मकवानपुर — मकवानपुरको राक्सिराङ गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितहरू अहिले खेतीपाती र गोठालो जानेसम्म गरिरहेका छन् ।
जिल्लाकै दुर्गम कैलाश गाउँपालिका– ९ र १० वडामा ३० जनाभन्दा बढी संक्रमित छन् । तर उनीहरू बजारमा घुमफिर र खेतीपातीका काममा संलग्न हुँदै आएका छन् । ‘कोरोना पोजिटिभ देखिए पनि खासै केही भएको छैन,’ कैलाश–९ का ३९ वर्षीय एक पुरुषले भने, ‘अलि–अलि ज्वरो आएको छ, बेलाबेला खोकी लाग्छ ।’
कैलाश गाउँपालिकाका बेतेघारी, गोपीराङ, धादरलगायत बस्तीका अधिकांश बासिन्दा ज्वरो आउने, जीउ दुख्ने र खोकी लाग्ने समस्याबाट पीडित छन् । तर कोरोनाको लक्षण भनेर जाँच भने गराएका छैनन् । ‘अधिकांशलाई कोरोनाकै जस्तो लक्षण देखिएको छ,’ स्थानीय युवा समीर रुम्बाले भने, ‘तर उनीहरूले जँचाएका छैनन् ।’
राक्सिराङ र कैलाश गाउँपालिका मात्र होइन थाहा नगरपालिका–१ को कुलगाउँ र थोकर गाउँमा पनि कोरोना संक्रमित छन् । उक्त गाउँका संक्रमित पनि घरभित्र बस्दैनन् । उनीहरू बाहिर हिँड्ने गरेको स्थानीय बताउँछन् । गत वर्ष थाहा नगरपालिकामा ७५ जना मात्र संक्रमित भएका थिए । अहिले तीन सातामा २ सय २५ जनाभन्दा बढी संक्रमित पाइएका छन् ।
अधिकांश संक्रमित होम आइसोलेसनमा बसेका छन् । उनीहरू पनि बेलाबखत घरबाहिर निस्केर हिँड्ने गरेका छन् । ‘संक्रमितहरू घरबाट बाहिर निस्केका कारण संक्रमितको संख्या बढेको हुन सक्छ,’ थाहा नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले भने ।
केही संक्रमित घरबाहिर हिँडडुल गरिरहेको सूचना आएको उनले बताए । थाहा नगरपालिकाले २० बेडको अक्सिजनसहित आइसोलेसन निर्माण गरेको छ तर कोही पनि आइसोलेसनमा बसेका छैनन् । होम आइसोलेसनमा बसेकाहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएका कारण संक्रमितहरू बढेको डा. रिकेश कार्कीले बताए ।
