१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जनमत पार्टीले टुंग्यायो मधेसका ११० तहको उम्मेदवारी

जनकपुर — सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशका १ सय १० पालिकाका प्रमुख र उपप्रमुख टुंग्याएको छ । उम्मेदवारलाई जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालयमा सोमबार टिकट वितरणसमेत गरिएको छ । 

जनमत पार्टीले टुंग्यायो मधेसका ११० तहको उम्मेदवारी

जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका सबै १ सय ३६ वटै पालिका, प्रदेश १ को मोरङ र सुनसरीका केही पालिका र लुम्बिनी प्रदेशका केही पालिकामा उम्मेदवारी दिँदैछ । मधेस प्रदेशका एक महानगर वीरगन्ज, तीन उपमहानगर जनकपुर, कलैया र सिमरा–जितपुरको प्रमुख र उपप्रमुख टुंग्याउन बाँकी रहेकाले उनीहरुलाई पछि टिकट वितरण गरिने पार्टीका नेता बीपी साहले बताए । ‘सोमबार मधेस प्रदेशका १ सय १० पालिकाको प्रमुख र उपप्रमुखलाई टिकट नै वितरण गरिसकिएको छ, ’ साहले भने, ‘टिकट दिएसँगै उहाँहरुलाई आ–आफ्नो पालिकामा गएर चुनावी प्रचारप्रसार र गतिविधि बढाउन भनिएको छ ।’

जनमत पार्टीले आफ्ना उम्मेदवार चयनका लागि ९ वटा मापदण्ड तोकेको थियो । नेता साहका अनुसार त्यही मापदण्डमा टेकेर उम्मेदवारको छनोट गरिएको छ । स्थानीय तहमा बसेर जनसमर्थन पाएको, पार्टीमा योगदान गरेको व्यक्ति, भ्रष्टाचारलगायतका मुद्दामा विवादमा नतानिएको, संगठन विस्तार र आन्दोलनमा सक्रिय सहभागिता जनाएकालाई जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पालिकाको मेयर र उपमेयरको उम्मेदवार बनाएको छ ।

‘पार्टीमा धेरै अघिदेखि लागेका व्यक्तिहरुलाई टिकट बाँडिएको छ,’ जनमत पार्टीका अध्यक्ष राउतले भने, ‘पार्टीमा लागेको योगदानलाई ध्यानमा राखेर टिकट बाँडिएको हो । ठेकेदार र अन्य दलबाट टिकट लिन मात्रै हाम्रो पार्टीतिर आउनेलाई टिकट बाँडिएको छैन ।’

पार्टीले टिकट वितरण गरिएको उम्मेदवारलाई चुनावी खर्च आफैं बन्दोबस्त गर्न निर्देशनसमेत दिएको छ । जनमत पार्टीले वडाको भने वैशाख ७ र ८ गते उम्मेदवार टुंग्याउने र महानगरपालिका तथा उपमहानगरपालिकाको उम्मेदवार एक–दुई दिनमै तय गर्ने जनाएको छ ।

प्रकाशित : वैशाख ५, २०७९ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?