'म जस्तो पहिलो पटक उम्मेदवार भएर मत माग्न जनतासमक्ष पुग्नेहरुलाई विडम्बना नै भएको छ । एउटै व्यक्ति जहिले पनि पद, अवसरका लागि केन्द्रित भएको भन्ने गुनासो पनि मतदाताको छ ।'
पाल्पा — पाल्पाको प्रतिनिधिसभा-२ मा भइरहेको चुनावी प्रतिस्पर्धाको चर्चा मनोनयन दर्तादेखि नै छ । कारण हो, चारपटकका विजेता पूर्व उद्योगमन्त्री तथा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य सोमप्रसाद पाण्डेयसँग एमाले उम्मेदवार तथा विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिमा पहिलोपटक उम्मेदवार बनेका नेकपा पोलिट ब्यूरो सदस्य ठाकुर गैरे चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली भूमि अतिक्रमण हुँदा कालापानी मार्च पास र सुस्ता महेसपुरमा प्रदर्शनको नेतृत्व गर्ने बराङ्दी पाल्पाका गैरे राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने नाम हो । उनीसँग २०६२/६३ को आन्दोलन होस् वा कर छली एनसेल प्रकरणमा भ्रष्टाचार विरोधी अभियानको अगुवाई गरेको अनुभव छ ।
२०२५ सालमा बगनासकाली गाउँपालिका–८, बराङ्दीमा जन्मिएका गैरेले २०४७ सालमा तत्कालीन नेकपा (माले) को संगठित सदस्यता लिएपछि राजनीतिमा निरन्तर क्रियाशील छन् । २०६३ मा केन्द्रीय कमिटीको अध्यक्षमा निर्वाचित भएका गैरे एमालेको बुटवलमा सम्पन्न आठौं, नवौं र दशौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्यमा विजयी भए । एमालेको विद्यार्थी राजनीतिबाट उदाएका अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म भएका गैरेले विद्यार्थी राजनीतिबाट अलग्गिएको नौ वर्षपछि सांसदको टिकट पाएका हुन् ।
मुख्य प्रतिस्पर्धी पाण्डेयको स्थानीय तह निर्वाचनमा ४३३ मत ल्याउने पार्टीको उम्मेदवार र वर्षौसम्म पटकपटक सांसद् भएर पाल्पाली जनताको पक्षमा काम गर्न नसकेको भन्दै कटाक्ष गरिरहेका छन् । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा २ बाट उम्मेदवार बनेका ठाकुर गैरेसँग कान्तिपुरका माधव अर्यालले गरेको कुराकानी :
घरदैलोमा पुग्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
पाल्पा जिल्लामा नेकपा एमालेले मलाई एकल सिफारिस गरेपछि नै म जनताको माझमा पुगेको छु । मनोनयन दर्ता गरेपछि झन् बढी दौडधुप चलेको छ । घरदैलो, टोल भेला एकपटक सकिएको छ । ४४ वटै वडामा पुगेको छु । अब फेरि एकपटक टोलमा पुग्नेगरी अभियानमा छु । सबै वडामा एमालेका नेता, कार्यकर्ता खटिनु भएको छ । पाल्पाली मतदाताले निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहनुभएका सोमप्रसाद पाण्डेयलाई धेरै पटक जिताएर पठाए । २०५१ सालदेखि सांसद हुनुभयो । तर जनताको समस्या बुझ्ने काम भएन भन्ने जनताको गुनासो पाएको छु । मैले पनि जितेपछि त्यस्तै गर्ने हो कि भन्ने प्रश्न मतदाताको छ ।
मनोनयनसँगै गाउँ पुग्नुभयो, मतदाता के भन्छन् ?
मतदातामा राजनीतिप्रति वितृष्णा फैलिएको जस्तो अनुभूति गरेको थिए । टोल भेला र वडा वडामा भएको भेलामा मतदाताले विकास निर्माणका काम नभएको सुनाएका छन् । मतदातालाई नेता जितेर जाने र फर्केर नआउने भन्ने गुनासा बढी देखिएको छ । म जस्तो पहिलो पटक उम्मेदवार भएर मत माग्न जनतासमक्ष पुग्नेहरुलाई विडम्बना नै भएको छ । एउटै व्यक्ति जहिले पनि पद, अवसरका लागि केन्द्रित भएको भन्ने गुनासो पनि मतदाताको छ । हुन त अहिले गठबन्धन छ । पाल्पामा कांग्रेस र राप्रपा लगायतको साझा उम्मेदवार भएको छु । प्रतिनिधिसभामा कांग्रेसको रुख चिन्ह छैन । हलो छैन । त्यसैले पाल्पाली जनताले मलाई माया गर्नुहुन्छ । युवाले अवसर पाएकामा धेरै खुसी छन् । पाल्पाली सबै जनताको मैले सहानुभूति पनि पाएको छु । मत पनि पाउनेमा आशावादी छु ।
राजनीतिप्रति युवाको आकर्षण कम भएको देखिन्छ, यस्तो अवस्थामा तपाईंको उम्मेदवारी के-का लागि ?
युवाले अवसर पाए केही काम गर्न सक्छ भन्ने मैले देखाउनेछु । म सँग भिजन छ । मैले सुन्दर पाल्पा, सुखी पाल्पाली बनाउने भिजन तयार गरेको छु । राष्ट्रिय राजनीतिमा पाल्पालाई जोड्नेछु । पाल्पालाई नेपालकै समृद्ध, सुन्दर, सुखी पाल्पाली बनाउने गरी भिजन बनाउनेछु । मैले कृषिमा बजेट वृद्धि र बजारीकरण, आधुनिकीकरण, व्यवसायिकरण गर्नेछु । कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, सिद्धार्थ राजमार्ग जस्ता सडकको स्तरवृद्धि गर्नेगरी योजना अघि बढाएको छु । युवाहरुलाई उद्यमशीलतातर्फ जोड्नेछु । बालबालिका, युवा, महिला, दलित, जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला लगायतको हकहितको रक्षा आदिवासी जनजातिको पहिचान गर्न संस्कृतिको संरक्षण गर्न, तानसेन– बुटवल सडकलाई स्तरोन्नति गर्नेगरी काम अघि बढाउनेछु । पाल्पाका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र विकासका साथै आवश्यक पर्यटन पूर्वाधार विकास गर्न लागि पर्नेछु ।
तपाईंलाई नै किन मतदान गरेर जिताउने ?
पाल्पाको विकास र समृद्धिमा नमुना बनाउने म सँग योजना छ । राष्ट्रिय गौरवको आयोजनाको अध्ययन र सञ्चालित आयोजनालाई द्रुत गतिमा सम्पन्न गराउन जरुरी छ । सिद्धबाबा सुरुङ मार्ग, बुटवल र पोखरा सडकखण्डको दूरी कम गर्ने गरी काम गर्नेछु । पाल्पाको ढाका, करुवा उद्योगको विकास गर्ने, जडीबुटी, खनिज, प्राकृतिक सम्पदा, कच्चा पदार्थ उद्योगमा लगिएको छ तर त्यसबाट प्रतिफल पाइएको छैन । त्यसलाई उपयोग गर्नेगरी योजना बनाउनेछु । मेडिकल हब बनाउन सकिन्छ । छिमेकी जिल्ला जोड्ने सडकको स्तरोन्नती गर्ने गरी काम गर्नेछु । व्यवसायमुखी कृषि तथा पशु उद्यमशीलताको सुरुवात गर्ने गरी मेरो उम्मेदवारी हो । बाँदर दुम्सी, बँदेललगायत वन्यजन्तुको उचित व्यवस्थापन गर्नेगरी योजना बनाएको छु । पाल्पालाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नका लागि प्राविधिक विश्वविद्यालयको स्थापना गर्ने योजना छ । माडी चक्रपथको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने योजना छ । विदेशबाट फर्केका युवाहरुलाई आर्थिक विकासका लागि उद्यममा जोडने मेरो प्रतिबद्धता छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पसलाई शिक्षाको हब बनाउन सकिन्छ । मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्राविधिक शिक्षा, गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि योजना धेरै छन् ।
तपाईंका क्षेत्र २ का मतदाताप्रति प्रतिबद्धता के छन् ?
पाल्पाको विकासमा कालीगण्डकी करिडोर, रामपुर–कपुरकोट सडकको निर्माण, सिद्धार्थ राजमार्ग, यी मार्गहरुसँग जोडिएका सहायकमार्गहरुको निर्माण र तिनको स्तरोन्नति गर्ने योजना छ । रानीमहललगायतका ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरुको संरक्षण र सम्वर्द्धन गर्नेछु । पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नेछु । संविधानको रक्षा र कार्यान्वयनका लागि पहल गर्नेछु । जनताले लडेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको महत्वलाई स्थापित गर्नेछु । यस मार्फत् देश र जनताको हित सुनिश्चित गर्न पहलकदमी लिनेछु । संविधानमा ब्यवस्था गरिएको जनपक्षीय प्रावधानहरुको कार्यान्वयनमा जोड दिनेछु । विद्यमान भ्रष्टाचार, कमिशनतन्त्रकाविरुद्ध खडा हुने स्थिर सरकार सुशासन, पारदर्शिता कानुनी राज्य, मानव अधिकारको ग्यारेन्टी, पूर्ण प्रेस स्वतन्त्रता जस्ता आधारभूत मान्यताहरुको पक्षमा दृढताका साथ खडा हुनेछु ।
विगत र यसपटकको प्रचारशैली कस्तो लाग्यो ?
निर्वाचन आयोगले आचारसंहिता लगाएको धेरै राम्रो लाग्यो । उम्मेदवारको प्रचारप्रसारमा गर्ने जथाभावी खर्च रोकिएको छ । तर निर्वाचन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन हुन सकेको देखिएको छैन । पहिला पहिलाका निर्वाचनमा पोष्टर, पम्प्लेट, तुल, व्यानर, नाराजुलुस सहित शक्तिप्रदर्शन धेरै हुन्थ्यो । तर यसपटक यस्तो देखिएको छैन । प्रचार अभियान विगतमा भड्किलो, खर्चिलो थियो । त्यस्तो गर्नु आवश्यक पनि छैन । तर अहिले पनि खर्चिलो नै छ । अझ कम खर्चिलो बनाउनुपर्छ । प्राविधिमार्फत् मतदाताले स्वविवेक प्रयोग गर्ने वातावरण तयार पार्नुपर्छ । आचारसंहिताको पूर्ण पालना गराउनुपर्छ । अझै पनि भोजभतेर गर्ने, अनेकन कार्य गर्ने, स्वच्छ निर्वाचन हुन नदिने अवस्था देखिएकाले यसमा सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।
स्वतन्त्र र नयाँ पार्टीको चुनौतीलाई कसरी चिर्नुहुन्छ ?
ठूला दलहरुलाई खबरदारी गर्नका लागि, ठूला दलहरु सरकार संचालन गर्ने पार्टी, तिनका नेताहरुलाई सचेत बन्न होसियार बन्नका लागि स्वतन्त्र उम्मेदवारहरुको अर्थ राख्छ । हाम्रोमा मत मै ठूलो फरक पार्ने र उलटपलट पार्ने अवस्था देख्दिन । जनताले विकास निर्माणका लागि सरकार चाहिन्छ । सरकार बनाउने पार्टी चाहियो । पार्टीहरु नै निर्वाचित हुने हो । पार्टीहरु जनपक्षीय हुनुपर्छ । पार्टीहरु भ्रष्टाचार, कमिसनतन्त्रबााट मुक्त हुनुपर्छ । पार्टीमा अनुशासन कायम हुनुपर्छ । पार्टीहरु राजनीतिक मूल्य, मान्यता, आदर्शको पक्षधर बन्नुपर्छ । यस्ता आवाजलाई पार्टीले स्वीकार गर्नुपर्छ । पार्टीहरु जति बलियो हुन्छ, आन्तरिक लोकतन्त्र जति बलियो हुन्छ, पार्टीहरुको आन्तरिक जीवन लोकतान्त्रिक हुनुपर्छ । पार्टीहरु विधि, प्रणाली, पद्धति, विचारमा चल्ने हो भने मात्र समाजमा राजनीतिप्रति आस्था, विश्वास बढ्दै जान्छ ।
चुनावको बेलामा कोही कसैले पनि भोट दिन्न भन्दैन । घरमा आउने पाहुनलाई पनि हामी सत्कार गर्छौं । सबैलाई मत दिन्छु भन्ने लाग्छ र स्वतन्त्र उम्मेदवारी पनि बढेको छ । मत भनेको केवल उम्मेदवारलाई मात्र नभई पार्टीभित्र योग्य मान्छेको छनोट रोजाइ बन्न सक्छ । गणतान्त्रिक व्यवस्थालाई सफल बनाउनका लागि दलहरु जनपक्षीय, प्रगतिशील, आन्तरिक लोकतन्त्र बलियो बनाउन सकियो भने मात्र राजनीतिलाई सही दिशामा लैजान सकिन्छ । त्यसैले यो चुनाव भनेको राजनीतिक पार्टीहरुको शुद्धीकरण, मुल्यांकन, नेताहरुको मुल्यांकन गर्ने पनि हो भन्ने लाग्छ ।
