गठबन्धन गर्न कसैकहाँ जाँदैनौं : राप्रपा नेता लोहनी

वैशाख ५, २०७९

भवानी भट्ट

कञ्चनपुर — राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले स्थानीय तहको निर्वाचनका लागि राप्रपाको गठबन्धन गर्ने योजना नरहेको बताएका छन् । उनले कुनै पनि पार्टीसँग गठबन्धन गर्नका लागि राप्रपा नजाने बताएका हुन् ।

राप्रपाको कसैसँग पनि गठबन्धन गर्ने योजना नरहेको उनले बताए । ‘हामी तपाइसँग मिल्नुपर्‍यो भनेर कसैकहाँ जानेवाला छैनौं,’ लोहनीले भने, ‘स्थानीय अवस्था अनुसार जिल्लास्तरमै कसैले तालमेल गर्न सक्छन्, तर केन्द्रबाट गठबन्धन हुँदैन ।’

नेता लोहनीले जिल्ला कार्यसमितिले नै आवश्यकताका आधारमा तालमेल गर्नसक्ने बताए । स्थानीय तहको निर्वाचनमा राप्रपाले धेरै ठूला मुद्दाहरु नबोकेको पनि बताए । तर जनताका समस्याहरु बोकेर चुनावमा जाने उनले बताए ।

‘हामीले चुनाव जितेको पालिकामा कक्षा १२ सम्मको शिक्षा नि:शुल्क भनेका छौं,’ उनले भने, ‘स्वास्थ्य र कृषि क्षेत्रमा पनि हामीले विभिन्न योजना ल्याएका छौं ।’ उनले ठूला भनिएका दलहरु कांग्रेस, एमाले र माओवादी लगायतलाई जनताले पटकपटक मौका दिँदा पनि सुशासन दिन नसकेकाले एक पटक राप्रपालाई मौका दिन आग्रह गरेका थिए ।

राप्रपाले सकभर सबै स्थानीय तहमा उम्मेदवारी दिने उनको भनाइ थियो । ‘अहिले देशभर नगरपालिका र गाउँपालिका होइन डोजरपालिका भएका छन्,’ उनले भने, ‘पालिका प्रमुखले निर्वाचित हुनेबित्तिकै पेश्की लिएर डोजर किने अनि मनपरी ढंगले बाटो खन्ने, दुई घण्टा काम गरेर १० घण्टा देखाउने, यही हो यीनीहरुको सिंहदरबार ।’

यस क्रममा लोहनीले राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीचको विवादले मुलुकमा आर्थिक तरलताको समस्यालाई झन बढाउने बताएका थिए । ‘बिना कारण गभर्नर हटाउने काम अहिलेको संकटको समाधान होइन,’ उनले भने, ‘अहिले त छलफल गरेर समाधानको उपाय खोज्ने हो, तर त्यसको सट्टा गभर्नर हटाइयो ।’ उनले अहिले नै मुलुकमा आर्थिक संकट आइनसकेको तर कारण खोजेर समाधान नगरे साँच्चै संकट आउने बताए ।

स्थानीय तह निर्वाचन २०७९

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully