तनहुँ — दोस्रो लहरको कोरोना संक्रमण फैलने क्रम बढ्न थालेपछि जिल्लामा थप १५ दिन निषेधाज्ञा लम्बाइएको छ ।
कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनिकरणका लागि गत वैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालयले संक्रमण समुदायस्तरमै फैलिएको हुँदा संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै जेठ १५ गतेसम्म निषेधाज्ञा थपेको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान बसेको बैठकले पुन: १५ दिन निषेधाज्ञा थप्न जिल्ला प्रशासन कार्यालय तनहुँलाई सिफारिस गरेको थियो । केन्द्रले आयोजना गरेको सर्वपक्ष बैठकबाट भएको सिफारिसलाई कार्यान्वयन गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । उनका अनुसार निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक सेवा खरिद बाहेक सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ ।
‘अत्यावश्यक सेवाहरुबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु पूर्णरुपमा रोक लगाइएको छ’ उनले भने, ‘खाद्यवस्तु र तरकारी खरिदका लागि बिहान ५ देखि ९ बजे सम्मको समय तय गरिएको छ ।’
