भैरहवा — जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आगामी भदौ ५ गते सम्मका लागि अत्यावश्यक कार्य बाहेक अन्य दैनिक सेवा प्रवाह स्थगन गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा रुपन्देहीमापनि समुदाय स्तरमा यसको संक्रमण बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गरि देनिक सेवा प्रवाह स्थगन गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहले लकडाउन गरेको अवस्थामा सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई समेत न्यूनीकरण गर्न आवश्यक देखिएको हुँदा हाललाई शान्ति सुरक्षा लगायत अत्यावश्यक कार्य बाहेक नागरिकता, राहदानी, संघसंस्थालगायतका प्रशासनिक सेवा भदौ ५ सम्म स्थगन गरिएको सूचनामा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले ति सेवा प्रवाह गर्दा सेवाग्राहीको बढी भिडभाड हुने र यसबाट संक्रमणको जोखिम बढ्ने भएकाले तत्कालका लागि सेवा स्थगन गरिएको बताए । ‘संक्रमण बढिरहेको छ र को संक्रमित छ/छैन थाहा हुँदैन,’ उनले भने, ‘यसबाट सेवाग्राही र कर्मचारी दुवैमा संक्रमण बढ्ने जोखिम भयो ।’
