नवलपरासी — नारायणी नदीमा आएको भेल गाउँमा पस्दा सुस्ता गाउँ डुवानमा परेको छ । स्थानीय मुन्सीकुमारका अनुसार शनिबार बिहान १० बजे नदीको बाढी पसेको थियो । बाढीले थारुटोलाका घर, गोठ डुबानमा परेका छन् ।
गत ३ दिनदेखि भइरहेको वर्षाका कारण नारायणी नदीमा पानीको सतह ह्वात्तै बढेको छ । नदीदेखि पूर्वमा रहेको थारु टोलमा नदीको पानी पसेको हो ।
शनिबार बिहान १० बजेसम्म त्यहाँका करिब १ सय १५ घर, गोठ डुवानमा परेको मुन्सीले जानकारी दिए । 'नदीमा पानीको सतह बढ्दोक्रममा छ,' उनले भने, 'सहमति संस्थाले बनाएको आपतकालीन उद्धार घरमा स्थानीयलाई सार्न प्रहरी खटिएको छ ।'
गाउँमा बाढी पसेपछि स्थानीयवासी विद्यालयमा बसिरहेका छन् । नारायणी नदीमा जलसतह बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले बताए ।
