‘एमालेको बलियो संगठन मेरो जितको आधार हो’ 

‘मैले राजनीति सेवा गर्नका लागि गरेको हो । तलब भत्ता खानका लागि होइन । मलाई विश्वास छ मेरो यही इमानदारीताको जनताले कदर गर्नुहुने छ ।’

कार्तिक २८, २०७९

कान्तिपुर संवाददाता

नेपालगञ्ज — दुईपटक नेपालगन्ज उपमहानगरको प्रमुख पदमा विजयी भएर नेतृत्व गरिसकेका धवलशमशेर राणा यसपटक संसदीय निर्वाचनमा होमिएका छन् । यसपटक राप्रपाबाट बाँके क्षेत्र नम्बर २ बाट उनी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रसँगै समग्र जिल्ला विकासका एजेन्डा तय गरेर अहिले घरदैलोमा व्यस्त छन् । उनी २०५४ साल २०७४ सालको स्थानीय निर्वाचनबाट नगर प्रमुख चुनिएका थिए । त्यसक्रममा उनको कार्यशैली कहिल्यै विवादमा परेन । भ्रष्टाचारविरुद्ध खरो रुपमा प्रस्तुत भएका थिए । नेपालगन्ज नगर विकासको नेतृत्व गरेका राणाले प्रमुख हुँदा पारिश्रमिक लिएनन् । राणा भाषण र बोलीमा भन्दा काममा विश्वास गर्ने बताउँछन् । राप्रपाका केन्द्रीय महामन्त्री रहेका राणाको उम्मेदवारीलाई यसपटक नेकपा एमालेले समर्थन गरेको छ । राणासँग कान्तिपुरका लागि रुपा गहतराजले गरेको कुराकानी : 

तपाईंको प्रचार अभियान कसरी बढिरहेको छ ?

म जनताको घरदैलोमा पुगिरहेको छु । सबैले मलाई चिन्नुभएको छ । म यही माटोमा बसेर काम गरेको व्यक्ति हुँ । जनताकै बीचमा छु । नेपालगन्जको मेयर भइसकेपछि नेपालगन्जमा परिवर्तन देखिने गरी काम गरें । राप्रपाको संगठन बलियो पनि छ  । निरन्तर सेवा गरिरहेको क्षेत्र, जिल्ला, हुँदै देशको विकास गर्न मत  मागिरहेको छु । यो देश भ्रष्टाचारको भूमरीमा छ ।  दुई वर्षमा उपमहनगर बनाए । अब क्षेत्र र देश बनाउन भोट माग्दै छु । 

तपाईंलाई मत किन दिने ?

मैले यो क्षेत्रमा गरेको विकासलाई हेरेर जनताले भोट दिने हो । दुई कार्यकालसम्म नगरपालिकामा बसेर नगरको विकास गरें । बिना भत्ता, बिना तलब नगरको विकास गरें । एक रुपैयाँ भ्रष्टाचार हुन दिइन । नेपालगन्जलाई हेर्ने लायक सहर बनाएँ । सांसदको पनि तलब भत्ता नलिने घोषणा गरिसकेको छु । सांसदको तलब ८०/९० हजार कति हुन्छ, त्यो म लिन्न । जनताकै सेवामा लगाउँछु । मैले राजनीति सेवा गर्नका लागि गरेको हो । तलब भत्ता खानका लागि होइन । मलाई विश्वास छ मेरो यही इमान्दारीताको जनताले कदर गर्नुहुने छ । 

जितको आधार के हो ?

मैले विगतमा यो सहर र जनताको हकहितका लागि गरेको काम र इमान्दारिता नै  मेरो जित्ने आधार हो । सबै नेता भ्रष्टाचारी हुँदैनन् भन्ने सावित गर्न पनि मेरो उम्मेदवारी हो । अर्को कुरा राप्रपा र एमालेको बलियो संगठन पनि मेरो जितको आधार हो । 

तपाईंको गठबन्धनको अवस्था के छ ?

भरपुक सहयोग र समन्वय छ । मिलेर चुनाव प्रचार गरिरहेका छौं । सबै उम्मेदवारले क्षेत्र नं. २ मा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएकोले सो क्षेत्रलाई केन्द्रित गरेर प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छौं । सँगै भोट मागिरहेका छौं ।

के-के आश्वासन, योजना सुनाइरहनुभएको छ ?

मैले कुनै झुटा आश्वासन  बाँडेको छैन । बाँकेलाई ५ वर्षभित्र समृद्ध क्षेत्र बनाउनु मेरो सपना मात्र होइन संकल्प हो । नेपालगन्जसँग हवाई सम्बन्ध जोड्नेदेखि ग्रामिण स्वास्थ्य, सडक, छात्रा कलेज कृषिलगायतका क्षेत्रमा आमुल परिवर्तन ल्याउने सोचमा छु । डुडुवामा कन्या स्कुल र स्नातक कलेज, तालतलैयाको संरक्षण, नेपालगन्जलाई मेडिकल हब बनाउन टुरिजमलाई प्रोत्साहन गर्ने, नेपालगन्ज–डुडुवा सडक विस्तार र स्तरोन्नती, सिंचाई प्रबन्ध, राप्ती नदीको कटान, डुबान र कटान रोक्न तटबन्ध, हरियाली र सफा सहरका लागि वृक्षारोपण, नेपालगन्ज बाहिरबाट आउटर रिङरोड निर्माण, विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने, मल उद्योग बनाउन पहल गर्ने, डुडुवामा खेल मैदान बनाउने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता गरेको छु ।

तपाईंको ०५४ सालको निकटतम प्रतिद्वन्दी दिवकार पनि प्रतिष्पर्धामा हुनुहुन्छ ? त्यसले कस्तो असर गर्छ ?

उहाँ प्रतिस्पर्धी भएर आउनुभएको छ । यो उहाँको अधिकार हो । मेरो उहाँसँग कुनै प्रतिस्पर्धा छैन । उहाँ चुनावमा उठेर मलाई घाटानाफा केही छैन । 

मतदाताको मनोभावना कस्तो छ ?

मतदाता खुसी छन् । मतदाताको अनुहारबाट त्यो कुरा प्रस्ट हुन्छ । अहिलेसम्म यहाँबाट जितेका नेताले कुनै ठोस काम गर्न नसकेको गुनासो छ । यो क्षेत्रका लागि कुनै एजेन्डा ल्याएनन् । कति ठाउँमा आक्रोस, कुण्ठा पनि देखें । तर, अहिले मतदाताले देखाउनुभएको उत्साह आत्मियताले मलाई झनै जिम्मेवार बनाउँदै लगेको छ । दुई पार्टीको पार्टीगत मत बाहेक धेरैले सहयोग गरिरहनुभएको छ । अहिले पार्टीभन्दा यो क्षेत्रको विकास लागि मतदाता आफैं अग्रसर भइरहनुभएको छ । सही र गलत छुट्याउने लियाकत राख्नुहुन्छ । पैसा अनि दबाबमा आएर कसैले भोट दिनेवाला छैन। 

कान्तिपुर

Link copied successfully