‘ठेक्का प्रणालीमा सबभन्दा ठूलो गडबडी छ । गाउँका केही बाटा मैले हेरेँ । ती बाटा ठेकेदार र प्राविधिक मिलेर लुटेकोजस्तो लाग्छ । अब यो प्रणालीलाई नै सुधार गर्नु छ । कानुन नै परिवर्तन गर्नु छ । केही हुँदै नभएको भन्ने होइन, सुधार पनि हुँदै आएको छ । तर, यत्तिले मात्रै पुग्दैन । ’
रुकुम पश्चिम — रुकुम पश्चिमबाट लगातार तीन पटक प्रतिनिधिसभामा निर्वाचित अर्थमन्त्री जनार्दन शर्मा चौथो पटक जनपरीक्षणमा छन् । विजय हासिल हुनेमा निश्चिन्त रहेका शर्माले यसपछि जित्ने र हार्ने अर्थमा भन्दा पनि संकल्प सभा, जनतासँगको अन्तरक्रिया, भावी रणनीति र जनप्रशिक्षण सभाका रूपमा रहेको भन्ने टिप्पणी गरेका छन् ।
शर्मासँग रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका–५ स्थित उनकै घरमा कान्तिपुरका महेश केसीले गरेको कुराकानीको सम्पादित अंश :
देश निर्वाचनको सँघारमा आइपुगेको छ । प्रचार–प्रसारका क्रममा यहाँले पनि लगभग पूरै जिल्ला फन्को लगाउँदा के पाउनुभयो ?
जनसमर्थन पाएँ । जनताको माया पाएँ । जनताको आशा विश्वास र भरोसा पाएँ ।
के भन्छन् मतदाता ? उनीहरूका माग र आवश्यकता के कस्ता रहेछन् ?
मतदाताले अहिलेसम्म भए गरेका काममा खुसी छन् । अब गुणात्मक विकास चाहियो भनेर भन्छन् ।
यसअघि माओवादीले जितिरहेको ठाउँमा कांग्रेसको साथ छ । जित्नेमा ढुक्क हुनुहुन्छ होला नि है ?
हाम्रो चुनावी प्रचारप्रसार जित्ने र हार्ने अर्थमा होइन । संकल्पसभाका रूपमा, जनतासँगका अन्तरक्रियाका रूपमा र भावी रणनीति निर्माण गर्ने अर्थमा अबको कार्यभार बारेमा छलफल गर्ने एउटा जनप्रशिक्षण सभाका रूपमा हामीले लिएका छौँ ।
।
जनताले त आफ्नो क्षेत्रको सासंद चुनावका बेलाबाहेक पनि गाउँबस्तीमा पुगोस् भन्ने चाहन्छन् । तपाईं चुनावको बेलाबाहेक अरु बेला जनतालाई भेट्न गाउँबस्तीमा कत्तिको पुग्ने गर्नुभयो ?
कामको आवश्यकताका आधारमा पुग्ने गरेको छु । कोभिड महामारी आयो, सबै सायद बन्द भएर भित्र बसिरहेको अवस्थामा सबभन्दा पहिला निस्किने जनप्रतिनिधि म नै हुँ । कोभिडका बेला अस्पताल निर्माण र जनमनमा हौसला दिने काम मैले गरेँ । आवश्यक परको बेला जनताको बीचमा नै म खडा छु । जनताले खोज्दा म छु । बाँकी समय राष्ट्रिय कार्यभारका कारणले गर्दा पनि सधैं त म आइराखेको पनि छैन ।
रुकुम पश्चिममा तपाईं चौथोपटक चुनावी मैदानमा हुनुहुन्छ । तपाईंको पार्टीले कुनै पनि लाभका पदमा नहोर्याउने भनेर गरेको निर्णय गरेको छ । स्थानीय तह, प्रदेश र केन्द्रका उम्मेदवार नयाँ हुँदा तपाईंचाहिँ दोहोरिन कसरी पाउनुभयो ?
पार्टीले मप्रतिको एउटा विश्वास र आवश्यकता महसुस गरेको छ भन्ने मलाई लाग्छ । त्यो निर्णय हुँदै गर्दा मैले व्यक्तिगत तर्फबाट निर्णय कार्यन्वयनमा म पनि तयार छु भनको थिए । पार्टीले संस्थागत रूपमा मलाई नै उम्मेदवार बनाउन तयार भएको रुकुमेली जनताको पनि माग त्यही रहेको हुँदा केन्द्रले पनि सोहीअनुसार निर्णय गर्नुपर्ने अवस्था आयो ।
तपाईंको अघिल्लो तीन पटकको संसदीय कार्यकाललाई आफैं कसरी मूल्यांकन गर्नुहुन्छ ?
तीन पटकको कार्यकाललाई मैले मेरो प्रतिबद्धतापत्रमा पनि उल्लेख गरेको छु । पहिलो कार्यकाल शान्ति स्थापनाका काम र संविधानमा जनताका एजेन्डाहरूलाई स्थापित गर्ने अर्थमा मैले बिताए । दोस्रो कार्यकाल संविधान निर्माणमा निर्णायक भूमिका र विकास निर्माण पूर्वाधारको क्षेत्रमा विकास निर्माणका लागि एउटा बलियो आधार तयार गर्ने काममा व्यतित भयो । र तेस्रो कार्यकाल विकास निर्माणलाई तीव्रता दिँदै उत्पादन वृद्धि र एउटा आत्मनिर्भरताका लागि हाम्रो स्रोत–साधनलाई प्रयोग गर्दै कृषिलाई उद्योगसँग कसरी जोड्न सकिन्छ, रोजगारी कसरी श्रृष्टि गर्न सकिन्छ भन्ने कुराको अध्ययन र त्यसको कार्य प्रारम्भका रूपमा बितेको मैले संश्लेषण गरेको छु ।
जिल्लाको विकास र यहाँका जनमनका माग र आवश्यकता पूरा गर्नका लागि यसपटकका तपाईंका प्रतिबद्धता के–के हुन् ?
मेरा प्रतिबद्धता दुई प्रकारका छन् । जिल्लास्तरको प्रतिबद्धता र जिल्लास्तरका काममा गुणस्तरीय विकास भनेको छु । गुणस्तरीय विकासका दुईवटा पाटा छन्, एउटा पूर्वाधार अथवा जनतालाई सेवा सुविधा उपलब्ध गराउने कुरासँग सम्बन्धित छ । जस्तो सडक पूर्वाधारहरुलाई बाह्रै महिना चल्ने बनाउने, स्तरोन्नति गर्ने कुरा, पालिकासम्मका सबै सडकलाई स्तारोन्नति गर्ने कुरा, असिंचित भूमिमा सिंचाइ गर्ने कुरा छन् । ‘एक घर एक धारा’को कार्यक्रम ५० प्रतिशत पूरा भएको छ । बाँकी ५० प्रतिशत पूरा गर्ने कुरा र जलाशययुक्त जलविद्युत् आयोजना तयार गरेर जिल्लालाई पर्यटनको केन्द्रसमेत बनाउने योजना छ । साथै शिक्षाका भौतिक तथा प्राविधिक पूर्वधार निर्माण गरेर आजको डिजिटल युगमा त्यो खालको पूर्वाधार हामीलाई आवश्यक छ ।
उत्पादनसँग सम्बन्धित कुरा, किसान सहकार्य समूहबारे पनि काम गर्नु छ । जो बजेटमा पनि उल्लेख गरेको छु । मैले त्यस्ता समूह गठन गर्नु, सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु, उत्पादनमा किसानलाई जोड्नु, योगदानमा आधारित कृषि पेन्सनको कार्यान्वयन गर्नु र किसानलाई प्रोत्साहन उपलब्ध गराउनु, यहाँको माटो, हावापानी, प्रविधि र श्रमलाई जोडेर रुकुममा गरिबी अन्त्य र रोजगारी श्रृष्टि गर्ने कुरामा लाग्दै उत्पादन, रोजगारी र आर्थिक समृद्धिको अभियान भनिएको छ ।
सामाजिक विभेदको अन्त्य र समतामूलक समाज निर्माण गर्ने एउटा लक्ष्यमा आधारित भएर सामाजिक न्यायलाई स्थापना गर्दै सामाजिक, सांस्कृतिक रूपान्तरण अभियान छ । जसले पार्टी र नेतृत्वलाई खबरदारी गर्दै पारदर्शितालाई स्थापित गर्न सकोस् । यो खालको जनचेतना र संगठित जनता निर्माणको अभियानका साथै हाम्रो भाषा, कला, संस्कृतिको रक्षा गर्ने कुरामा जोड दिइनेछ । समग्रमा उन्नत चेतनाको निर्माण गर्ने प्रक्रियाको अभियान थालनी गर्छौं ।
आर्थिक उत्पादन, श्रम, रोजगारी र समृद्धिको अभियान तथा सामाजिक, सांस्कृतिक रूपान्तरणको अभियानमार्फत रुकुमलाई सामाजिक न्यायमा आधारित समाजवादको एउटा मोडेल निर्माण गर्ने कार्यभार हामीले पूरा गर्ने भनेका छौँ । यो एजेन्डा रुकुमका गठबन्धन दलसमेत हामीले सहमति गरेका छौं । स्वास्थ्य क्षेत्रमा मेडिकल कलेजको स्थापना, आई.टी. कलेजको स्थापना र कृषि कलेजको स्थापना गरेर यसमार्फत उच्च स्तरको शिक्षालाई पनि जिल्लामै स्थापित गरिने छ । युवाहरूको माग अनुसारको तालिम, आवश्यक प्रविधिको उपलब्धताका साथै ऋण उपलब्ध गराएर स्वरोजगार बनाउनेलगायतका हाम्रा कार्यक्रम रहेका छन् ।
रुकुम परिवर्तनकामी जनताको जिल्ला हो । सचेत र संगठित जनताको जिल्ला हो । नेपालको राजनीतिक परिवर्तनमा ठूलो योगदान र बलिदान गर्ने जनता भएको हुनाले उनको जनप्रतिनिधिको हैसियतले मैले राष्ट्रिय कार्यभार पूरा गर्नुपर्छ । मेरा राष्ट्रिय कार्यभारका पनि एजेन्डा छन् ।
पहिलो कुरा संविधानले भनेको समाजवाद के हो ? त्यसमा राजनीतिक पार्टीहरुमा न्यूनतम सहमति गरेर एउटा मोडेल तयार गर्ने । अर्को हाम्रो देशको भौगोलिक अवस्था, हाम्रो स्वाधिनता, हाम्रो अखण्डता राष्ट्रियतालाई बलियो बनाउन हाम्रो स्पस्ट र स्थायी खालको परराष्ट्र नीति निर्माण गर्ने, सुरक्षा नीति निर्माण गर्ने र विकास मोडालिटीमा सुधार गर्नु छ । ठेकेदारी प्रथामा मात्रै गएर यहाा समस्या छ । यहाँ जनसहभागितासहितको एउटा विकास मोडालिटीमा पनि राष्ट्रिय सहमतिका लागि प्रयास गर्ने भनेर मैले जनतासँग आफ्ना एजेन्डाहरूलाई प्रस्तुत गरेको छु । समग्रमा गठबन्धनलाई बलियो बनाएर अगाडि बढ्ने आगामी योजना रहेको छ ।
जिल्लामा दिगो विकास र सुशासन भएन भन्ने आम जनगुनासोलाई चाहिँ यहाँले कसरी लिनुभएको छ ?
ठेक्का प्रणालीमा सबभन्दा ठूलो गडबडी छ । गाउँका केही बाटा मैले हेरेँ । ती बाटा ठेकेदार र प्राविधिक मिलेर लुटेकोजस्तो लाग्छ । अब यो प्रणालीलाई नै सुधार गर्नु छ । कानुन नै परिवर्तन गर्नु छ । केही हुँदै नभएको भन्ने होइन, सुधार पनि हुँदै आएको छ । तर, यत्तिले मात्रै पुग्दैन ।
अब वर्तमान अर्थतन्त्रको विषयमा कुरा गरौं । अहिलेको आर्थिक अवस्थालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ?
हाम्रा सूचकांक सुधारात्मक छन् । पछिल्लो केही समयमा पर्यटनको विस्तार भएको छ । पर्यटन क्षेत्र चलायमान भएका छन् । रेमिट्यान्स वृद्धि भएको छ । तर यही कुरा मुख्य होइन । मुख्य कुरा के हो भने, उत्पादनमुखी अर्थतन्त्र भनिएको छ । यसका लागि कृषि क्षेत्रमा कम्तीमा न्युनतम आत्मनिर्भर हुने गरी हाम्रो बाँझो जमिनको प्रयोग गर्ने, किसानहरूलाई प्रोत्साहन गर्नेलगायतका बजेटमा ल्याएका नीतिलाई छिटो कार्यान्वयन गरेर त्यसलाई अगाडि बढाउनुछ । सिमेन्ट, ढुंगा, गिट्टीलगायतका वस्तुमा छुट दिएर प्राथमिकता दिनुपर्छ । जसबाट हामीले विदेशी मुद्रा हामी आर्जन गर्न सक्छौं । त्यसले हाम्रो राजश्व वृद्धि हुन्छ र वन क्षेत्रबाट, खानीको क्षेत्रबाट र अन्य क्षेत्रहरुमा राजस्व वृद्धि गर्नुपर्ने आवश्यकता छ ।
पछिल्लो समय राजस्वमा कमी भइरहेको छ । कतिपय वस्तुमा प्रतिबन्ध र मार्जिन लगाएकाले पनि राजस्वको लक्ष्यमा कमी देखिएको हो । यसलाई सुधार गर्नुपर्ने छ ।
तर अहिले बैंकबाट ऋण पाइँदैन, घरजग्गा व्यवसाय ठप्प छ, निर्माण सामग्रीको माग घटेर उद्योगहरूले आफ्नो उत्पादन कटौती गरेका छन्, विदेशी विनिमय सञ्चिति घटिरहेको छ, सरकारले आयात रोकेको छ । यस्तो अवस्थामा पनि ठीक छ भन्न मिल्छ ?
विदेशी विनियम सञ्चिति अहिले घटेको छैन । अहिले हामीलाई पनि साढे सात महिनाको सञ्चिति हामीसित छ । त्यो हाम्रा लागि पर्याप्त हो । अब त्यसभन्दा वृद्धि पनि हुनुपर्छ, गर्नुपर्छ भन्ने लक्ष्य छ । त्यसका लागि वैदेशिक लगानी, ठूला आयोजनाहरूमा लगानी ल्याउनेलगायतका कुरा तयारी छन् । त्यसमा लाग्नुपर्छ नै । यत्तिले मात्रै पुग्दैन । हामीले दिगो विकास र हाम्रो स्तरोन्नतिका लागि हामीले धेरै ठूलो लगानीको आवश्यकता छ । त्यसकारणले विदेशी लगानी पनि भित्र्याउनुपर्ने आवश्यकता छ । कोभिडलगायत तमाम संकटका बीचमा पनि ५.८ प्रतिशतको वृद्धि गत वर्ष हुने कुरा आफैंमा महत्त्वपूर्ण कुरा हो । विभिन्न देशमा चलेका युद्धको प्रभाव नेपालमा पनि छ । महँगी बढेको छ । यी चुनौतीलाई पनि समाधान गर्नका लागि हाम्रो उत्पादन वृद्धि गर्नु, हाम्रो वस्तु निर्यात गर्ने कुरामा ध्यान दिन आवश्यक छ ।
अर्थतन्त्रमा अहिलेको अवस्था आउनुमा केही अन्तर्राष्ट्रिय कारण पनि होलान् । तर नेपालको सन्दर्भमा थप समस्या आउनुमा तपाईं र राष्ट्र बैंकका गभर्नरबीचको द्वन्दका कारण पनि हो भन्छन् नि ?
द्वन्दको कुरा होइन । अहिलेको बजेटले अलि खुकुलो खालको नीतिको माग गर्छ । राष्ट्र बैंकले अलि कसिलो नीतिसहितको मौद्रिक नीति ल्याएको छ । त्यसलाई अलिकति सामञ्जस्यता गर्न आवश्यक भएको चाहिँ हो ।
शीर्ष नेताहरू यो गठबन्धन अर्को चुनावसम्म कायम रहन्छ, यही गठबन्धनले आगामी सरकार बनाउँछ भन्दै हिँड्नु भएको छ । यस्तै अवस्था भयो र सरकार निर्माण भयो भने अबको अर्थमन्त्री को ? तपाईं नै हो कि अरुलाई पनि पालो दिनुहुन्छ ?
फलानो पदमा हुन्छु भनेर उत्ताउलो कुरा गर्ने मान्छे म होइन । गठबन्धनको आवश्यकता र पार्टीहरूको निर्णयमा भर पर्ने कुरा हो । व्यक्तिगत रूपमा मैले निर्णय गर्ने कुरा यो होइन ।
बजेट निर्माणमा धेरै प्रश्न खेप्नु भयो, त्यसपछि छानबिन समिति बन्यो, उसले सफाइ पनि दियो, फेरि तपाईं नै आउनुभयो, त्यसकारण तपाईंले अझै अर्थमन्त्री छाड्नु हुन्न भन्ने अनुमान गठबन्धनकै नेताहरुले गरिरहेका छन् नि ?
अहिले तपाईंको यो प्रश्न जरुरी पनि छैन र यसमा उत्तर दिन आवश्यक पनि छैन ।
