महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा

भाद्र १, २०७७

सुनिता बराल

महोत्तरी — महोत्तरीमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि नै निषेधाज्ञा जारी गरेको छ । आज राति १२ बजेबाट लागू हुने गरी ९ दिनको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । 

जिल्ला प्रशासनले जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ र ५ मात्रै निषेधाज्ञा गरेको थियो । उक्त क्षेत्रमा साउन १५ गतेदेखि निषेधाज्ञा जारी राखिएको भएपनि संक्रमण जिल्लाभरि नै देखिएका कारण भदौ १० गतेसम्म जिल्लामै निषेधाज्ञा गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले जिल्लाभरि नै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । अत्यावश्यक काम र निर्माण कार्यलाई प्रभाव नपर्ने तर अन्य सबै गतिविधि जिल्लामा बन्द गर्ने निर्णय समितिले जनाएको छ । निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

महोत्तरीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ८८ जना पुगेको छ । आज जिल्लाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए । सामाजिक विकास मन्त्रालय प्रदेश २ का अनुसार जिल्लमा ३ सय ७० जना कोरोना जितेर घर फर्किएका छन् ।  

कोरोना भाइरस

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully