रेमडेसिभिरमा कालोबजारी

कोरोनाका गम्भीर संक्रमितलाई चिकित्सकले रेमडेसिभिर सिफारिस गरिदिन्छन् तर बजारमा यो औषधि पाइँदैन । कालोबजारमा महँगोमा किन्नुपर्ने बाध्यता छ ।
फातिमा बानु

काठमाडौँ — काठमाडौं मन्डिखाटारका ९३ वर्षीय एक पुरुषमा गत बुधबार कोरोना संक्रमण पुष्टि भयो । तुरुन्तै उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसीयू कक्षमा भर्ना गरियो । उपचारका क्रममा श्वासप्रश्वासमा समस्या भयो, रगतमा संक्रमण देखियो ।

रेमडेसिभिरमा कालोबजारी

चिकित्सकले थप उपचारका लागि रेमडेसिभिर (इन्जेक्सन) सिफारिस गरिदिए । नेपाली बजारमा यो औषधि पाइँदैन । परिवारका सदस्यले चिनजानका औषधि व्यापारीदेखि नेता, मन्त्री सबैलाई गुहारे । केही व्यापारीले एक डोजको ४५ हजार तिर्ने भए भारतबाट औषधि ल्याइदिने बताए ।

‘डाक्टरले बुबालाई १२ डोजसम्म औषधि चाहिन्छ भनेका छन्,’ संक्रमितकी छोरीले भनिन्, ‘एक त महँगो अस्पतालमा बुबालाई भर्ना गरिएको छ, त्यहीमाथि ५ लाख ४० हजारको औषधि ल्याउने हाम्रो आर्थिक क्षमता छैन ।’ यसै क्रममा ह्याम्समै उपचाररत एक संक्रमितले आफूलाई बढी भएको तीन डोज (भाइल) रेमडेसिभिर उनलाई बेचे । जुन प्रतिभाइल २५ हजार रुपैयाँ पर्‍यो । ती महिलालाई बुबाको उपचारका लागि बाँकी औषधि कहाँबाट जुटाउने भन्ने चिन्ता छ । ‘मन्त्रालयदेखि औषधि विभागसम्म धाइसकें,’ उनले भनिन्, ‘अब ४५ हजार तिरेर भए पनि ल्याउनुपर्छ कि !’

विराटनगरको नोबेल मेडिकल कलेजका दुई चिकित्सकमा साउन २४ गते कोरोना संक्रमण पुष्टि भयो । थप उपचारका लागि उनीहरूलाई महाराजगन्जस्थित शिक्षण अस्पताल काठमाडौं ल्याइयो । दुईमध्ये एक चिकित्सकको अवस्था गम्भीर भएपछि चिकित्सकले रेमडेसिभिर सिफारिस गरे । आकस्मिक रूपमा भए पनि औषधि ल्याउने अनुमति दिनुपर्‍यो भन्दै संक्रमित चिकित्सकका मित्र डा. अब्दुल हुसैन अन्सारी औषधि व्यवस्था विभाग पुगे ।

विभागले आयातकर्तालाई एक साताभित्र औषधि ल्याउने अनुमति दिने भन्दै उनीसँग तीन हजार रुपैयाँ शुल्क पनि लियो । साता दिन बित्दा पनि औषधि नआएपछि अहिले चिकित्सकले महँगो शुल्क तिरी भारतबाट सिधै औषधि ल्याएर प्रयोग गरिरहेका छन् । उनका आफन्तले दुई लाख रुपैयाँ तिरेर १० भाइल औषधि मगाएका हुन् । नेपालमा सर्वसुलभ भएको भए उनको ८० हजारमै औषधि खर्च टर्थ्यो । ‘हामी चिकित्सकलाई नै उपचार पाउन यस्तो गाह्रो छ, आम नागरिकको हालत के होला,’ डा. अन्सारीले भने ।

कोरोना संक्रमणको उपचारका लागि विभिन्न मुलुकले परीक्षण (क्लिनिकल ट्रायल) मा प्रयोग गर्दै आएको रेमडेसिभिर (इन्जेक्सन) नेपालमा आयात नहुँदा सास्ती बेहोर्ने थुप्रै छन् । ४ देखि ७ हजार रुपैयाँमा पाइने यो औषधि नपाउँदा कतिपय बिरामीले कालोबजारबाट ७० हजारदेखि १ लाख रुपैयाँ महँगो शुल्क तिरेर प्रयोग गरिरहेको संक्रमितको उपचारमा संलग्न चिकित्सकहरू नै बताउँछन् ।

संक्रमणका कारण शिथिल भएर आईसीयू र भेन्टिलेटर उपचारसम्म पुगेका बिरामीमाथि यो औषधि प्रयोग गर्नुपर्छ भनेर चिकित्सकहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि औषधि व्यवस्था विभागले आयात अनुमति दिन ढिलाइ गरिरहेको थियो । नेपाल औषधि ऐन २०३५ अनुसार परीक्षणका लागि प्रयोग भइरहेका औषधि दर्ता गरेर आयात गर्न मिल्दैन । अमेरिका, बेलायत, बंगलादेश, चीन, भारत, पाकिस्तानलगायत मुलुकमा कोरोना संक्रमितमाथि यो औषधि आपत्कालीन प्रयोग भइरहेको छ ।

नेपाल मेडिकल काउन्सिलले जारी गरेको निर्देशिका (इन्टेरिम क्लिनिकल गाइडेन्स फर कोभिड–१९) ले पनि कोरोना संक्रमितलाई रेमडेसिभिर चलाउन मिल्ने उल्लेख गरेको छ । अरू एन्टिभाइरलभन्दा बढी प्रभावकारी भएकाले रेमडेसिभिर नेपालमा पनि चाँडै आयात गर्न आवश्यक रहेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले बताए । ‘कोसिस गर्ने हो भने नेपालमै यो औषधि उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘औषधि नल्याए कालोबजारी अझै मौलाउँछ, संक्रमितले दुःख पाउँछन् ।’

शनिबार मात्रै विभागले तीनवटा कम्पनीलाई भारतबाट रेमडेसिभिर ल्याउने अनुमति दिएको छ । तर भारतले यसलाई निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यही कारण आयात अनुमति दिइए पनि समयमा औषधि आउने हो कि होइन भन्ने अन्योल छ ।

प्रकाशित : भाद्र २, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?