म्याग्दी — जिल्लाका सबै ६ वटै स्थानीय तहले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मनोवल बढाउन, आधारभूत औषधि पुर्याउन र स्वास्थ्य सावधानीसम्बन्धी परामर्श दिन घरदैलो थालेका छन् ।
डाक्टर तथा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र प्रहरी सम्मिलित टोलीले कोरोना संक्रमितको घरमै पुगेर स्वास्थ्य अवस्था जानकारी लिने, अक्सिजन लेभल नाप्ने, सिटामोल, जिंक, भिटामिनसमेतका औषधि पुर्याउने, होमआइसोलसनमा संक्रमित, परिवारलाई स्वास्थ्य परामर्श दिने गरेका छन् ।
‘होमआइसोलेसनमा बसेको संक्रमितको स्वास्थ्य अवस्था समयमै जानकारी नहुँदा उपचारमा कठिनाइ हुने गरेको छ । त्यसैले संक्रमित भेट्न घरदैलो गर्ने परामर्श सुरु गरेको हो,’ मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले भने, ‘घरदैलोबाट संक्रमितको स्वास्थ्य अवस्था अपडेट भएको छ । पल्स अक्सिमिटर नाप्ने, औषधि घरमै पुर्याउँदा संक्रमितको मनोबल उच्च भएको छ ।’
संक्रमितमध्ये निमोनिया भइसक्दा पनि घरमै बस्ने गरेको र होम आइसोलेसनमा सावधानी नअपनाएको बढेपछि स्वास्थ्यकर्मीसमेत जनप्रतिनिधि संक्रमितको घरदैलो र बस्तीमा सचेतना कार्यक्रम गर्न थालेका हुन् ।
‘तर सबै संक्रमितको चेतनास्तर एकै नहुँदा कोही संक्रमित घरमै अलपत्र पर्ने, कोहीले सावधानी नै नअपनाउने गरेको भेटिए,’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘घरदैलो कार्यक्रमले समुदायमा लुकेर रहेका संक्रमितको पहिचान गर्ने, संक्रमित र जोखिममा रहेका परिवार सदस्यलाई स्वास्थ्य उपचार तथा संक्रमितबाट बच्न परामर्श गर्ने र दूरदराजका बिरामीलाई सरकारको अनुभूति दिन सकियो ठानेका छौं ।’
