बागलुङमा दुई जना कोरोना संक्रमितको मृत्यु

असार ८, २०७८

प्रकाश बराल

बागलुङ — धौलागिरी अस्पतालमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुष र बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय पुरुष रहेका छन् ।

गत जेठ १९ गते अस्पतालमा भर्ना भएका बडिगाडका पुरुषको स्वास्थ्यमा सुधार नआएपछि मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । बागलुङ नगरपालिकाका ८२ वर्षीय वृद्धलाई भने सोमबार मात्रै अस्पताल भर्ना गरिएको थियो । 

मंगलबार बागलुङ नगरपालिका–३ को एउटै टोलमा ३५ जनामा कोरोना पुष्टि भएको छ । छिमेकीको विवाहमा सरिक भएको दुई सातापछि उनीहरुमा कोरोनाको लक्षण देखिएको थियो । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार उक्त टोल सिल गरिने भएको छ । 

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully