विहारको मोतिहारीबाट पोखरा आएका लखनले चटपटे बेचेरै छोरी ममतालाई पढाए, ल्याइन् ४ जीपीए
पोखरा — लखन जैसवालको चटपटे पसलमा अचेल जेरी–पुरी मात्रै पाक्दैन, उनकी छोरी ममताले सामुदायिक विद्यालयबाट एसईईमा ४ जीपीए ल्याएपछि पाकिरहेको छ– ‘डाक्टर’ सपना पनि ।
हरेक दिन बिहान सूर्योदयसँगै पोखरा–३० पावरहाउस चोकको व्यस्त सडकमा एउटा रंगीबिरंगी ठेला देखा पर्छ । ठेलामा बन्छन् चटपटे, पानीपुरी र चाटका विभिन्न परिकार । ससाना प्लास्टिकका डिब्बामा भरिएका धनिया, जिरा, खुर्सानीको धूलोको सुगन्धले वरिपरिको हावालाई महकाउँछ । यही हो- लखन जैसवालको चटपटे पसल ।
लखनको कथा ०५६/०५७ बाट सुरु हुन्छ, जब उनी पहिलोपल्ट आफ्नो जन्मभूमि भारतको बिहारमा रहेको मोतिहारी छोडेर तत्कालीन लेखनाथ नगरपालिकाको पावरहाउस आए । यहाँको शान्त वातावरणले उनलाई लोभ्यायो । उनका केही आफन्त पहिले नै पावरहाउस क्षेत्रमा आएर बसेका थिए । उनीहरूकै सहयोगमा लखनले स्थानीय बालबालिकालाई ट्युसन पढाउने काम गरे । विहारमा उनले एसएलसीसम्मको अध्ययन गरेका थिए, त्यसैले उनलाई पढाउने काममा केही सहजता थियो । घरमा बिरामी आमा एक्लै थिइन् । लखनका बुबा उनी सानै छँदा बितिसकेका थिए । बुबाको अनुहार पनि ठीकसँग सम्झना थिएन उनलाई । त्यसैले ६–७ महिनापछि उनी फेरि मोतिहारी फर्किए । त्यहाँ बिहान–बेलुका ट्युसन पढाउने र दिउँसो बजार प्रतिनिधिको काम गरे ।
०६४ मा उनले श्रीमतीका रूपमा गुडियाँलाई भित्र्याए । विवाहपछि पोखराको मनमोहक हावापानी सम्झिएर उनी श्रीमती र आमालाई लिएर फेरि नेपाल आए । यसपल्ट उनको उद्देश्य यहीँ स्थायी रूपमा बसेर जीविकोपार्जन गर्ने थियो ।
सुरुका दिनहरू अत्यन्त कष्टकर थिए । जैसवाल दम्पतीले गाउँगाउँ डुलेर विभिन्न प्रकारका व्यापार गरे । कहिले कपडा बेचे, कहिले ठेलामा तरकारी बेचे । खाजा पसल चलाए, मसला बिक्री गरे । कुनै स्थायी काम नभएकाले जे जहाँ मिल्यो, त्यही गरे ।
‘संघर्ष धेरै गरेँ,’ उनको आवाजमा गहिरो पीडा सुनियो, ‘जेरी बनाएर पसल–पसल डुलाएर पनि बेचेँ । परिवारको पालनपोषण कसरी गर्ने भनेर दिनरात दुःख गरेँ । कहिलेकाहीं त खान पनि कष्ट हुन्थ्यो ।’
०६५ मा लखन र गुडियाँले पहिलो सन्तान ममतालाई जन्म दिए । सानी छोरीको हसिलो मुहार हेरेर लखनको मनमा नयाँ उत्साह र आशाको किरण फैलियो । ममताको आगमनसँगै उनको जिम्मेवारी बढ्यो । ०६८ बाट उनले पावरहाउस चोकमा ठेलामा चटपटे, पानीपुरी र चाट बिक्री गर्न थाले । यो निर्णय उनको जिन्दगीको महत्त्वपूर्ण मोड बन्यो ।
सामुदायिक विद्यालयबाट एसईईमा ४ जीपीए ल्याएकी ममता जैसवाल । तस्बिरहरू : दीपक परियार/कान्तिपुर
हरेक बिहान ४ बजेदेखि लखनको दिन सुरु हुन्थ्यो । पहिले घरमा चटपटेका लागि आवश्यक सामग्री तयार पार्ने, त्यसपछि ठेलामा सबै सामान मिलाउने र बिहान ७ बजेसम्म पावरहाउस चोकमा पुगेर व्यापार सुरु गर्ने । साँझ ८–९ बजेसम्म काम गरेर घर फर्किने । यो दिनचर्या वर्षौंसम्म निरन्तर चल्यो ।
समय बित्दै जाँदा लखनको परिवार बढ्दै गयो । ममतापछि थप दुई छोरा र एक छोरी जन्मिए । अहिले उनका चार सन्तान छन्– दुई छोरी र दुई छोरा । परिवारको आकार बढ्दै जाँदा खर्च पनि बढ्दै गयो । खाना, लुगा, शिक्षा, स्वास्थ्य– हरेक क्षेत्रमा खर्च बढ्यो ।
त्यसमाथि लखनकी आमा नियमित रूपमा बिरामी हुने गर्थिन् । उनको उपचारका लागि पैसा चाहिन्थ्यो । कहिलेकाहीं पोखराबाट मोतिहारी जानुपर्थ्यो । यी सबै कुराले लखनको आर्थिक बोझ झन् बढाउँदै गयो ।
‘आफ्नो पनि परिस्थिति पहिलाजस्तो थिएन,’ उनको स्वरमा विवशता सुनियो, ‘आम्दानी थोरै थियो, परिवार ठूलो भयो । चार छोराछोरी, बिरामी आमा, सबैको जिम्मेवारी मेरै काँधमा थियो ।’
ठेलाको व्यापारबाट आउने आम्दानी सीमित थियो । मौसमअनुसार व्यापारमा उतारचढाव हुन्थ्यो । वर्षाको समयमा सडकमा ठेला लगाउन गाह्रो हुन्थ्यो । चाडपर्वमा व्यापार राम्रो हुन्थ्यो तर सामान्य दिनमा मुस्किलले दैनिक खर्च निकाल्न सकिन्थ्यो ।
सुरुमा ममताले पावरहाउस क्षेत्रमै रहेको निजी विद्यालय गुरुकुल विद्याश्रममा कक्षा ७ सम्म पढिन् । सानैदेखि उनी पढाइमा तेज र लगनशील थिइन् । तर परिवारको बढ्दो खर्च र सीमित आम्दानीले गर्दा ममताले विद्यालय परिवर्तन गर्नुपर्यो ।
‘निजीमा एक जनाको भर्ना फि ६ हजार थियो,’ लखनले भने, ‘सरकारीमा त्यति पैसाले ४ जनाको भर्ना हुन्थ्यो । कमाइअनुसार निजीमा पढाउन नसकेपछि सरकारीमा भर्ना गरेँ ।’
यो निर्णय लखनका लागि निकै पीडादायक थियो । उनी चाहन्थे कि आफ्ना छोराछोरीले राम्रो शिक्षा पाऊन् । तर आर्थिक अवस्थाले बाध्य पारेको थियो । उनलाई डर थियो कि सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कस्तो होला !
तर ममताले कक्षा ८ देखि पोखरा–३२ गगनगौंडामा रहेको गोगन माविमा पढ्न थालेपछि उनका डरहरू निराधार साबित भए । उल्टै, सरकारी विद्यालयको वातावरणले ममतालाई थप मिहिनेती र लक्ष्यमुखी बनायो । गोगन माविमा पहिलो दिन पाइला राख्दा ममताले धक मानिन् । नयाँ वातावरण, नयाँ साथीहरू, नयाँ शिक्षक । सबै कुरा उनका लागि चुनौती थियो । ‘पहिलोचोटि कुनै पुरानो आफूले पढिरहेको स्कुलभन्दा अब नयाँ स्कुलमा जाँदा जो पनि नर्भस भइहाल्छ,’ उनले सम्झिइन्, ‘त्यहाँका शिक्षक कस्तो हुनुहुन्छ ? अनि पढाइको वातावरण कस्तो छ भनेर सबैले सोच्छन् ।’
उनको प्रतिभा र मिहिनेतले चाँडै शिक्षकको ध्यान आकर्षित गर्यो । कक्षा ८ मा पढ्दा उनी उत्कृष्ट १० विद्यार्थीभित्र परिन् । यसले उनको आत्मविश्वास बढायो र अझै मिहिनेत गर्न प्रेरणा दियो । ‘जब ९ मा गएँ एक वर्ष पछि, तब चै अब सबै टिचरहरूसँग घुलमिल भएँ,’ उनले भनिन्, ‘सबै टिचरको शैक्षिक अनुभव थाहा पाएँ । सबै शिक्षकसँग घुलमिल भएँ । त्यसपछि चै अब ९ देखि आफ्नो पढाइमा अझ ध्यान दिएर अझ पिकअप गरेँ ।’
उनको बुबाले कत्रो संघर्ष गरेर उनलाई पढाइरहेका छन् भन्ने महसुस उनलाई थियो । हरेक दिन बिहानदेखि बेलुकासम्म ठेलामा उभिएर चटपटे बेच्ने बुबाको मिहिनेत देखेर उनको मनमा आफ्नो जिम्मेवारीको भावना जाग्यो ।
कक्षा ९ र १० मा पढ्दा ममताले आफ्नो भविष्यका लागि स्पष्ट लक्ष्य निर्धारण गरिन् । उनको सपना थियो– एसईईमा राम्रो अंक ल्याएर कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा पढ्ने । यसका लागि उनले दिनरात कडा मिहिनेत गरिन् । ‘घरको अवस्था पनि हेरेर अलिक बढी मिहिनेत गरेर ४ जीपीए ल्याएर ११ र १२ मा फुल स्कलरसिपमा नाम निकालेर पढ्छु भन्ने मेरो चाहना पनि थियो,’ उनले सुनाइन्, ‘त्यसरी नै मिहिनेत गरेँ ।’
सबै किताब र पाठलाई उत्तिकै महत्त्व दिए पनि महत्त्वपूर्ण पाठहरू अलि मिहिनेत गरेर पढ्न थालिन् । विशेष गरेर गणित र विज्ञानमा बढी समय दिइन् । उनले नेपाली भाषामा पनि विशेष ध्यान दिइन् । ‘सानैदेखि यहीँ पढेको भएर मलाई नेपालीमा पनि सहजता भयो,’ उनले भनिन् । मातृभाषा हिन्दी भएर पनि नेपाली भाषामा उनको दक्षता प्रशंसनीय थियो ।
पढाइका साथसाथै ममताले आफ्नो मानसिक तयारीमा पनि विशेष जोड दिइन् । एउटा प्रेरक भनाइ उनले कतै पढेकी थिइन्– ‘यू विल विन, नट इमिडियट्ली बट डेफिनेट्ली ।’ अर्थात् हामी जित्न चै सक्छौं तर अचानक होइन । यो उद्धरणले उनलाई निरन्तर मिहिनेत गर्न प्रेरणा दिइरह्यो । उनलाई थाहा थियो कि तत्काल परिणाम नआए पनि निरन्तर प्रयासले अवश्य सफलता दिन्छ ।
‘आफूले जब मिहिनेत गरिन्छ, त्यो मिहिनेतमा आफ्नो विश्वास छ भने त्यो जसरी पनि पूरा हुन्छ,’ उनी भन्छिन्, ‘त्यही अनुसार नै मिहिनेत गर्थें कि एक न एक दिन त मेरो मिहिनेतले राम्रै फल लिएर आउँछ भन्ने लाग्थ्यो ।’
एसईईको परीक्षाफल सार्वजनिक हुने दिन ममता र उनको परिवारका लागि जिन्दगीकै सबैभन्दा लामो दिन थियो । परीक्षा बोर्डले बिहान ५ बजे परिणाम सार्वजनिक गर्ने भनेको थियो तर प्राविधिक समस्याका कारण ढिलाइ भयो ।
त्यो दिन घरको वातावरण निकै तनावपूर्ण थियो । लखनले ठेलामा गएर व्यापार गर्न सकेनन् । उनको मन छोरीको परीक्षाफलमा अल्झिएको थियो । गुडियाँले घरमा पूजाआजा गरिरहिन् । अन्य छोराछोरी पनि दिदीको परीक्षाफलको पर्खाइमा थिए ।
साँझ करिब ९ बजे जब परीक्षाफल सार्वजनिक भयो, ममताको हृदय जोड जोडले धड्कियो । उनका हात काँपिरहेका थिए । परीक्षाफल सार्वजनिक भएपछि हिम्मत गरेर आफ्नो सिम्बोल नम्बर राखिन् । अगाडि बढ्दै बढ्दै जाँदा ‘भ्यू रिजल्ट’ भन्ने बटनमा दबाउन खोज्दा हात काँपिनै रहेको थियो । जब ‘फोर जीपीए’ देखायो, ममताका आँखाबाट खुसीका आँसु बगे । ‘त्यो बेला मलाई एकदम खुसी लाग्यो कि मैले गरेको मिहिनेतको फल पाएँ भनेर,’ उनले खुसी साटिन् ।
छोरीको परीक्षाफल देखेपछि छेउमै उभिएका लखन थुचुक्क भुइँमा बसे । एकछिन उठ्नै सकेनन् । त्यो खुसी केवल ४ जीपीएको मात्र थिएन, त्यो आफ्नै छोरीले बुझेको बाबुको संघर्षको सम्मानका कारण थियो । ‘म यति खुसी भएँ, भावुक पनि भएँ,’ ठेलाअघि उभिएर उनले भने, ‘मेरो मिहिनेत गरेको, दुःख गरेको छोरीले बुझेको रहेछ, त्यसकै फल लाग्यो भन्ने महसुस भयो । त्यही खुसीको कारणले मैले सबै पुरानोजति दुःख थियो सबै भुलेसकेछु ।’
ममता अब गोगन माविमै विज्ञान विषय लिएर कक्षा ११ मा पूर्ण छात्रवृत्तिमा पढ्ने छिन् । उनको लक्ष्य छ– डाक्टर बन्ने । लखन छोरीको लक्ष्य पूरा गर्न तत्पर छन् । ‘अब जति पढ्छे, म पढाउँछु । त्यसका लागि जुनसुकै कुर्वानी दिन किन नपरोस्,’ उनको आँखा रसाउँछ, ‘मलाई पढ्न सहायता दिने कोही थिएन तर म मेरो सन्तानलाई रोक्दिनँ ।’
सडक छेउको सानो ठेलाबाट सुरु भएको यो यात्रा सायद अब अस्पतालको अगाडिको सेतो कोटमा पुगेर रोकिनेछ, जहाँ ममता अरूको ज्यान बचाउने डाक्टर बन्नेछिन् । आज पनि पावरहाउस चोकमा लखनको ठेला देखिन्छ । चटपटेको सुगन्धसँगै उडिरहेको छ एक बुबाको माया, एक छोरीको सपना र एक परिवारको संघर्षको कथा । यो कथा भन्छ– ‘मिहिनेत कहिल्यै बेकार जाँदैन, सपनाहरू कहिल्यै सानो हुँदैनन् ।’ हो, त्यही ठेलाको आडमा एक उज्यालो भविष्यको ढोका खुल्दैछ– जसको नाम हो– ममता जैसवाल ।
