मतदान सकिएपछि कार्यालय खुल्ने
रसुवा — जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक र निर्वाचनसँग सम्बन्धित सेवाबाहेकका अन्य सेवा स्थगित हुने सूचना जारी गरेको छ । कात्तिक ३० गतेदेखि मंसिर ४ गतेसम्म सेवा स्थगित हुने सूचना जिल्ला प्रशासन कार्यालय रसुवाले सोमबार जारी गरेको हो ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला प्रशासन कार्यालयका अधिकांश कर्मचारी मतदानस्थलमा खटिनुपर्ने भएकाले सेवा स्थगित गर्न परेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।
‘नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, नाबालक परिचयपत्र वितरण, संघसंस्था दर्ता तथा नवीकरण, विभिन्न किसिमका सिफरिस र प्रमाणित गर्ने सेवाहरू भने स्थगित गरिएको छ‚’ उनले भने । अत्यावश्यक र निर्वाचनसँग सम्बन्धित सेवा भने रोकिने छैन ।
