सुकुम्बासीको निर्णायक मत रहेको मानिने कास्कीमा हरेक निर्वाचनमा व्यवस्थित बसोबासको नारा भने छुट्दैन
कास्की — कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरा महानगरपालिका–१७ बेलघारी टोलमा हालै पुगेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको समस्या समाधान गर्ने आश्वासन बाँडे ।
गठबन्धन सरकारको पालामा नै कास्कीमा सुकुम्बासीको हित हुने काम भएकाले आफू निर्वाचित भएपछि पनि त्यसलाई निरन्तरता दिने भन्दै मतदातालाई विश्वस्त पार्न खोजिरहेका थिए । ‘गठबन्धन सरकारको पालामा राष्ट्रिय भूमि आयोगले निस्सा वितरणसँगै रातो पुर्जा वितरणको काम गरेको थियो,’ उनले भने, ‘निर्वाचन नजिकिँदै गर्दा आचारसंहिता लाग्यो । निर्वाचन आयोगले नै पुर्जा वितरण कार्य रोक्न लगायो । हामी निर्वाचित भएपछि यसलाई निरन्तरता दिनेछौं ।’ आफूहरूले आशामात्र नदेखाई बोलेको कुरा पुर्याएरै छाड्ने दाबी पनि गरे ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बासोबासीको व्यवस्थापन अहिले चुनावी एजेन्डा बनेको छ । सत्ता गठबन्धनले मात्र होइन प्रतिपक्ष गठबन्धनले पनि यसलाई प्रमुख एजेडाका रूपमा अघि सारेको छ । दलले आ–आफ्ना चुनावी सभालाई सम्बोधन गर्दै निर्वाचनमा विजयी भएपछि पहिलो चरणमा नै लालपुर्जा वितरणको कार्य अगाडि बढाइने प्रतिबद्ध गरेका छन् । यता, एमालेले पनि चुनावी सभामा सुकुम्बासीको समस्या सम्बोधन हुने बताएको छ ।
केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि सत्तामा भएका पार्टीले झुक्काइरहेको बताए । ‘यस पटक हामीलाई मत दिनुस् तपाईंहरूको समस्या समाधान गर्नेछौं ।’ उनले सुकुम्बासी समस्या जहिल्यै चुनावी एजेन्डा मात्र बनाइएको बताउँदै भने, ‘हामीले यसलाई चुनावी एजेन्डा बनाउँदैनौं । चुनाव जिताउनुस् तत्काल समाधान गर्छौं । काम बाँकी राखेर मतदातालाई झुक्काउने काम राप्रपाबाट हुँदैन ।’ उनले आफ्ना समस्या सधैंका लागि हटाउन पनि आफ्नो पार्टीलाई एक पटक जिताउन आग्रह गरे । सुकुम्बासी समस्या समाधानको एजेन्डा अहिले सबै दलका साझा आश्वासन हुन् । पोखरा–१७ का जगदिश लामिछाने क्षत्रीले नेताले जहिले आश्वासन मात्र दिने बताए ।
‘०४८ सालदेखि अहिलेसम्म चुनाव हुँदा सबै दलले लालपुर्जा नै दिने भाषण गरेका छन्, तर दिने कहिलै होइनन्,’ उनले भने, ‘नदिने भएपछि आश्वासन मात्र किन दिने ?’ पोखरामा चुनाव हार्न र जित्न सुकुम्बासीको भोट निर्णयक बन्छ । यसैगरी, सुकुम्बासीलाई लालपुर्जासँगै युवा स्वरोजगार कार्यक्रम, महिलालाई सीपमूलक कार्यक्रम, टोल–टोलमा बिजुली, खानेपानी, टेलिफोनको समेत व्यवस्था गर्ने आश्वासन राजनीति दलले दिएका छन् । कास्की २ मा एमालेकी संघीय उम्मेदवार विद्या भट्टराईले पनि सुकुम्बासी समस्या अब छिट्टै सम्बोधन हुने बताएकी छन् । संविधानको रक्षा गर्दै जनताप्रति उत्तरदायी हुने उनीहरूको प्रतिबद्धता छ । पोखरा–१७ क्षेत्र कृषिका लागि योग्य भएकाले पनि त्यसमा ध्यान दिने सत्ता गठबन्धनबाट कास्की २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछाने बताउँछन् ।
स्थानीय उत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार पुर्याउने उनको प्रतिबद्धता छ । ‘कृषिमा सुकुम्बासी पनि सजिलै जोडिनेछन्,’ उनी भन्छन् । अब निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने उनको दाबी थियो । राज्यको पुनर्संरचनाअन्तर्गत पोखरा उपमहानरलाई महानगर बनाएको उल्लेख गर्दै लामिछानेले महानगर भएर पनि महानगरवासीको अनुभूति गर्न नपाएको बताए । ‘अब हामीले महानगर कस्तो हुन्छ भनेर देखाउँछौं,’ उनले भने । राप्रपाबाट संघीय उम्मेदवार भएका सुवर्णराज पन्तले सुकुम्बासी समस्या अब लामो समय नराख्ने गरी काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा महानगरका प्रमुख धनराज आचार्यले सुकुम्बासीको लालपुर्जाका काम धमाधम भइरहेको बताउँदै चुनावसम्म केही दिन डिस्टर्ब भएको बताए ।
‘चुनावलगत्तै हामी पुनः निरन्तरता दिन्छौ ।’ उनले वडास्तरीयबाट चुनावमा असर नपर्ने गरी सानातिना काम भने भइरहेको बताए । सुकम्बासी बस्ती कास्की २ मा बढी भए पनि १ र ३ का उम्मेदवारले पनि यही एजेन्डालाई अगाडि बढाएका छन् ।
