धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका मध्ये पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार शुक्रबार दिउँसोसम्म मृत्यु हुनेमा कैलालीका ५ पुरुष, कञ्चनपुरका एक महिला र एक पुरुष तथा दार्चुलाका एक पुरुषसमेत ८ जना हुन् ।
मृत्यु हुनेहरुमा कैलालीको लम्किचुहा–७ का ४५ वर्षीय पुरुष, दार्चुलाको मार्मा–५ का ४० वर्षीय पुरुष, कैलालीको धनगढी–४ का ५१ वर्षीय पुरुष, कञ्चनपुरको पुनर्वास– ६ की ३८ वर्षीया महिला, कैलालीको धनगढी–४ का ५६ वर्षीय पुरुष, कञ्चनपुरको बेलौरी–११ का ३८ वर्षीय पुरुष, कैलालीको गोदावरी–२ का ७३ वर्षीय पुरुष र कैलालीकै धनगढी–२ का ३३ वर्षीय पुरुष रहेको श्रेष्ठले बताए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा शुक्रबार दिउँसोसम्म उपचाररत ९८ जना संक्रमितमध्ये २ जनाको भेन्टिलेटरमा, आईसियूमा १६ जना र अक्सिजनको सपोर्टमा ८० जना तथा अन्य २ जना रहेका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा १ हजार २०३ जनाको परीक्षणमा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ ।
