बाँके — खेलकुदको दंगलमा धेरै पटक भिडेका पहलमान सुरेन्द्रबहादुर हमाल फेरि चुनावी दंगलमा प्रतिस्पर्धामा उत्रिएका छन् । जसले खेलकुद र राजनीतिलाई सँगसँगै अगाडि बढाए । ‘पुष्कर’ उपनामले चिनिने यिनै हमाल आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि बाँके, प्रदेश सभा–२ (२) बाट उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो ।
हमालले खेलकुद क्षेत्रमा पनि धेरै नै संघर्ष गरे । परिणामस्वरूप उनी ओलम्पियन बन्न सफल भए । उनी २०३२ सालमा खेलकुद क्षेत्रमा छिरेका हुन् । सोही वर्ष पहिलो पटक टेबलटेनिस प्रतियोगितामा उनले सहभागिता जनाए ।
२०३३ सालमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेल्ने अवसर पाएका हमालको टोली २०३५ मा टेबलटेनिस टिम इभेन्टमा तेस्रो, क्रिकेटतर्फ २०३७ सालमा पहिलो भयो । त्यसपछि हमालको रुचि भारोत्तोलन खेलतिर गयो ।
प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ मा पहिलो, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० मा पहिलो, धनगढीमा आयोजित प्रथम स्ट्रङगेस्टम्यान २०४१ मा उत्कृष्ट लिफ्टर भए । सिरियाको दमास्कसमा आयोजित ३५औं एसियन च्याम्पियनसिप २०४१ मा स्नेचतर्फ तेस्रो, प्रथम दक्षिण एसियाली खेलकुदमा दोस्रो, दोस्रो दक्षिण एसियाली खेलकुदमा दोस्रो, चौथो दक्षिण एसियाली खेलकुदमा तेस्रो, पाँचौं दक्षिण एसियाली खेलकुदमा तेस्रो भए ।
हमालले २०४५ देखि २०४८ मा दाङ र नेपालगन्जमा आयोजित भारोत्तोलनको राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल ल्याएका थिए । यसका साथै भारतको दिल्लीमा आयोजित एसियन खेलकुद सन् १९८२, लास एन्जलस ओलम्पिक सन् १९८४ र एसियन गेम बेइजिङ सन् १९९० मा उनले पोजिसनका लागि डिप्लोमा उपाधि प्राप्त गरेका थिए ।
२०४८ सालमा नेपालगन्जमा आयोजित भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता खेलेर उनले खेलबाट सन्न्यास लिए । ‘नेपालगन्जको प्रतियोगितापछि मैले खेल खेल्न छाडेँ, तर खेलकुदको विकासका लागि व्यवस्थापकीय रूपमा सहभागी हुँदै आएको छु,’ उनले भने । हमाल राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षसमेत भएका थिए ।
राखेप कोषाध्यक्ष जस्तो उच्च पदमा नियुक्त भए पनि उनी प्राय: नेपालगन्जमै बसेर काम गर्थे । आफ्नो कार्यकालमा पश्चिम क्षेत्रको खेलकुद पूर्वाधार जोड्न आवश्यक पहल गरे । उनकै सक्रियतामा नेपालगन्ज रंगशाला क्षेत्रमा भारोत्तोलन एकेडमी निर्माण भइसकेको छ । ‘खेलकुद भनेको पपुलर ठाउँ हो, यो निस्वार्थ पनि हुन्छ , राजनीति पनि नि:स्वार्थ रूपले लड्नुपर्छ भन्ने मेरो मान्यता हो,’ हमाल भन्छन् ।
हमालले क्यान्सरजस्तो रोगलाई समेत जित्न सफल भएका उनी क्यान्सरको लामो उपचारपछि उनी पूर्ण रूपले निको भएका थिए । आन्द्राको क्यान्सर भएर मृत्युको मुखमा पुगेका हमाल लामो उपचारपश्चात बाँच्न सफल भएका थिए ।
विगतलाई स्मरण गर्दै उनी भन्छन्, ‘मलाई क्यान्सर लागे पनि सबैको माया, सद्भाव प्रेम पाएर मैले जित्न सफल भएको हुँ ।’ प्रदेश वनमन्त्रीको जिम्मेवारी रहँदासम्म उनले कहिल्यै पनि ‘सत्ता’ र ‘शक्ति’ को दम्भ देखाएनन् । राजनीतिक र खेलकुदको संघर्षबाट खारिएका हमाल पुन: एक पटक प्रदेश सांसद निर्वाचित भएर नेपालगन्जको समृद्धि र विकास गर्ने चाहना राखेका छन् ।
२०७४ सालको निर्वाचनमा कांग्रेसले बाँकेको अन्य सबै निर्वाचन क्षेत्रमा हार बेहोर्दा पार्टीको तर्फबाट निर्वाचित हुने जिल्लाका एक मात्र सांसद थिए सुरेन्द्र । यिनैले बाँके प्रदेश सभा–२ (२) बाट चुनाव जितेर बाँकेमा नेपाली कांग्रेसको ‘बीउ’ जोगाएका थिए । हमाल लुम्बिनी प्रदेशको सांसद हुँदै वन, वातावरण तथा भूसंरक्षण मन्त्रीसमेत बन्न सफल भए । प्रदेश सांसद र मन्त्री हुँदा उनले बाँकेमा थुप्रै विकास निर्माणका काम गरे । कतिपय काम अझै कार्यान्वयनको चरणमा छन् ।
परिवारका ६ दाजुभाइमध्ये राइँलो छोरा हुन्, सुरेन्द्र । नेपालगन्ज–२ घरबारी टोलमा २०१९ सालमा जन्मेका उनी नेपाली कांग्रेसका सभापति स्वर्गीय रणेन्द्र हमाल ‘भाइराजा’ का सहोदर भाइ हुन् । भाइराजा २०३३ देखि २०४४ सालसम्म नेपाली कांग्रेस बाँकेको सभापति भएर काम गरेका थिए । १३ वर्षको कलिलै उमेरमा खेलकुद क्षेत्रमा प्रवेश गरेका सुरेन्द्रले खेलकुद र राजनीतिलाई सँगै अगाडि बढाए । पारिवारिक वातावरणका कारण उनलाई पनि राजनीतिको नशाले छोयो
‘मेरो परिवारै राजनीतिक परिवार हो, पञ्चायत कालमा पनि मेरो परिवारमा स्वर्गीय रणेन्द्र हमाल ‘भाइराजा’ हुनुहुन्थ्यो, जसले एक दशकसम्म नेपाली कांग्रेसमा योगदान पुर्याउनुभयो, मलाई पनि राजनीतिक नशाले छोयो, हमाल सम्झन्छन्,‘मैले खेलकुद र राजनीतिलाई सँगसँगै अगाडि बढाए ।’
