गोरखा–१ जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङसहित ३ युवाको उम्मेदवारी चर्चामा छ भने गोरखा–२ मा बाबुराम, लेखनाथदेखि मिलन गुरुङ(चक्रे मिलन)सम्मले उम्मेदवारी दिएका छन् ।
गोरखा — निर्वाचन अधिकृतको कार्यालय अपायक परेको गुनासोसहित गोरखा–२ मा उम्मेदवारी दर्ता गराउन पुगेका मिलन गुरुङ(चक्रे मिलन) भन्दै थिए,‘यो सब भएको भ्रष्टाचारी नेताले गर्दा हो ।’ सँगै रहेका मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवारले थपे,‘अब हाम्रो पालामा राम्रो गर्ने हो सर ।’
चक्रे मिलन यतिकै रोकिएनन्, उनले पनि थपे, ‘यस्तो ठाउँमा पनि राख्छ त यार ।’ गोरखा–२ को निर्वाचन अधिकृतको कार्यालय गोरखा–८ मा रहेको साबिकको वन कार्यालयमा स्थापना गरिएको छ । एकान्त ठाउँमा रहेको कार्यालयसम्म जोडन केही सडक कालोपत्रेको काम बाँकी छ ।
गाडीको लावालस्करसहित गलामा राष्ट्रिय झन्डा राखेर उम्मेदवारी दर्ता गराउन पुगेका चक्रे मिलनले गोरखा बजारको किनारामा रहेको कार्यालय अपायक परेको गुनासो गर्दै थिए । सँगै पुगेका एमालेका कार्यकर्ता गुरुङको मनोनयन दर्ताको प्रक्रियामा थिए । गुरुङ निर्वाचन अधिकृतको कार्यालयमा नै रहँदा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि उम्मेदवारी दर्ताका लागि पुगे ।
मुख्य प्रवेशद्वारमा रहेका चक्रे मिलनसँग भट्टराईको जम्काभेट भयो । दुवैले हात मिलाए, एकले अर्कोलाई शुभकामना दिए, केहीबेर गफिए । २०६४ र २०७४ को निर्वाचनमा गोरखा–२ बाट विजयी बनेका भट्टराई आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका छन् । २०७० को संविधान सभा निर्वाचनमा भट्टराई गोरखा–१ बाट निर्वाचित बनेका थिए । २०७९ मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सघाएका ७१ वर्षीय भट्टराई यस वर्ष आफैं उम्मेदवार बन्न कस्सिएका छन् ।
भट्टराईसँग यस पटकको निर्वाचनमा एमालेका चक्रे मिलन, नेकपाका लेखनाथ न्यौपाने, रास्वपाका कवीन्द्र बुर्लाकोटी, कांग्रेसका प्रकाशचन्द्र दवाडीलगायत १३ जना प्रतिस्पर्धी छन् । एमालेका चक्रे मिलन र लेखनाथ न्यौपाने पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् । कवीन्द्र २०७९ मा पनि गोरखा-२ मा तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पराजित बनेका थिए । कांग्रेसका दवाडी भने २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित बनेका थिए । गोरखा–२ कै उम्मेदवारी दर्तामा जम्काभेट भएका भट्टराई र दवाडीबीच पनि केहीबेर भलाकुसारी भयो । २०७४ सालमा कांग्रेसको तर्फबाट सहयोग भएको भन्दै यस पटक सहयोग गर्न ठट्यौली पारामा कांग्रेस नेता कार्यकर्ताले भट्टराईलाई आग्रह गरे । भट्टराईले आफ्नो उम्मेदवार बन्ने जिद्दी छाडेनन् ।
गोरखा–२ कै उम्मेदवारी दर्ताको क्रममा रास्वपाका कवीन्द्र बुर्लाकोटी र नेकपाका लेखनाथ न्यौपानेबीच पनि केही बेर भलाकुसारी भयो । पैसा बाँड्ने उम्मेदवार प्रति सचेत रहनुपर्ने दुवै उम्मेदवारको साझा धारणा राखे । विद्यार्थी राजनीतिबाट उदाएका न्यौपाने पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् । रास्वपा महामन्त्री समेत रहेका बुर्लाकोटीको भने दोस्रो पटक उम्मेदवारी दिएका हुन् ।
जेन–जी आन्दोलनबाट उदाएका युवा सुधन गुरुङको उम्मेदवारी दर्ताले गोरखा–१ पनि चर्चामा छ । गोरखा–१ मा नेकपा एमालेका तर्फबाट आरसी लामिछाने र कांग्रेसबाट प्रेम खत्री उम्मेदवार छन् । उनीहरू तीन जना नै नयाँ अनुहार हुन् । लामिछाने र खत्री पनि पहिलो पटक चुनामा होमिँदै छन् । तीन युवाबीचको प्रतिस्पर्धालाई गोरखा–१ मा रोचक ढंगले हेरिएको छ । गोरखा–१ मा नेकपाको तर्फबाट हरिराज अधिकारी उम्मेदवार छन् । उनी २०७४ सालमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित वनेका थिए ।
