मजदुरलाई उद्योगभित्र बस्ने व्यवस्था गरेर मात्रै उद्योग चलाउन पाइने
मोरङ — जिल्ला प्रशासन कार्यालय मोरङले तेस्रोपटक जेठ ११ गते मध्यरातिसम्म निषेधाज्ञा थप गर्ने शुक्रबार निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएकाले मजदुरलाई स्वास्थ्य मापदण्ड अनुकूल उद्योगभित्रै बसाई व्यवस्थापन गरेर उद्योग व्यवसाय सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले निर्देशन दिएका छन् ।
उनले खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, खानेपानी, माछामासु, दूध, डेरीलगायतका पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको बताए ।
सार्वजनिक निर्माणको काम बाहेकका निर्माण काममा प्रजिअ निरौलाले निषेधाज्ञा अवधिभरि रोक लगाएको बताए । निर्माण सामग्री बोक्ने टिपर बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । यी बाहेकका सबै सेवा प्रवाहमा निषेधाज्ञा अवधिभर रोक लगाइएको उनले बताए ।
बैंक तथा वित्तीय संस्थाहरुलाई अनकल सर्भिस, एटिएम सेवा व्यवस्थित रुपमा प्रवाह गर्न प्रजिअ निरौलाले निर्देशन दिएको छ । अत्यावश्यक काम बाहेक घरबाट कसैलाई पनि ननिस्किन उनले आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले वैशाख १८ गते मध्यरातिदेखि निषेधाज्ञा लगाएको थियो । दोस्रोपटक जेठ १ गते मध्यरातिसम्म निषेधाज्ञा लगाएको थियो ।
