कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवारका साझा चुनावी एजेन्डा

बलराम घिमिरे

रसुवा — रसुवा जिल्लामा प्रदेशसभा सदस्यका उम्मेदवारहरुको चुनावी एजेन्डा नै साझाजस्तै रहेका छन् । उम्मेदवारहरुले पर्यटन विकास, सडक स्तरोन्नति, जिल्लाबासीलाई १० प्रतिशत सेयर सुनिश्चितता र नाका व्यवस्थापन लगायका साझा एजेन्डा अघि सारेका छन् । प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेको छ । प्रदेशसभा निर्वाचनमा पनि लोकतान्त्रिक वाम गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

उम्मेदवारका साझा चुनावी एजेन्डा

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं.१ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रभात तामाङ उम्मेदवार रहेका छन् । उनी नेपाली कांग्रेसका वाग्मती प्रदेश समिति सदस्य हुन् । त्यस्तै सोही क्षेत्रमा नेकपा एमालको तर्फबाट कुलप्रसाद भट्टको उम्मेदवारी रहको छ । उनी नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य हुन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्र गोतामे उम्मेदवार छन् । उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा एमालेको तर्फबाट तेम्ब्रेल तामाङ उम्मदवारी बनेका छन् । उनी नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य हुन् । यी उम्मेदवारहरुले जिल्लामा निर्माणाधीन जलविद्युत्‌बाट जिल्लाबासीलाई १० प्रतिशत सेयर सुनिश्चितता गर्ने साझा एजेन्डा अघि सारेका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रभात तामाङ आफ्नो क्षेत्रका सबै वडामा बन्दै गएको सडकहरुको स्तोन्नति गर्ने, यस क्षेत्रमा रहेको पर्यटन क्षेत्रको विकास गर्ने बताए । 'कृषि पशुपालन, खानेपानी, पुल, स्वास्थ्य, सिँचाइ, विद्यालय भवन निर्माण लगायतका विकासका एजेन्डा छन्उ,' उनले भने, 'रसुवागढी नाका व्यवस्थापन पनि प्रमुख रहेको छ । त्यस्तै, नेकपा एमालको तर्फबाट उम्मेदवार बनेका कुलप्रसाद भट्टले जडिबुटी खेतीको विस्तार, प्रत्येक गाउँगाउँसम्म बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडक विस्तार तथा स्तरोन्नति गर्ने चुनावी एजेन्डा रहेको बताए ।

पर्यटन विकास, रोजगार, कृषि, पशुपालन, स्वास्थ्य, शिक्षाका एजेन्डा पनि रहेको भट्टले बताए । प्रदेशसभा निर्वाचन क्षेत्र २ मा माओवादी केन्द्रका उम्मेदवार इन्द्र गोतमले पनि रसुवागढी नाकालाई व्यवस्थित गर्ने र जलविद्युत्‌को विकास गरी जलविद्युत्‌बाट जिल्लाबासीलाई १० प्रतिशत सेयर सुनिश्चितता बताए । उनले पर्यटकीय उद्योगको विकास गर्ने कुरालाई पनि जोड दिएका छन् । पशुपालन, जडिबुटी खेती, कृषि, स्वास्थ्य शिक्षा र रोजगारका एजेन्डालाई पनि उठाएका छन् ।

निर्वाचन क्षेत्र २ मा एमालेको तर्फबाट उम्मेदवार बनेका तेम्ब्रेल तामाङले जलविधुत्‌को विकास गरी जिल्लाबासीलाई १० प्रतिशत सेयर सुनिश्चितता आफ्ना प्रमुख चुनावी मुद्दा रहेको बताए । जिल्लामा नै रोजगारको अवसर खोजी गरी विदेसिने युवाहरुलाई रोक्ने पनि उनले बताए । 'अन्तर्राष्ट्रिय रसुवागढी नाकालाई व्यवस्थित गर्ने पनि रहेको छ', उनले भने । कृषि तथा जडीबुटीको उत्पादनमा बढवा दिई समुन्नत रसुवा निर्माण गर्ने आफ्नो योजना रहेको उनले सुनाए । रसुवा जिल्लामा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका साना ठूला सबै दलको चुनावी एजेन्डा साझा रहेको छ ।

प्रकाशित : कार्तिक २८, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?