गोरखा — गोरखा नगरपालिका–१४ मा कोरोना संक्रमणबाट मृत्यु भएकाको १८ घण्टादेखि शव उठ्न सकेको छैन । होम आइसोलेसनमा बसेका गोरखा नगरपालिका–१४ का ३६ वर्षीय पुरुषले मंगलबार राति सलको पासो लगाएर आत्महत्या गरेका थिए ।
‘हिजो बेलुकी ९ बजेको घटना हो, अहिले सवा चार भइसक्यो, शव संस्कारका लागि उठाउन सकेनौं,’ स्थानीय सन्तोष नेपालीले भने,‘हामी पनि बाहिर छौं, ढोकासम्म पुग्न पनि प्रहरीले दिएको छैन, शव उठाउन नेपाली सेना आउने भनेको अहिलेसम्म आएन ।’
बुधबार दिनभर घर बाहिर नै स्थानीयले शव रुघेर बसेका छन् । ‘शव व्यवस्थापनका लागि गाडी आउँछ भनेको ६ घण्टा भयो, १२ बजेदेखि गाडी आउँछ भनेको अझै गाडी आएन,’ नेपालीलले भने,‘शव झुण्डिएको अवस्थामा छ ।’
शव व्यवस्थापनको लागि नेपाली सेनासहितको टोली देउराली पठाइ सकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘गाडी व्यवस्थापनका ढिलाइ भयो, अहिले गाडीसहित टोली पठाइसकेको छौं,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने ।
मंगलबार राति आत्महत्या गरेका ती पुरुषमा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । ‘घरमै उहाँ झुण्डिएको अवस्थामा मृत फेला पर्नुभयो,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले भने,‘ नेपाली सेनालाई शव व्यवस्थापनको लागि आग्रह गरेका छौं ।’ भारतको फरिदावादको कपडा उद्योगमा काम गर्दै आएका ती पुरुष चैत २६ गते घर फर्किएका थिए । वैशाख ९ गते नमुना परीक्षण गरिएको र १० गते कोरोना संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
