गोरखा, बागलुङ — परीक्षण गरिएकामध्ये हालसम्म जिल्लाभर ११ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ । ३४.४ प्रतिशतको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
‘दुई हजार ७ सय २१ को पीसीआर रिपोर्ट आउँदा ९ सय ३९ जनाको पोजिटिभ आएको छ । ५ सय ७९ को एन्टिजेन परीक्षण गराउँदा १ सय ९८ जनामा संक्रमण देखियो,’ उनले भने, ‘यो राम्रो होइन ।’ संक्रमण पुष्टि भएकामध्ये हालसम्म २ सय २७ जना निको भएका छन् । झन्डै १४ सयको पीसीआर रिपोर्ट आउनै बाँकी छ ।
गाउँमा विवाह, व्रतबन्धको भोजले पनि संक्रमण तीव्र रूपमा फैलिएको उनले बताए । ‘फेरि स्वास्थ्यमा समस्या आएकाले पनि परीक्षण गराउन नमान्ने स्थिति छ,’ अर्यालले भने । संक्रमण देखिएकाको होम आइसोलेसनको बसाइ व्यवस्थित नहुँदा पनि संक्रमणको दर बढेको हो ।
भीमसेन थापा गाउँपालिकामा मात्र दुई सय ३५ जना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिकामा संक्रमितको संख्या २ सय ३१ पुगेको छ । पालुङटार नगरपालिकामा संक्रमितको संख्या ८४ छ भने सहिद लखनमा १ सय २८ मा संक्रमण पुष्टि भएको छ । गाउँमा निषेधाज्ञाको पूर्ण पालना नहुँदा पनि संक्रमण फैलिएको स्वास्थ्यकर्मी बताउँछन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सके संक्रमणको दर घटाउन सकिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए । ‘एक हप्तामा निको हुनेको संख्या बढ्नेछ । अब दुई/तीन साताको पिक आवरमा सचेत हुन सके संक्रमण फैलावट रोक्न सकिन्छ,’ खड्काले भने, ‘विस्तारै नयाँ पोजिटिभ घट्दै जाने र निको हुने दर बढ्दै गए संक्रमण दर शून्यको अवस्थामा पुर्याउन सकिन्छ ।’
टोलटोलमा परामर्श
बागलुङमा संक्रमण ह्वात्तै बढेपछि यहाँका सामाजिक अभियन्ता र स्वास्थ्यकर्मी मिलेर घरघरमा स्वास्थ्य परामर्शसँगै संक्रमितलाई औषधि उपचारसमेतको सेवा दिएका छन् ।
सहयोग पाएर स्थानीय खुसी छन् । ‘घरमै आएर स्वास्थ्यकर्मी, पत्रकार र रेडक्रसका पदाधिकारीले भेट्नुभयो,’ काठेखोला गाउँपालिका–८ का एक संक्रमितले भने, ‘परामर्शसहित औषधि पनि पायौं, मनोबल पनि बढेको छ ।’ परामर्शले बिरामीको मुहारमा हौसला र खुसी थपिएको वडाध्यक्ष चित्रकला छन्त्यालले बताइन् । जिल्लाका सामाजिक संस्था र स्वास्थ्यकर्मीले जनप्रतिनिधिको सल्लाहमा सातादेखि यो अभियान चलाएका छन् ।
संस्थाले धेरै संक्रमित भेटिएका काठेखोला र बडिगाड गाउँपालिका तथा बागलुङ नगरपालिकाका वडा तहमा मास्क, अक्सिमिटर र थर्मलगनलगायत स्वास्थ्य सामग्री पुर्याएका छन् । कोरोना संक्रमितमध्ये कतिपयलाई बान्ता, पखाला र शरीर दुख्ने समस्यासमेत देखिएको थाहा पाएपछि स्वास्थ्यकर्मीकै उपस्थितिमा आवश्यक औषधिको जोहो गरिएको जिल्ला रेडक्रसका कोषाध्यक्ष श्रीधर कँडेलले बताए ।
जटिल अवस्था आएमा अस्पताल जान र सामान्य भएमा घरमै बसेर औषधि र स्वास्थ्य सामग्री प्रयोग गर्न लगाइएको छन्त्यालले बताइन् । स्वास्थ्यकर्मीले अवस्था हेरेर भिटामिन सी, जिंक चक्की, पकेट सेनिटाइजरलगायतका सामग्री दिएका छन् । यहाँको कादेश टोलमा मात्रै १ सयको हाराहारीमा संक्रमित छन् । उक्त टोलका एक जनाको मृत्यु भएको छ ।
बडिगाड–४ मा एकैघरका ४ सहित ९ जनाको ज्यान गइसकेको छ । ‘कतिपयलाई हेलिकप्टरबाट उद्धार गर्नुपरेको छ, तीनवटा एम्बुलेन्स स्टान्डबाइ राखिएको छ,’ अध्यक्ष राजन पाइजाले भने ।
