संक्रमितको सेवामै दंग छन् दम्पती

‘बिरामी बचेर घर फर्काएको दिन हनिमुनवाला खुसी महसुस हुन्छ’
मधु शाही

नेपालगन्ज — कोरोनाको पहिलो लहर चल्दा एक वर्षअघि बाँके संक्रमणको केन्द्र बनेको थियो । त्यतिबेला संक्रमितको उपचारमा कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा कार्यरत डा. शिशिर खड्का र डा. गोमा रिमालले बिरामीको सेवा गरे । दुवैले संक्रमितको उपचारलाई ध्यान दिए ।

संक्रमितको सेवामै दंग छन् दम्पती

संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र पीपीई लगाएर भौतिक दूरी कायम राखी उपचारमा खटिए । तर दुवैको मनको दूरी भने नजिकिँदै गयो । कोरोनाको त्रास, नियमित उपचार गर्नुपर्ने बेला एक्लोपन महसुस गर्न नदिने साथी बने । दुवै प्रेममा बाँधिए ।

गत वर्षको कोरोना लहरमा अंकुराएको चिकित्सक जोडीको प्रेम संक्रमण कम भएका बेला मौलाउने अवसर पायो । जिल्लामा अहिले कोरोनाको दोस्रो लहर व्यापक छ । दुवैको प्राथमिकता संक्रमितको उपचार नै हो । यही बेला उनीहरूले विवाह गरेका छन् । सम्बन्धले वैधानिकता पाएको छ । काम गर्ने समय, परिवेश, अवस्था भने गत वर्षको जस्तै छ । शिशिर र गोमाले बिहे गरेको एक महिना पनि पूरा भएको छैन । उनीहरूले यसबीच ‘हनिमुन’ मनाउन नपाएको बताए ।

दुवै एक वर्षदेखि उपचारमा निरन्तर छन् । अहिलेलाई हनिमुन जाने योजना थाती राखेको उनीहरूले बताए । कर्ममै रम्ने दम्पतीको अहिलेको खुसी बिरामीको उपचारमा छ । आफूले उपचार गरेका बिरामी निको भए खुसी साट्छन् । ‘बिरामी बचेर घर फर्काएको दिन हनिमुनवाला खुसी महसुस हुन्छ,’ गोमाले भनिन् ।

गोमा गाइनोकोलोजिस्ट हुन् । शिशिर एनेस्थेसियन । उनीहरूको विशेषज्ञता एकअर्काको भन्दा फरक छ । तर परिस्थितिअनुसार परिपूरक बनेका छन् । गोमाले प्रसूति गराउँदा शिशिरको धेरैपटक सहारा लिएको बताइन् । यहाँसम्म कि उनले गर्दा नै गोमाका अधिकांश गम्भीर प्रकृतिका गर्भवती बचाउन सफल भएका छन् । कोरोना संक्रमित गर्भवती, उच्च रक्तचाप र रगत बग्नेजस्ता जटिल प्रकृतिका समस्या आइपर्छ । यतिबेला आईसीयू हेर्ने शिशिरले बेलैमा साथ दिएर बिरामी बचाएको गोमाले बताइन् । ‘केही भइहाल्यो भने उहाँलाई नै भन्छु,’ उनले भनिन्, ‘बिरामीले नै हामीलाई एकसाथ बनाएका छन् ।’

अस्पतालमा कोभिडका बिरामीको चाप बढ्दो छ । स्वास्थ्यकर्मीको जनशक्ति कम छ । अस्पतालको होस्टलमा बस्दै आएका उनीहरू अहिले पालैपालो ड्युटीमा खटिएका छन् । संक्रमितको उपचार गर्दागर्दै दुवै जना आफैं पनि संक्रमित भए । केही साता घरमै बसेर उपचार गरे । तर पीसीआर जाँच गराएनन् । सामान्य लक्षण देखिएकाले आफ्नो उपचार आफैं गर्दै बिरामीको सेवा गरिरहे । ‘पीसीआर गर्दा पोजिटिभ आयो भने १० दिन बिदामा बस्नुपर्छ । बिदा बस्दा संक्रमितको उपचार गर्न पाइँदैन भनेर जाँच नै नगराई ड्युटी पूरा गर्‍यौं,’ उनीहरूले अनुभव सुनाए ।

डा. शिशिरले आफ्नो बिहेलाई ‘कोभिड स्पेसल विडिङ’ भनेर रमाइलो उपनाम दिएका छन् । धेरै साथीलाई थाहै नदिई सुटुक्क बिहे गर्नुपर्दाको क्षण, बिहेमा पनि मास्क र सेनिटाइजरको भरोसा र हनिमुन पनि अस्पतालमै । यी सबै उनका लागि अविस्मरणीय पल हुन् । यदि कोरोना संक्रमण नभएको भए सायद यो नवजोडी कैयौं दिन बिदा लिएर घुमफिरमा निस्किन्थ्यो । ८० नाघेका बुबाआमालाई साथमा राखेर हेरचार गर्ने मन हुँदाहुँदै पनि उनीहरू घर जान पाएका छैनन् । बिहे गरेको तेस्रो दिनमै उनीहरू अस्पताल आए ।

दैलेख घर भएका सासूससुरालाई बुहारीले एक छाक खाना पकाएर खुवाउन नपाउँदा गोमा कताकता दुखेसो पोख्छिन् । ‘न सँगै राख्ने स्थिति छ, न घर जाने अवस्था,’ शिशिरले भने, ‘अहिले मान्छे बचाउनुबाहेक अरू केही दिमागमा आउँदैन ।’

कोरोना संक्रमण भएका गर्भवतीको प्रसूति गराउन व्यस्त गोमाले पछिल्लो समय झन् संवेदनशील भएर ड्युटी गर्नुपरेको अनुभव सुनाइन् । लकडाउन, संक्रमणको डरलगायत कारणले धेरैजसो गर्भवती मिति नाघेपछि प्रसूति गर्न अस्पताल आउँछन् । यसले जटिलता ल्याउन थालेको उनले बताइन् । यद्यपि, शल्यक्रिया गरेर भए पनि आमा र बच्चा दुवैलाई सुरक्षित गर्न सकिएको उनले सुनाइन् । यहाँ वैशाखयता २ जना गर्भवतीको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?