'चुनाव हो, चुनावको बेला नानाथरी कुरा निकाल्छन् । केही नभए पनि लालबाबु पण्डितको अनुहार कालो छ भनेर भन्छन् । मन के छ भनेर भन्दैनन्, अनुहार कालो छ भन्छन् ।'
काठमाडौँ — एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितले २०४८ को निर्वाचनमा मोरङबाट संसदीय यात्रा सुरु गरेका हुन् । तीन दशककाे राजनीतिक यात्रामा संसद्, सरकार, सुकुम्बासी आयोगलगायतमा पाएको दायित्व कुशलतापूर्वक निर्वाह गरी लोकप्रिय बनेका उनको एमाले विभाजनपछि ओज घटेको छ ।
अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामगठबन्धनको बलमा मोरङ क्षेत्र ६ मा थोरै मतले भए पनि कांग्रेसका डा. शेखर कोइरलालाई पराजित गरेकाले उनी चर्चित भएका थिए । आसन्न चुनावमा कांग्रेसको १४ औं महाधिवेशनबाट हैसियत बढाएका कोइरालासँगै चुनावी प्रतिस्पर्धामा रहेका पण्डितसँग चुनावी सन्दर्भमा कान्तिपुरका देवनारायण साहले गरेको कुराकानी :
अहिले चुनावी अभियानमा हुनुहुन्छ । के–के चुनावी मुद्दा लिएर मतदाता माझ पुगिरहनुभएको छ ?
विकास, सुशासन, समृद्धि, समानता र राष्ट्रिय स्वाभिमानका साथै दैनिक जनजीवनसँग जोडिएका चुनावी मुद्दा छन् । गछिया–पुष्पलाल सडकखण्ड ५२ करोड २५ लाख, कोयलपुर–निमुवा–रानी सडक ४८ करोड, टंकिसिनुवारी खानेपानी आयोजना ४८ करोडको लागतमा धमाधम बनिरहेको छ । चार वटा झोलुंगे पुल साढे २२ करोडको लागतमा निर्माण भएको छ । ४० करोड बढी बजेट काम हुन नसक्दा फिर्ता गएको छ । आधुनिक सुविधा सम्पन्न बनाउन विराटनगरको वीरेन्द्र सभागृहका लागि विनियोजन गरेको ८ करोड बजेट खर्च नहुँदा फिर्ता भएकोमा दुःख लागेको छ । नदी नियन्त्रणको काममा लगानी भएको छ । तर विराटनगरको बाढी नियन्त्रणका लागि ठूलो रकमको आवश्यकता छ । केसलिया खोलामा करिडर निर्माणका निम्ति ९ अर्ब लाग्ने भएकाले त्यसलाई ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने चुनावी मुद्दा छ । खनारदेखि नेता चोकसम्मको मूल नहर सडकखण्डमा कालोपत्रे आयोजना गर्ने योजना छ ।
इटहरीको तालतलैयादेखि सुन्दरहरैंचाको हसिना समिसार क्षेत्र हुँदै पूर्वाञ्चल विश्वविद्यालय भएर जाने सडकलाई पर्यटकीय मार्गको रुपमा विकास गर्छौं । एमाले सरकारले अघि बढाएको विराटनगर विमानस्थल विस्तारको कामलाई गठबन्धनको सरकारले रोकेको छ । यसलाई चुनाव लगतै बन्ने एमालेको सरकारले संघीय बजेटमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विस्तारको काम अघि बढाउँछ । २२ वटा सामुदायिक भवन, १२ वटा विद्यालयको भवन बनेको छ । थप निर्माण गर्ने छौं । सहर, गाउँ र नगरभित्रका सडकहरुलाई नालासहित कालोपत्रे गर्ने योजनालाई अघि बढाउँछौं । जनताको विकास निर्मणको चाहना पूरा गर्न लागिपरेको छु । अघिल्लो कार्यकालमा मोरङ क्षेत्र ६ मा साना ठूला आयोजनामा संघीय सरकारको साढे ५ अर्बभन्दा बजेट ल्याएँ भने अबको कार्यकालमा घटीमा पनि १५ अर्ब बजेट ल्याएर बाँकी रहेको कामलाई गति दिन विकासको मुद्दा प्रमुखताका साथ उठाएको छु ।
राष्ट्रिय रुपमा समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानलाई केन्द्रित गरेका छौं । सुकुम्बासी र अव्यवस्थित बसोबासीको क्षेत्रमा हामीले कानुन बनाएर काम गर्न खोज्यौं तर सरकार परिवर्तन भएपछि केही अवरोध भएको छ । जनता आवास कार्यक्रमलाई पनि अगाडि बढाएका छौं । तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत २८ अर्ब ५० करोड लागतमा २२ जिल्लाको विकासको निम्ति काम अगाडि बढाएका छौं । विराटनगरमा आफैले १ सय गरिबको घर बनाउन सिलान्यास गरेको तर बजेटको व्यवस्थापन हुँदाहुँदै पनि स्थानीयले काम गर्न सकेनन् । त्यसमा अब थप लगानी गरेर अघि बढाउँछौं । विराटनगरको सरोचियामा मुस्लिम सामुदायिक केन्द्रको विकासलगायतका काम गरेको र बाँकी स्थानीयको आवश्कतालाई ध्यानमा राखेर चुनावी मुद्दा अघि सारेको छु ।
२०४८ को निर्वाचनदेखि नै चुनावी मैदानमा हुनुहुन्छ । मतदताको उम्मेदवारसँगको अपेक्षामा के फरक पाउनुभएको छ ?
समृद्धि चाहेको छ । हामी गरिब मुलुक छौं । क्षमता अनुसारको विकास भएन र आवश्यकता कति छ, कति छ । त्यसैले समृद्धि नआएसम्म विकासको मुद्दा रहिरहन्छ । जीवनस्तर उकास्ने हाम्रो जिम्मेबारी हो । समृद्ध नेपाल, सुखी नेपाली बनाउने हो । त्यसैले कतिपय मुद्दा बहुवर्षीय र दीर्घकालिन हुन्छन् । यो दीर्घकालीन हो । हामीले भनेका छौं, समाजवादको बाटोमा अघि बढ्छौं । कुन स्तरको समाजवादको बाटो ? विकास एक वर्षे र एक कार्यकालको कुरा होइन । हामीले जीवनस्तर उकास्न सक्यौं की सकेनौं ? प्रयत्न भएको छ कि छैन ? प्रयत्न हुँदाहुँदै पनि सबैको चाहना त फरक हुन्छ । पहिले लखपति बिरलै थिए, अहिले लखपतिको के कुरा करोडपतिको गन्ति हुन छोडिसक्यो । त्यसैले समय र परिस्थिति अनुसार माग र चाहना पनि परिवर्तन भएको छ । कुनै समय रेडियो, साइकल, मोबाइल राख्नेलाई कर लाग्थ्यो नि त ?
त्यसैले अहिले हामी पहिलाको परिकल्पना त गरिरहेका छैनौ । पहिले स्कुलको संख्या बढाइदिने माग आउँद थियो तर अहिले त्यो आउँदैन । अहिले कालोपत्रे सडक, नाला ढक्कनसहित, सामुदायिक भवन, वडास्तरमै अस्पतालको माग छ । सर्वसाधारणले हरेक क्षेत्रमा सहज पहुँच खोजिरहेको परिस्थिति निर्माण भएको छ । रोजगारीको माग उच्च छ तर भौतिक पूर्वाधारको विकास नभइकन रोजगारी सृजना हुँदैन । सरकारी जागिर मात्रै दिएर सम्भवै हुँदैन । २० महिना मन्त्री हुँदा १४ हजारभन्दा बढीको लोकसेवा आयोगको विज्ञापन खुलाएँ जुन इतिहासमा सबैभन्दा बढी हो । तर, अर्कोतिर युवाहरुको विदेश पलायन घटेन । युवालाई विदेश पलायन घटाउनु आवश्यक छ ।
यसअघि पनि यस क्षेत्रबाट निर्वाचित हुनुभयो । यसपटक पुनः यहाँका मतदाताले तपाइँलाई नै रोज्नुपर्ने के काम गर्नुभयो ?
देश र मतदाताको शिर ठाडो राख्ने काम गरेको छु । अपराधपूर्ण र दाग लाग्ने कुनै क्रियाकलाप गरेको छैन । विकासमा तुलनात्मक रुपमा अगुवाइ गरेको छु । विगतमा दुई/दुई पटक जित्नेहरुले कहीँ ५० लाखको काम गरेको देखिनँ । तर मैले आधा अर्ब बढीको धेरै वटा आयोजना यस क्षेत्रमा ल्याएको छु । गछिया–पुष्पलाल सडक ५२ करोड २५ लाख, कोयलपुर–निमुवा–रानी सडक ४८ करोड, टंकिसिनुवारी खानेपानी आयोजना ४८ करोड, बुढीगंगामा २५ करोडको लागतमा १० शय्याको अस्पताल, कोसी अस्पतालको नयाँ भवन निर्माणका लागि ७ अर्बको योजना ल्याएर काम भइरहेको छ । त्यसैले काम गरेको आधारमा विकासको निम्ति, राष्ट्रियताको संरक्षण, सुशासनको सन्दर्भमा रोज्नु पर्ने हो । मैले वंशको आधारमा मेरो बुवा, आमा, काकाकाकीले काम गरेको र मैले नगर्दा पनि वंशको आधारमा यस क्षेत्रमा भोट दिनुपर्ने भनेको छैन । आफूले एमालेको सांसद र मन्त्री भएको बेला गरेको कामको आधारमा जनतालाई विकासको चाहना छ भने मलाई नै भोट दिनुपर्ने हो ।
अघिल्लो पटक जितेर गइसकेपछि फर्केर आउनुभएन भनेर तपाईं कै पार्टी र कार्यकर्ताको आरोप छ नि ?
यो गलत आरोप हो । यो साढे चार वर्षको अवधीमा आफ्नो विराटनगरको घरमा २०/२२ दिनपनि मुश्किलले ताला खोलेको हो । मन्त्री र सांसद हुँदा पनि वडावडामा नै गएर बस्ने, जुन ठाउँमा बोलाउनु हुन्थ्यो त्यहीँ गएर खाने र बस्ने गरेको छु । मेरो छिमेकीले जिस्काएर यहाँबाट बसाइँ सर्नुभएको त होइन भनेर भन्नुहुन्छ । म कहाँ रमाएर बसेको थिएँ ? जनताकै बीचमा हो नि ।
यो बहुदलीय व्यवस्थामा फरक मत राख्नेहरुले बोल्न पाउने कुरा हो । कतिपयको व्यक्तिगत इच्छा, आकांक्षा पनि पूरा नभएको हुनसक्छ । त्यसले गर्दा पनि केही कुराहरु भन्ने स्थिति हुन्छ । तर, समग्रमा भन्ने हो भने मोरङ क्षेत्र ६ मा नै रमाएको छु, संसद्मा हुँदा प्रभावकारी भूमिका खेलेको छु, सरकारमा हुँदा अगुवाइ गरेरै भूमिका निर्वाह गरेकोले अन्यथा कुराको पछाडि लाग्नु जरुरी छैन । चुनाव हो चुनावको बेला नानाथरी कुरा निकाल्छन् । केही नभए पनि लालबाबु पण्डितको अनुहार कालो छ भनेर भन्छन् । मन के छ भनेर भन्दैनन्, अनुहार कालो छ भन्छन् । त्यसकारण त्यस्ताको पछाडि लाग्नुको आवश्यकता छैन ।
पार्टी विभाजन र तपाईंले आफ्नै स्वकीय सचिवलाई पार्टीमा समेत राख्न सक्नुभएन ? के यसले चुनावी चुनौति थपिएको छैन ?
त्यस्तो केही चुनौती छैन । नराम्रो काम गर्नेलाई साथ राख्दिनँ, राम्रो काम गर्नेलाई जिम्मेवारी दिन्छु र दिँदै आएको छु । यसमा कुनै दुई मत छैन ।
अघिल्लो चुनावभन्दा यसपटक तपाईंको लोकप्रियता घटेको जस्तो लाग्दैन ?
अहिले नै त्यो नाप्ने आधार के छ ? यसको मूल्यांकन जनताले गर्ने छन् र यो प्रश्नको जवाफ मंसिर ४ पछि मात्रै उपयुक्त हुन्छ ।
तपाईंका विरुद्धमा एकातिर गठबन्धनको साझा उम्मेदवार र अर्को स्थानीय तहमा वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणाममा एमाले कमजोर देखिएको छ नि ?
गठबन्धनकै मतको आधारमा परिणाम आउँछ भने प्रचार नगर्दा पनि हुने हो नि ? प्रचार नगरे पनि हुन्छ ? किन दुःख, कष्ट गर्नुपर्यो । त्यसैले आफू जनताको बीचमा रहने भएकाले सधैं रहन्छु, जितेको थिएँ, फेरि जित्छु ।
अघिल्लो चुनावमा वामगठबन्धनको साझा उम्मेदवार हुँदा पनि झिनो मतान्तरले विजयी हुनुभएको थियो । यसपटक पुनः जित्ने आधार के छ ?
अघिल्लो चुनावमा वामगठबन्धन थियो र यसपटक जनता समाजवादी पार्टीसँग गठबन्धन छ । कामलाई हेरेर के कांग्रेस, के कम्युनिस्ट, के समाजवादी, के स्वतन्त्र सबै मतदाताले मलाई भोट दिने स्थिति भएको हुँदा परिणामको बारेमा कुनै चिन्ता छैन । महाभारतमा भने अनुसार कर्म गरेको छु, फल प्राप्त हुन्छ । त्यसमा चिन्तित हुनुपर्ने कुनै आवश्यकता छैन ।
तपाईंको अघिल्लै चुनावका प्रतिस्पर्धी कांग्रेसका शेखर कोइराला शक्तिशाली भएर दोस्रोपटक प्रतिस्पर्धीका रूपमा आउनुभएको छ नि ?
कोइराला वंशका सबै प्रधानमन्त्रीका उम्मेदवार छन् । कांग्रेसमा कतिजना प्रधानमन्त्रीका उम्मेदवार छन ? शशांक कोइराला, शेरबहादुर देउवा, गगन थापा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, पुष्पकमल दाहाल, माधव नेपाल र महन्थ ठाकुर गरी १० टाउकेको १० जना प्रधानमन्त्री खोजेका छन् । सत्ता गठबन्धनले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ ? प्रधानमन्त्रीको प्रस्ताव त एमालेले गरेको छ । प्रधानमन्त्री बन्दैन भनेर जनताले भोट दिँदैन भन्ने बकम्फुसे कुरा गरेर जनतालाई झुक्याउने ? नेपाली जनताको चाहना स्थायी सरकारको हो । कसैको हैसियत बढेको छैन । स्वघोषणाले कसैको हैसियत बढ्ने होइन । हैसियत बढेको मूल्यांकन त जनताले गर्ने हो ।
राजनीतिक दलप्रति मतदाता निराश देखिन्छन् नि ?
कसैको टाउको दुख्यो भने काटेर त फाल्ने होइन नि ? त्यसको उपचार गर्ने हो । जसरी शरीरको केन्द्रविन्दु टाउको हो त्यसरी नै लोकतन्त्रमा सबै कुराको केन्द्रविन्दु राजनीतिक दल हो । त्यसैले यसमा देखिएको कमीकमजोरी र सबै खाले निरासा हटाउने गरी मतदाताले मतदान गर्ने मेरो विश्वास छ ।
यसपटक चुनावी रौनक देखिँदैन नि ?
आउँदो मंसिर ४ को बिहान ७ बजे पछि मतदान गर्ने लाममा हेर्नुपर्छ, मतदाताको कति लामो पंक्ति हुन्छ, त्यसले मतदातामा उत्साह छ कि छैन र भोट दिन जान्छन् कि जाँदैनन् । त्यसबाट थाहा हुन्छ नि मतदातामा उत्साह छ कि छैन । ५/१० प्रतिशत मत खस्छ कि ७० प्रतिशतभन्दा बढी भोट खस्छ ।
तपाईं मधेसी समुदायको भए पनि पार्टी र सदनमा मधेसीको प्रतिनिधित्व गर्न नसकेको आरोप छ नि ?
देशको प्रतिनिधित्व गर्नेले कुनै रंग, रुप, जात, भूगोलको मात्रै प्रतिनिधित्व गर्छ ? कुनै एउटा धर्म र समुदायको प्रतिनिधित्व गर्छ र ? त्यस कारणले समग्र देशको मैले प्रतिनिधित्व गर्छु । देशभित्र समग्र मधेस, तराई, पहाड र हिमाल छ ।
अहिले उम्मेदवारहरुलाई मत माग्ने चटारो छ तर किसानलाई हिउँदे बालीको लागि कृषि मल नपाएर छटपटाइरहेको अवस्थाको बारेमा तपाईंको भनाइ के छ ?
यसको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवा र सम्पूर्ण सत्ता गठबन्धनकारीहरुलाई सोध्नुपर्छ । किनकि सरकारमा उहाँहरु भएकाले त्यसको व्यवस्थापन किन गर्न नसकेको ? जवाफ किसानले उहाँहरुसँगै माग्छन् । अहिले कृषि मल, बीउ नपाएर समस्या उहाँहरुले खडा गरेको छ । सुशासनमा अवरोध उत्पन्न गरेर आपूर्तिमा अवरोध गरेका हुनाले यसमा सबैको एउटै प्रहार हो, मंसिर ४ मा गठबन्धनमाथि बज्र प्रहार गर्नुपर्छ र एमालेलाई विजय गराउनुपर्छ ।
तर एमालेको सरकार हुँदा पनि त कृषि मलको समस्या यस्तै थियो नि ?
एमालेको सरकार हुँदा समस्या थोरै थियो, यति धेरै थिएन ।
झण्डै दुई तिहाइको हैसियत सम्हाल्न नसकेको एमालेलाई मतदाताले यसपटक पुनः किन मतदान गर्नुपर्छ ?
एमालेको बहुमत थिएन र बीचमा केही कुरा जोडजाड गर्ने बेलामा हामी दुई तिहाइको नजिक भनेका थियौं तर अदालतको प्रमादेशको सिकार भएको र त्यसको विषयमा पूर्वप्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराकै मुखबाट सुनिहाल्नु भयो कि कसरी षड्यन्त्रको सिकार भयौं । अब षड्यन्त्रको सिकार बन्दैनौं र मंसिर ४ मा षड्यन्त्र गर्नेहरु परास्त हुन्छन् ।
सुकुम्बासीहरुलाई जग्गाबिना नै लालपुर्जा मात्रै बाँड्नु भएको आरोप छ नि ?
जग्गा देखाएरै र कित्ताकाट गरेरै लालपुर्जा दिएको थिएँ । कूल सात महिना मात्रै काम गर्न पाएकाले गर्दा गर्दै कतिपय कुराहरु प्रक्रियामै रहन गएकाले फेरी अधुरो रहन गएकालाई पूरा गर्ने जिम्मेवारी र दायित्व लिएका छौं । त्यसैले गर्दा सुकुम्बासी आयोग पनि बनायौं र पछिल्लो समयमा कानूनै बनाएर सुकुम्बासी समस्या समाधानका निम्ति आयोग बनायौं । जहिले जहिले सुकुम्बासीको कुरा आयो, एमालेको सरकार गिराएर पहिलो प्रहार सुकुम्बासीमाथि गर्ने भएको हुँदा अब जनताले पनि त्यो कुरा बुझिसकेका छन् । अब को पक्षमा र को विपक्षमा, काम गर्ने को र अवरोध पैदा गर्ने को भनेर सबैले बुझिसकेका छन् ।
