लक्षणसहितका संक्रमित बढ्दै गए छिट्टै एक सय संक्रमितमध्ये ५ जनालाई आईसीयू र भेन्टिलेटर आवश्यक पर्न सक्ने विज्ञहरुको चेतावनी
काठमाडौँ — स्वास्थ्य मन्त्रालयले सघन उपचार कक्ष (आईसीयू) मा उपचार आवश्यक पर्ने कोभिड–१९ संक्रमितमध्ये १–३ प्रतिशतको मृत्यु हुन सक्ने जनाएको छ । आईसीयूमा भर्ना भएका एक सय बिरामीमध्ये एकदेखि तीन जनासम्मको मृत्यु भएकाले मन्त्रालयले यस्तो निष्कर्ष निकालेको हो ।
तर विज्ञहरूले भने यो अनुपात अझै बढ्न सक्ने दाबी गर्दै आएका छन् । आईसीयू, भेन्टिलेटरलगायत अस्पतालमै उपचार गर्नुपर्ने लक्षणसहितका कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेकाले मृत्युदर बढ्ने उनीहरूको आकलन छ । यही अवस्था रहे छिट्टै नै एक सय जना संक्रमितमध्ये ५ जनालाई आईसीयू र भेन्टिलेटर आवश्यक पर्न सक्ने उनीहरूले चेतावनी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने अस्पताल भर्ना भएका सबैलाई आईसीयू र भेन्टिलेटरमा राख्नु नपर्ने तर्क गर्छन् । ‘८० प्रतिशत संक्रमितमा सामान्य लक्षण देखिएर वा नदेखिएर पनि आफैं निको भएर जान्छ,’ उनले भने, ‘१० प्रतिशतलाई लाक्षणिक उपचार चाहिन सक्छ । त्यसमध्ये ५ प्रतिशतलाई मात्रै अस्पतालमा राखेर उपचार गर्नुपर्छ । यसरी भर्ना भएका केहीलाई मात्रै आईसीयू, अक्सिजन सपोर्ट, भेन्टिलेटर आवश्यक पर्न सक्छ ।’
आईसीयूमा उपचार चाहिनेमध्ये १–३ प्रतिशत बिरामी जोखिममा रहने उनको भनाइ छ । उनका अनुसार हाल आईसीयूमा उपचार हुँदाहुँदै मृत्यु भएकाहरूमा धेरैजसो वृद्धवृद्धा, रोगसँग लड्ने क्षमता कम भएका, मुटु, मिर्गौला, फोक्सोसम्बन्धी समस्या भएका छन् ।
एक सातायता आईसीयू, भेन्टिलेटरलगायत अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीहरूको संख्या बढेको छ । सोमबार देशभर १ सय १३ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ५९ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् । यस्तै, प्रदेश २ मा ४१ जना, प्रदेश ५ मा ११, प्रदेश १ र गण्डकीमा एक–एक जना संक्रमित आईसीयूमा उपचार गराइरहेका छन् । गत मंगलबार देशभर ३ जना भेन्टिलेटर र ८८ जना आईसीयूमा थिए ।
‘हाम्रो अस्पताल मात्र नभई देशव्यापी रूपमै कोरोनाको उपचारअन्तर्गत आईसीयू, भेन्टिलेटर र अस्पतालमै भर्ना गरी उपचार गराउनुपर्नेको संख्या तीव्र गतिले बढिरहेको छ,’ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास भन्छन्, ‘आज (सोमबार) का दिनमा हामीकहाँ ५० जना कोरोना संक्रमित भर्ना छन् । जसमध्ये पाँच जना आईसीयूमा छन् ।’
विज्ञहरूका अनुसार विश्वव्यापी आँकडा हेर्ने हो भने औसतमा भेन्टिलेटरमा उपचाररत संक्रमितमध्ये ६०–७० प्रतिशतको मृत्यु हुने गरेको छ । नेपालमा पनि हालसम्म भेन्टिलेटरमा उपचार भएका कोरोना संक्रमितको मृत्युदर बढी देखिएको छ । शिक्षण अस्पतालमा यसअघि ६ जनालाई भेन्टिलेटरमा राख्नुपरेकोमा चार जनालाई बचाउन नसकिएको डा. दास बताउँछन् । ‘देशभर पनि भेन्टिलेटरमा गएकाहरूमा मृत्युदर बढी छ,’ उनले भने ।
संक्रमणको अवस्था दिनहुँ खराब भइरहेको बताउँदै उनले भारत र नेपालमा उस्ताउस्तै प्रकृतिको अवस्था देखिए पनि भारतपछि नेपालमा जोखिम बढ्दै गएको दाबी गरे । पछिल्लो समय कोरोना संक्रमितको उपचार गर्नुपरेकाले आगामी दिनमा आईसीयू, भेन्टिलेटरमा उपचार पाउन अत्यन्त गाह्रो हुने त्रिवि शिक्षण अस्पतालका आईसीयू विभाग प्रमुख डा. सुवास आचार्यले बताए । ‘देशभर भएको आईसीयू शय्या र भेन्टिलेटरको संख्याले कोभिड–१९ संक्रमितको उपचार धान्न सक्ने स्थिति देखिँदैन,’ उनले चेतावनी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर ९ सय ४२ आईसीयू शय्या र ४ सय ९६ भेन्टिलेटर उपलब्ध छन् ।
