गोरखामा ५ दलीय गठबन्धनको पालिका बाँडफाँटमा सहमति जुटेन

वैशाख ५, २०७९

हरिराम उप्रेती

गोरखा — चुनावी तालमेलका लागि बनेको जिल्लास्तरीय संयन्त्रको बैठक पटक–पटक निष्कर्षविहीन बन्दै आएको छ । पालिकामा सिट बाँडफाँटमा दलहरुले आ–आफ्नै अडान नछोड्दा तालमेल कमजोर बन्दै गएको जिल्ला स्तरीय नेताहरुले बताएका छन्।

पालिका भागबण्डामा दलहरुले आ–आफ्ना अडान नछाड्दा सोमबार बसेको छैटौं बैठकले पनि ठोस निष्कर्ष निकाल्न सकेन । ११ स्थानीय तहमध्ये नौ पालिका प्रमुख जितेको नेपाली कांग्रेसले यसअघि विजयी भएका नौ वटै पालिका दाबी गर्दै आएको छ ।

यसअघि जितेको स्थानीय तह सोही पार्टीले पाउने केन्द्रीय गठबन्धनको तालमेलको आधारमा पनि बहुमत पालिका आफ्ना पार्टीले पाउनुपर्ने नेपाली कांग्रेसको अडान छ । 

यसअघिको बैठकमा चार पालिका दाबी गरेको माओवादी केन्द्रले भने सोमबारको बैठकमा पाँच पालिका प्रमुखमा दाबी गरेको थियो । जनमतको आधारमा कांग्रेस र आफ्नो पार्टीको हैसियत उस्तै रहेकाले कांग्रेस बराबरकै हिस्सा आफ्नो पार्टीले पाउनुपर्ने नेकपा माओवादी केन्द्रका नेता लेख बहादुर थापा बताउँछन् । जिल्ला समन्वय समितिको प्रमुख सहितको पाँच पालिका माओवादी केन्द्रले दाबी गर्दै आएको छ ।

यसअघिको बैठकमा तीन पालिका प्रमुख दाबी गरेको जनता समाजवादी पार्टीले सोमबारको गठबन्धन बैठकमा लचिलो बन्दै दुई पालिका प्रमुखमा दाबी पेस गरेको थियो । सहअस्तित्वको आधारमा आफ्नो पार्टीले एक पालिका प्रमुख पाउनुपर्ने नेकपा एकीकृत समाजवादीले बताउँदै आएको छ । सत्तारुढ दलहरूबीच संख्या भागवण्डा पछि कुन दलले कुन पालिका प्रमुख लिने भन्ने टुङ्गो लाग्ने गरी छलफल अघि बढेको बताइएको छ ।

पालिका बाँडफाँटमा आ–आफ्नो अडान नछाड्दा सोमबारको बैठक निष्कर्षविहीन बनेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव किशोर जंग थापाले बताए । सोमबारको बैठक निष्कर्षविहीन बनेपछि अर्को बैठक वैशाख ८ गतेका लागि सरेको छ । पालिका भागवण्डामा दलहरुबीच रस्साकस्सी भएपछि गठबन्धनको सम्भावना क्षिण हुँदै गएको गठबन्धन दलका एक नेता बताउँछन् ।

गोरखामा ११ स्थानीय तह छन् । २०७४ को निर्वाचनमा नेपाली कांग्रेस नौ पालिका प्रमुख र नेकपा माओवादी केन्द्र दुई पालिका प्रमुखमा विजयी बनेका थिए । सत्ता पक्षीय पाँच दलहरूले गठबन्धनको निर्णय गरे पनि विभिन्न जिल्लाका सिट बाँडफाँटमा सहमति बन्न जुट्न सकिरहेको छैन ।

स्थानीय तह निर्वाचन २०७९

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully