रुपन्देही — १३ वर्ष वैदेशिक रोजगारीमा बिताएपछि सुरज श्रेष्ठलाई नेपालभित्रै केही गर्ने अठोट पलाइसकेको थियो । तर के काम सुरु गर्ने भन्नेमा उनी स्पष्ट थिएनन् । उनले छिटो, सजिलो र स्वादिलो चिया नास्ताको पसल खोल्न सकिन्छ कि भन्नेबारे भने सोचिरहेका थिए ।
यही सोचमा अघि बढ्न मात्रै उनले तीन वर्ष अध्ययनमै खर्चिए । बजारहरू डुले, स्थानीयको स्वाद के हो ? कस्तो ठाउँमा बसेर मानिसहरू खान चाहन्छन् ? सबैलाई मनपर्ने खाजा-नास्ता के हुन सक्छ ? अनि यस्तो काममा केही मौलिकता पनि थप्न सकिन्छ कि ? यस्तै यस्तै प्रश्नको उत्तर खोज्दा खोज्दै उनले गत मंसिरमा तिलोत्तमा नगरपालिका-३ योगीकुटीमा सुरु गरे चियाग्राम ।
कुनै भव्य रेष्टुरेन्ट जस्तो पनि छैन चियाग्राम । यो त ग्रामीण वास्तुको झल्को आउने शैलीमा बनाइएको छ । खपडाको छानोमुनि बत्तीको झिलीमिली । बस्ने ठाउँ वरिपरि पुराना लालटिन, रेडियो, बाँसको टोपी, कितली, टायरको मुडा, गट्टा खेलेर रमाउने ठाउँ, चियाग्रामको संरचनागत विशेषता हुन् ।
४६ वर्षीय सुरज हिजोआज आफ्नो पूरै समय यहीँ बिताउँछन् । ग्राहकसँग गफ गर्छन्, प्रतिक्रिया लिन्छन्, केही सुधार गर्नुपर्ने पक्ष छ कि भनेर हरबखत चासो राखिराख्छन् । पाल्पाको रैथाने परिकार चुकाउनीदेखि चाउचाउ, बटुक, पकौडा, सेलरोटी चियाग्राममा धेरैको रोजाइमा परेका परिकार हुन् । चियाग्रामको अर्को सिग्नेचर स्वाद भनेको इटेबल कपमा सर्भ गरिने चिया पनि हो ।

चिया खाएपछि कप पनि बिस्कुट जसरी खान मिल्ने भएकाले उनीकहाँ आउने अक्सर नयाँ ग्राहकले यसको अनुभव गर्छन् नै । चिया खाएपछि कप छोडेर हिँड्ने त सामान्य चलन नै हो । तर एक वर्षअघि उनले इन्स्टाग्राममा एउटा दृश्य देखे, चिया खाएपछि कप पनि खाएको । त्यो भारतको कोलकाताको एउटा क्याफेको दृश्य थियो । यस्तो कप देखेपछि उनले पनि सोचे, ‘नेपालमा पनि यस्तो कप किन नल्याउने ?’
सुरुमा उनी इटेबल कपको खोजीमा नेपालगन्जदेखि काठमाडौंतिर कुदे । खोज्दै जाँदा उनले भारतबाट ल्याउन भन्दा काठमाडौंकै सप्लायर्सबाट किन्दा सजिलो हुने हिसाब निकाले । चिया खाएपछि कप पनि खान मिल्ने कुरा धेरैका निम्ति नयाँ थियो । हिजोआज चियाग्राम यही कुराले पनि धेरैको रोजाइमा परेको छ । किनकि, यहाँ आउने ग्राहक आफैंले चिया र कप खाएको दृश्य खिचेर सामाजिक सञ्जालमा हाल्छन् । अनि त चियाग्रामको प्रचार हुने भैहाल्यो । चियाग्राममा दैनिक २०० कप त यही इटेवल कपमा चिया बिक्छ ।

स्थानीय स्वादलाई आधुनिक शैलीमा पस्केकाले पनि उनीकहाँ चुकाउनी, बटुक, पकौडा पनि धेरैको रोजाइमा पर्ने गरेको छ । परम्परागत स्वाद मन पराएकाले सुरजलाई सानो छँदा बुटवलका मानिस चुकाउनी, बटुक, पकौडा खानका लागि पाल्पाको जोरधारा, डुम्रे पुग्ने गरेको सम्झना ताजा हुन्छ । अहिलेका युवालाई रैथाने परिकारबारे जानकारी दिन र त्यो स्वाद सदाबहार राख्न मद्दत पुगेकामा उनी खुसी देखिन्छन् ।
‘धेरै ग्राहक सामाजिक संजाल हेरेर आइपुग्छन्,’ उनले भने, ‘हामीले सस्तो दररेटमा खाजा पस्किरहेका छौं, जसले गर्दा स्वाद र पकेट खर्चलाई समानान्तर हिसाबले चलाइदिरहेको छ र हामी ग्राहकको रोजाइ बनेका छौं ।’
हिजोआज सुरज प्रवासमा बिताएका पुराना दिन सम्झन्छन् । उनको मनमा अनायासै ख्याल आउँछ, ‘के मैले ती दिनको सदुपयोग गरेँ,’ उनले सुनाए, ‘मैले विदेशमा श्रम बेचेँ, पैसा पनि कमाएँ, तर समय त बर्बाद गरेको महसुस गरेँ । त्यति समय सानो लगानीमै नेपालमा केही गरेर दिएको भए, अहिले नेपालीपनलाई ब्राण्ड बनाउन सक्थेँ ।’
यति भने पनि सुरज विगतका दिनको थकथकीमा छैनन् । बरु आफूले सुरु गरेको काम सफल बन्दै गरेकाले थप मिहिनेत गरिराख्नुपर्ने बुझाइमा छन् । उनले संस्कार, सम्बन्धको सुरुवात, खुसीयाली र नेपालीको आनीबानीसँग जोडिएको चियालाई ब्राण्डका रुपमा विकास गर्न चाहेको बताए ।
२५ लाख बढी रकम खर्चेर सुरु गरिएको चियाग्रामले धेरैको मन जितेकामा उनी प्रसन्न छन् । चियाग्रामको चर्चा बढाउन भूमिका खेल्ने सामाजिक सञ्जाल र सोसियल इन्फलुएन्सर्सको माया उनी भुल्न सक्दैनन् । भन्छन्, ‘सहरभित्र रहेको गाउँ भनेर परिचित चियाग्रामलाई यही रूपमै विकास गर्दै लैजाने धोको छ ।’
