कांग्रेस र एकीकृत समाजवादीले दाबी नछोडेपछि गठबन्धनको बैठक अनिर्णित
काठमाडौँ — नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको प्रमुखमा दाबी नछोडेपछि महानगर र उपमहानगरको सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक अनिर्णित बनेको छ । गत निर्वाचनमा नेकपा एमालेले जितेको पोखराको मेयरमा गठबन्धन गर्दा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले पाउनुपर्ने दाबी गरेको थियो ।
तर, पोखरामा कांग्रेसले समाजवादीको नेतृत्व नस्वीकार्ने र समाजवादीले अडान नछाडेका कारण नेताहरूले महानगरका प्रमुख र उपप्रमुख पदको भागबण्डा टुंग्याउन नसकेका हुन् ।
अन्य पाँच महानगरपालिकाको विषयमा सहमति भएपनि पोखराको विषयमा सहमति नजुट्दा बैठक निष्कर्षविहीन बनेको हो ।
गत असारमा बनेको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी पाँच दल छन् । यी दलबीच आसान्न स्थानीय चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल चलिरहेको छ ।
तालमेलका लागि केन्द्रले सात बुँदे मापदण्ड जारी गरेको छ भने स्थानीय आवश्यकता र तालमेलबारे देशैभरि छलफल भइरहेको छ । नेताहरूले त्यही मापदण्डका आधारमा स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्न तल्ला तहलाई निर्देशन गरेका छन् भने केन्द्रबाट ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख गरी ३४ सिट पाँच दलबीच भागबण्डा गर्ने सहमति छ । तर, त्यसबारे कतिपय दलका स्थानीय कमिटीले विरोध जनाएका छन् ।
गठबन्धनका शीर्ष नेताहरू पार्टीभित्रका आन्तरिक असन्तुष्टिलाई नजर अन्दाज गरेरै भएपनि सम्बन्धित महानगर र उपमहानगरको शक्ति बाँडफाँड गर्ने पक्षमा देखिन्छन् । शक्ति सन्तुलन गर्दा गठबन्धनका ठूला चार दलमध्ये कांग्रेसले तीन, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीले एक–एक वटा महानगरपालिकाको मेयर पद लिने गठबन्धन कार्यदलको समझदारी थियो ।
सोमबारको बैठकमा विराटनगर, वीरगञ्ज, भरतपुर, काठमाडौं र ललितपुरबारे करिब–करिब सहमति भएपनि पोखरा महानगरपालिकाको प्रमुख कांग्रेसले लिने कि एकीकृत समाजवादीले भन्ने विषयमा शीर्ष नेताहरूबीच सहमति जुटेन । त्यही विषयमा लामो सहमतिको प्रयास भएपनि निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका नेता हिमालाल पुरीले बताए ।
उनका अनुसार कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख दिने कार्यदलको प्रस्तावमा सहमति जुटेको थियो । त्यस्तै, कांग्रेसले भरतपुरको प्रमुख माओवादी केन्द्रलाई र वीरगञ्जको प्रमुख जसपालाई दिन समेत तयार भयो । तर, पोखरा महानगरपालिकाको प्रमुख कांग्रेसले छोड्न चाहेन भने एकीकृत समाजवादीले पनि आफ्नो दाबी छाडेन ।
‘जम्मा छ महानगरपालिका हुन् । पाँचमा सहमति भइसकेको थियो, पोखरामा पनि सहमति भएको भए निर्णयमा पुग्थ्यौँ,’ नेता पुरीले ईकान्तिपुरसँग भने, ‘तर पोखरा नमिलेपछि अब अरु मिल्नुको अर्थ छैन । पोखरामा कुरा नमिलेपछि अरु सबैमा भएको सहमति स्वतः भत्कियो । अब भोलि फेरि छलफल हुन्छ ।’
कांग्रेसका नेता कार्यकर्ता भने पोखरामा एकीकृत समाजवादी निकै कमजोर रहेका कारण नेतृत्व स्वीकार्न नसकिने पक्षमा छन् । गठबन्धनको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरा कांग्रेसले लिनुपर्ने अडान लिएका थिए ।
‘गठबन्धनमा भएकामध्ये पोखरामा कांग्रेस सबैभन्दा बलियो छ, चुनाव जित्ने हो भने पोखराको मेयर कांग्रेसले लिनुपर्छ,’ पौडेलले भनेका थिए । नेता पौडेलले पोखराको कारण गठबन्धन अनिर्णित भएको भन्न नमिल्ने बताए । ‘पोखराकै कारण नमिलेको त होइन, तर पोखरामा कांग्रेसले पाउनुपर्छ, किनकि त्यहाँ कांग्रेसको जनमत ठूलो छ,’ नेता पौडेलले ईकान्तिपुरसँग भने, ‘मैले पोखरा कांग्रेसले राख्नुपर्छ भनेँ । अरुले पनि विचार राख्नुभयो । कुरो मिलेन ।’
पोखरामा एमाले विभाजन हुँदा एकीकृत समाजवादीले ठूलो क्षति नगरेको र एकीकृत समाजवादी कमजोर भएका कारण त्यहाँ मेयर समाजवादीलाई दिन नहुने स्थानीय नेता कार्यकर्ताको तर्क छ ।
त्यसो त नयाँ पार्टी भएका कारण सो पार्टीको देशैभरिको मतभार कति भनेर मुल्यांकन गर्न सहज छैन । एकीकृत समाजवादीमा गण्डकी प्रदेशबाट न प्रदेश सभामा कोही सांसद छैनन् । नेपालको पकड कमजोर भएको क्षेत्रमध्येमा पर्छ पोखरा । नेताहरूले बलियो जनमत नभएका कारण एकीकृत समाजवादीलाई मुख्य पदमा उम्मेदवारी दिन नसकिने दाबी गरेका छन् ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार गठबन्धन दलका बीच सिट बाँडफाँडको टुंगो लाग्ने दाबी गरे । ‘हामीले तालमेलका विविध पक्षमा छलफल गर्यौँ, निष्कर्षको नजिक पुगेका छौं,’ मन्त्री कार्कीले भने, ‘कुनै एकमा मात्रै सहमति भयो वा भएन भनेर हेर्न मिल्दैन । हामीले समग्रमा सहमति खोज्ने र शक्ति बाँडफाँड गर्ने कोसिस गरिरहेका छौं ।’ उनका अनुसार गठबन्धनको अर्को बैठक मंगलबार दिउँसो साढे ११ बजे बस्नेछ ।
एक नेताका अनुसार सोमबारको बैठकमा अधिकांश समय महानगरपालिकामै सहमति जुटाउन प्रयास भयो । बैठकमा उपमहानगरपालिकाबारे धेरै छलफल नै भएन । माओवादी केन्द्रका नेता देव गुरुङले लामो छलफल भएर केही विषयमा समझदारी भएपनि निर्णय हुन बाँकी रहेको बताए । ‘लामो छलफल भयो । धेरै आधार तय भइसकेको छ । करिब–करिब सहमति नजिक पुगेका छौं,’ उनले भने, ‘तर कुनै निर्णय भएको छैन । अर्को बैठकले निर्णय गर्छ ।’
