नवलपरासी पूर्वका ६ वटा स्थानीय तहमा  लकडाउन

भाद्र २, २०७७

नारायण शर्मा

नवलपरासी पूर्व — कोरोना संक्रमण बढ्दै गएपछि नवलपरासी पूर्वका ६ वटा पालिकामा लकडाउन गरिएको छ । शिक्षक, कारखानामा कार्यरत मजदुर, पत्रकार, पसल संचालक, बैंक कर्मचारी,एक सरकारी कर्मचारी र १४ जना सर्वसाधारणमा एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय पालिकाले लकडाउनको घोषणा गरेका हुन् ।

कावासोती नगरपालिका वडा नम्बर २ मा एकै परिवारका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले जानकारी दिए । एकै परिवारका बाबुआमा र छोरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । 

विनयी त्रिवेणी गाउँपालिका, बौदीकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिकालमा कोरोना संक्रमितको संख्या बढदै गएपछि भदौ ८ र १५ गतेसम्म लकडाउन घोषणा गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले एक सातायता कोरोना संक्रमण पुष्टि भएका पालिकाहरुमा एकैपटक लकडाउन गर्ने निर्णय गरेको हो । 

गैंडाकोट नगरपालिका र बुलिङटार गाउँपालिकामा भने लकडाउन छैन ।

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिकामा लकडाउन घोषणा गरिएको जानकारी दिए । बौदीकाली गाउँपालिकामा भदौ १५ गतेसम्म लकडाउन गरिएको अध्यक्ष दुर्गाबहादुर रानाले जानकारी दिए । 

देवचुली नगरपालिकामा सोमबार राति १२ बजेबाट भदौ ८ गते राति १२ बजेसम्म लडडाउन जारी रहनेछ । 

नवलपरासी पूर्वमा पछिल्लो एक सातामा अवधिमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी पूर्वमा एक साता यता गरिएको पीसीआर परिक्षणमा ४ महिलासहित १७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार बिहानसम्म ननवलपरासी पूर्वमा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय २७ जना उपचारपछि घर फर्किएका छन् भने २१ जना रजहरस्थित प्राकृतिक चिकित्सालयमा उपचाररत रहेका छन् ।  

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully