कास्की-२ मा रास्वपाका उत्तमप्रसाद पौडेल विजयी

निकटतम प्रतिस्पर्धीभन्दा चार गुणा बढी मत ल्याएर कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तमप्रसाद पौडेल निर्वाचित भएका छन् ।

फाल्गुन २३, २०८२

दीपक परियार

Uttam Prasad Poudel of RSP wins in Kaski-2

पोखरा — निकटतम प्रतिस्पर्धीभन्दा चार गुणा बढी मत ल्याएर कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तमप्रसाद पौडेल निर्वाचित भएका छन् । उनले ३१ हजार ९ सय ११ मत प्राप्त गर्दा दोस्रो भएका एमाले उम्मेदवार रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत प्राप्त गरे । 

यस क्षेत्रमा विगतदेखिनै एमालेले निरन्तर जित्दै आएको थियो । यसपल्ट कुल खसेको मतमध्ये पौडेलले ६० प्रतिशत मत ल्याए । यस क्षेत्रमा कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ६ हजार ५ सय, राप्रपाका हेमजंग गुरूङले १ हजार ६ सय ४३, नेकपाका हेमबहादुर थापाले १ हजार २ सय ७६, उज्यालो नेपाल पार्टीका कुशल गुरूङले १ हजार २ सय १ मत प्राप्त गरे । 

निर्वाचित पौडेल यसअघि सञ्चारकर्मी हुँदै रास्वपामा सक्रिय थिए । ८४ हजार १ सय ३४ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ५ सय १९ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ८ सय ४४ मत बदर भएको थियो । यहाँ १२ दल र ५ स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

प्रतिनिधिसभा निर्वाचन २०८२

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully