पोखरा — बागलुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएर घर फर्कने भएकी छन् । २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।
शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि बिहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार गरिरहेकी ती महिलालाई आइतबार डिस्चार्ज गरिने निर्देशक डा. शर्माले बताए ।
‘उहाँलाई डिस्चार्ज दिएपछि १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखिने छ,’ उनले भने, ‘हामी फलोअप पनि गरिरहन्छौं ।’ उनी चैत १९ देखि आइसोलेसनमा थिइन् । दम र उच्च रक्तचापको विरामी भएकाले औषधि खाइरहेकी थिइन् ।
अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतिजा पनि पोजिटिभ आएको थियो । उनको स्वाब परीक्षण भइरहेको र रिपोर्ट आइतबार आउने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी चैत १५ देखि आइसोलेसनमा छिन् । दुबैजना बेल्जियमबाट कतार एअरवेयजको जहाजबाट नेपाल आएका थिए ।
आजै काठमाडौंस्थित टेकु अस्पतालबाट अर्की संक्रमित युवती निको भएर डिस्चार्ज भएकी छन् ।
