्तर मुल्यांकन गर्नु अध्ययनको मुख्य उद्देश्य रहेकाे परिषद्ले बताएकाे छ ।

उपत्याकाको ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १७९६ जनामा अध्ययन गरिएको थियो । २०७८ जेठ १७ देखि असार २५ गतेसम्मको रगतको नमुना संकलन गरी अध्ययन गरिएको थियो । खोप लगाएका व्यक्तिहरुमा ९४१ जना (६५ प्रतिशत)मा एन्टिबडी देखिएको र खोप नलगाएकामा ३८४ सहभागीमध्ये १५३ जनामा (४३.९७ प्रतिशत) समेत एन्टिबडी पाइएको छ ।

त्यसैगरी पहिलो मात्रा खोप लगाएका ५५.१ प्रतिशतमा एन्टिबडी विकास भएको र दोश्रो मात्रा खोप लगाएका ८१.९ प्रतिशतमा एन्डिबडी विकास भएको पाइएको छ ।

अध्ययनमा खोप लगाएको दिनसँग नमुना संकलनको दिनलाई तुलना गरेर हेर्दा खोप लगाएको दोश्रो महिना पुगेका ८२.३३ प्रतिशत सहभागीहरुमा एन्टिबडी देखिएको र चौथो महिनापछि क्रमश: घटेर ४३.७५ प्रतिशतमा मात्र एन्टिबडी देखिएको थियो ।

परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले अध्ययनले नेपालमा कोभिड-१९ को संक्रमण भई निको भएका तथा खोप लगाएका अधिकांश जनसंख्यामा कोभिड विरुद्धको एन्टिबडी विकसित भएको तथ्य भेटिएको बताए । खोप लगाएका सहभागीहरुमध्ये पहिलोभन्दा दोश्रो मात्राको खोप लगाउनेमा खोपको प्रभावकारिता बढी देखिएको उनको भनाइ छ ।

कोभिड विरुद्धको खोप लगाएका सहभागीहरुमा पनि समय बित्दै जाँदा एन्टिबडी विकसित भएका व्यक्तिहरुको संख्या घट्दै गएको देखिँदा यससम्बन्धी थप अध्ययनको आवश्यकता रहेको परिषद्को निष्कर्ष छ । बुस्टर डोज लगाउने वा नलगाउने भन्ने विषयमा विश्व स्वास्थ्य संगठनमा प्रपोजलसमेत पठाइएको परिषद्ले जानकारी गराएको छ ।

अध्ययनमा कोभिड विरुद्धको खोप नलगाएका वा कोभिड संक्रमण पुष्टि नभएका ४६ प्रतिशत सहभागीहरुमा पनि एन्टिबडी विकसित भएको देखिएकाले कोभिड-१९ समुदाय स्तरमा फैलिएको र नेपालभरी सेरोप्रिभेलेन्सको आवश्यता रहेको अध्यनयको निष्कर्ष छ ।

प्रकाशित : आश्विन २२, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्

रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज

एजेन्सी

काठमाडौँ — स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज गर्न अदालतले खारेज गरिदिएको छ । पोर्चुगलका खेलाडी रोनाल्डोविरुद्ध पूर्वमोडल क्याथरिन मयोर्गाले १० वर्षअघि बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

बुधबार अमेरिकाको लस भेगासस्थित न्यायाधीश डानिएल अलब्रेट्सले रोनाल्डोमाथिको मुद्दा खारेजीका लागि सिफारिस गरेका हुन् । यसबारे मोडल मयोर्गाले हालसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

२००९ मा एक होटलको कोठामा रोनाल्डोले यौन आक्रमण गरेको आरोप लगाएकी थिइन् । रोनाल्डोले भने आफूमाथिको मुद्दा निरन्तर अस्वीकार गर्दैआएका थिए । सहमतिमा यौन सम्बन्ध भएको भन्दै रोनाल्डोले आफूमाथिको आरोप गलत भन्दैआएका थिए । रोनाल्डोका वकिलहरुले भने उनीमाथि कारबाहीको कुनै सम्भावना नरहेको बताउँदैआएका थिए ।

प्रकाशित : आश्विन २२, २०७८ १७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×